Friday , April 26 2019

माटो र छालाको पनि पैसा !

एक ताका कौडी, चक्कू, सिप्पी आदिलाई मुद्राको रुपमा पनि प्रयोग गरिन्थ्यो भन्ने मुद्राको प्रारंभिक इतिहास थाहा पाएकाहरुले माटो र छालाको मुद्राको प्रसंगलाई पत्याई पनि हाल्छन् ।

  • बसन्त महर्जन

नेपाली मुद्राको रुपमा सुन, चाँदीलगायतका धातुका मुद्राहरु चलाइएको तथ्य सबैलाई थाहा छ । मुद्राहरुको कुरा उठ्दा यहाँ माटो र छालाको पैसा पनि चलाइएको चर्चा गर्नेहरु पनि धेरै छन् । यसरी चर्चा गर्नेहरु त्यस्तो पैसाको इतिहास बताउन पनि पछि पर्दैनन् । उनीहरुका अनुसार एक समय टक मार्न सुन, चाँदी, तामाजस्ता धातु पनि किन्न नसकिने गरी नेपाल आर्थिक रुपमा अत्यन्तै गरीब हुँदा यहाँका राजाले माटोको पैसा चलाएका थिए । यस्तै एक पल्ट यहाँ कुमालेहरु राजा हुँदा उनीहरुले नै यस्ता माटोको पैसा चलाएको भन्ने पनि गरिन्छ । छालाको पैसाको सम्वन्धमा यहाँ एक पल्ट एक जना सार्की राजा भएका थिए र उनले छालाको पैसा चलाएको कथा पनि हाल्छन् ।

एक ताका कौडी, चक्कू, सिप्पी आदिलाई मुद्राको रुपमा पनि प्रयोग गरिन्थ्यो भन्ने मुद्राको प्रारंभिक इतिहास थाहा पाएकाहरुले माटो र छालाको मुद्राको प्रसंगलाई पत्याई पनि हाल्छन् । छाउनीस्थित राष्ट्रिय संग्रहालयको मुद्रा कक्षमा यस्ता वस्तुहरु सार्वजनिक प्रर्दशनीमा राखिएपछि नपत्याउने कुरा पनि रहेन । तर इतिहासको अध्ययनमा नेपालमा न कहिल्यै कुमाले वा सार्की राजा बनेको छ न त माटोको मुद्रा बनाउनु पर्ने गरी आर्थिक हैसियत नै गिरेको छ । माथि वर्णित कुराहरु नपत्याउनेहरु पनि ती कथित मुद्रामा राजकीय चिन्ह, राजा–रानीको नामआदि पनि भएकोले कसैकसैलाई टाउको दुखाईको विषय पनि बनेको छ ।

केही मुद्रा संकलकहरु यसलाई बडो हिफाजतसाथ आफूसँग राख्छन् पनि । त्यसमा कोरिएका लिपिहरुको आधारमा ती कथित मुद्राहरु कान्तिपुर, भक्तपुर तथा पाटन राज्यबाट सिद्धिनरसिंह मल्ल, योगनरेन्द्र मल्ल, विष्णु मल्ल, रणजीत मल्लआदि राजाका नामहरु र सालसहित प्रसारित भएको पाइन्छ । साँच्चै ती के हुन् त भनी मनमा खुलदुली हुनु स्वाभाविक पनि हो ?

राज्यको काम गर्न ‘झारा’को व्यवस्थाअनुसार बिना ज्याला जनताले नै गर्ने चलन राणाकालसम्म थियो । यसरी झाराको व्यवस्थाअनुसार काम गर्नेलाई राज्यले केही अधिकार दिने व्यवस्था पुरानो भएरपनि राणाकालमा भने यसले शोषणको अर्को रुप लिन पुग्यो र २००७ सालपछाडि यस्तो प्रथाकै अन्त्य भयो । ‘झारा’ व्यवस्थाअनुसार राज्यको काम गर्नेहरु बाहेक अरुलाई काममा लगाउँदा राज्यले तिनीहरुलाई ज्याला दिनु पर्दथ्यो । यसरी ज्याला दिँदा प्रचलित मुद्राको सानो इकाईभन्दा पनि थोरै ज्यालाहरु दिनुपर्दा वा पछि एकमुष्ट हिसाब किताब मिलान गर्न प्रयोग गरिएको वस्तु नै कथित माटोको मुद्रा हुन सक्छ । आजभोलि बैंकमा प्रयोग हुने चेकजस्तै उहिले माटोका ती कथित मुद्राहरु हुन्थ्यो होला जसको मौद्रिक मूल्य केही अवधिको लागिमात्र हुने गर्दछ ।

यसरी नै उहिले तिब्बतसँग भारतको व्यापार नेपालको बाटो भएर हुन्थ्यो । आफ्नो बाटो प्रयोग गर्न दिएबापत नेपालले सो व्यापारमा कर लगाउँदा करको रुपमा सोही सामान पनि प्राप्त गर्दथ्यो । भारतबाट आउने ती सामानहरु प्याकिङ् भएर आउँथ्यो र उक्त सामानको प्याकिङमा शील छाप लगाउन पनि हुने र सुक्दै गएपछि कसिंदै जाने हुनाले डोरीको रुपमा छालाको प्रयोग हुन्थ्यो । शीलको रुपमा छालामा प्रयोग गरिएका छापहरु उहिले काटेर राखेका टुक्राहरुलाई नै आज छालाको पैसा भनिएको हो ।

माटोको पैसा भनिएका वस्तु दुरुस्त मुद्राजस्तै हुन्छ । यसमा राजारानीको नाम, साललगायत अन्य चिन्हहरु पनि अंकित गरिएको हुन्छ । थोरै मौद्रिक मूल्य हुने भएकोले यसलाई टक मार्ने साँचोमा नै ढालेर बनाएको देखिन्छ । प्राप्त माटोको पैसा भनिएका कथित मुद्राहरु चाँदीका मुद्राहरुसँग मिल्न त मिल्छ तर मोटाइमा भने अलि बाक्लो हुने गर्दछ । छालाको कथिन मुद्रा भारतबाट सीमित मात्रामा आउने र माटोको कथित मुद्रा नेपालमा नै बन्ने भएकोले छालाको तुलतामा माटोको कथित पैसा बढी देखिएको हुनु पर्दछ ।

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

दरवार आफै चेलिबेटी बेचबिखनमा

कुनै अर्को राज्यमा आफ्नो राज्यका चेलिबेटीहरुलाई उपहारका रुपमा पठाइने कुरा त अन्यत्र मुलुकहरुमा पनि पाइन्छ …

के हो नेपाल सम्वत, को हुन् शंखधर साख्वाः

बसन्त महर्जन नेपाल सम्वतको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा एक प्रकारको तिलस्मी कथा पाइन्छ । बालुवा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *