Monday , August 26 2019

लुम्बिनीमा वैशाख पूर्णिमा

मायादेवीले सिद्धार्थलाई जन्म दिनु अघि नुहाउनु भएको पोखरीका रुपमा चिनिने यस पोखरी वरिपरि दियो बाल्दा पोखरीमा मायादेवी मन्दिरको छायाँ पर्दाको दृश्य मनमोहक थियो । यो क्षण कहिले बिर्सिन नसक्ने थियो ।

बिमला शाक्य

बैशाख पूर्णिमा, बुद्ध जयन्ती, स्वाँया पुन्हि जे भने पनि यो दिन समस्त बौद्धहरुका निम्ति अत्यन्त महत्वपूर्ण दिन । बुद्धको जन्म, बोधिज्ञान लाभ र महापरिनिर्वाण भएको तीनवटा संयोग परेको दिन भनेर संसारभरका बौद्धहरुले मनाउने गरेको दिन यो हो । यसै महत्वपूर्ण दिन मनाउन अर्थात् २५६२ औं बुद्ध जयन्ती लुम्बिनीमा मनाउने सुअवसर मैले नि पाएँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो ऐतिहासिक दिक्षान्त समारोह, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्ती मनाउन लुम्बिनी प्रस्थानका लागि थेरवाद बुद्धिष्ट एकेडेमीका विद्यार्थी साथीहरुका साथ बैशाख १४ गते बिहान ६ बजे मीनभवन बानेश्वरमा पुगे । साथीहरु सबैजना आए पनि गाडी बिहान ७ बजे मात्र गुड्यो । सबैमा एक प्रकारको उत्सुकता थियो कि बुद्धिज्ममा मास्टर सकाएको ४ वर्ष पछि बल्ल हुन लागेको पहिलो दिक्षान्त समारोहमा भाग लिन पाउने खुशीले ।

मुग्लिङको बाटोहुँदै नारायणगढ गाडी गुड्दै थियो । बिचमा बाटो फराकिलो पार्ने काम अघि बढिरहेको थियो तर हामी संग पर्मिसन लेटर भएकोले रोकिएन । त्यस ठाउँमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गाडि आवत जावत रोकिन्थ्यो । जे होस् जाममा फसेर ३ ४ घण्टा सास्ती खेप्नु परेन । तर लुम्बिनी पुग्न अगाडि रामग्रामको अवलोकन गरेर जाने कुरा भयो यसकारण गाडि उतैतिर लगियो ।
नवलपरासीको सदरमुकाम परासी बाट ३ कि.मी दक्षिणमा रहेको र लुम्बिनीबाट करीब ४० कि.मी टाढा रहेको महत्वपूर्ण रामग्राममा रहेको रामग्राम स्तूप ऐतिहासिक स्तूप जुन भगवान बुद्धको अस्थिधातु रहेको एक मात्र स्तूप हो किनकि बुद्धको महापरिनिर्वाण पश्चात् बनेका ८ वटा स्तूपहरुमध्ये ७ वटा स्तूपबाट सम्राट अशोकले अस्थिधातु झिकी ८४ हजार विभिन्न स्थानमा स्तूपहरु बनाएको इतिहास छ । उही सम्राट अशोक अस्थिधातु निकाल्न रामग्राम आउँदा त्यसबेलाका नागजातिहरुले रामग्रामको स्तूप उत्खनन् गर्न नदिने र उनीहरुले नै यो स्तूपको संरक्षण गर्ने बताएपछि अशोकले उक्त स्तूप उत्खनन् नगरी फर्केको मानिन्छ ।

रामग्राम स्तूपलाई श्रद्धा पूर्वक एक चक्कर लगाई हामी लुम्बिनी तर्पm अघि बढ्यौ ।

लुम्बिनीको गेटबाट भित्र छिरेर हामी गयौं बर्मिज विहार । बेलुका खाना खानको लागी फेरि हामी बजारतिर गयौं र खाएर विहार फक्र्यौं । बिहान ७ बजे चाईनिज विहारमा अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनको लागि नाम दर्ता गराउनु पर्ने जानकारी हाम्रो ग्रुप लिडर केशव मान चित्रकारबाट पायौं । बिहान चाँडो उठेर मायादेवी मन्दिर घुम्न गयौं । बिहानको समय धेरै भीडभाड नभएको शान्त थियो । मन्दिरको दर्शन गरिसकेपछि हामी चाईनिज विहार जान हिंड्दै गयौं । बसपार्कदेखि मन्दिरसम्म पुग्नको लागि बनाइएको नहरको दुवै छेऊमा हिंड्नका लागि र्इंटाले छापेको बाटो बनाइएको थियो । त्यही नहरको छेऊबाट हिंड्नु पनि छुट्टै मज्जा आउने रहेछ त्यो पनि बिहानको पहरमा । हिंड्दा हिंड्दै हामी त बज्रयान विहार नजिक पुगेका रहेछौ । अब त्यहाँसम्म आई पुगीसकेकाले बज्रयान विहारभित्र गयौं । उपत्यकामा रहेका बज्रयानी विहारको प्रतीक यो विहार शान्त रहेको छ निर्माण कार्य भने पूरा भएको छैन । बगलमै रहेको तारा फाउण्डेशनद्वारा निर्मित जर्मन विहार पनि पस्यौं । हरेक विहार भित्र छिर्न बाहिर जुत्ता चप्पल खोल्नुपर्ने भएकोले जुत्ता बाहिर गेटमा खोलेर भित्र गयौं । विहार बाहिरी डिजाइन हेर्दा तिब्बेतन चैत्य आकारको र भित्र भव्यरुपमा अग्लो हल बनाईएको बिचमा बुद्ध मूर्ति स्थापना गरिएको थियो । पहिला पहिला फोटो खिच्न मनाही रहेको उक्त विहारमा यसपटक बुद्ध मूर्ति राखको ठाउँमा चारैतिरको शिशा फुटेकाले भित्र छिर्न दिइएन । मूलढोका खुल्ला रहेकोले बाहिरबाट भित्रको फोटो खिच्न भ्याएँ । उक्त विहारको भित्रपट्टि सिलिङमा मण्डलाको चित्र कोरिएको थियो भने भित्तामा कुनै ठाउँ खाली छैन जहाँ पेन्टिङ्ग नभएको होस् त्यसै गरी बाहिर भित्तामा पनि स्वयम्भु चैत्य, महाकाल अनि अरु पेन्टिङ्गहरु हेर्दा महान पौभा कलाकार प्रेममान चित्रकारलाई धन्यवाद दिनैपर्छ उहाँको कलाकृतीले यो विहार लुम्बिनीमा रहेको अरु विहारहरुमध्ये नाम चलेको विहारमा पर्दछ ।

जर्मन विहारको अगाडि ठूलो पोखरी रहेको छ जुन पोखरीको पारीपट्टि अमेरिकाद्वारा निर्मित विहार रहेको छ । यो विहार पनि बाहिरी आकार स्वयम्भु स्तूपको रहेको भव्य विहारमा बुद्धको भव्य मूर्ति रहेको छ भने वरिपरि स साना बुद्ध मूर्तिहरु १५ सय जतिको संख्यामा भित्तामा सजाइएको छ । यो विहारको मूर्ति पनि आप्mनै टोलका राजकुमार शाक्यले निर्माण गरेको थाहा पाउँदा गर्वले शिर उच्च भयो ।
त्यसपछि नजिकै आइपुग्यो चाईनिच विहार जहाँ बौद्ध सम्मेलन हुँदै थियो । विहान १० बजे शुरु हुने उक्त कार्यक्रममा सहभागी हुन नाम दर्ता गराइसकेको भनिए पनि हामीलाई छुट्टै कार्डको लागि व्यवस्था गर्नु पर्यो । विद्यार्थीको नाताले भए पनि सम्मेलनमा भाग लिन पाउने भयौं । यस दिन सम्मेलनको उद्घाटन र कार्यपत्रहरुको प्रस्तुति थियो । बाँकी कार्यपत्रको प्रस्तुति र समापन समारोह भोलिपल्ट विहान ८ बजेदेखि सुरु भयो । लन्च पछि दिक्षान्त समारोहको कार्यक्रम थियो ।

दिक्षान्त समारोहको लागि तयार हुन फेरि बर्मिज विहार आयौं । कार्यक्रममा सहभागी हुन महिलाहरु साडी र पुरुषहरु सुट पाइन्ट र टाईमा सजिनुपर्ने अनिवार्यता थियो । साडी लगाउँदा त ठिकै थियो पुरुषहरुलाई लुम्बिनीको ३७ डिग्रीमा पनि कोट टाईमा सजाय दिए जस्तो लाग्यो । कार्यक्रम स्थलमा पुग्दा भीड भइसकेको थियो । ४ करोड लगाएर सेनाले निर्माण गरेको हल हेर्न धेरै आतुर थिएँ । हल हेर्दा ठिकै थियो अस्थायी भए पनि ३ हजार अटाउन बनाईएको उक्त हल दिक्षान्त समारोहका साथै भोलिपल्ट बुद्ध जयन्ती समारोह भव्य रुपमा मनाउनका लागि नै तयार भएको थियो ।

दिउँसो १२ बजेको दिक्षान्त कार्यक्रम कहीं नभएको जात्रा हाँडीगाउँमा भने जस्तो साढे ४ घण्टा पछि शुरु भयो । जति उत्साह कालो गाउन टोपी लगाएर प्रमाण पत्र लिने उत्सुकता क्रमशः ह्रास हुँदै गएको अवस्था थियो । खाजा खान पनि नपाएर ४ घण्टा कुर्नुपर्दा सहन शक्तिको सीमा नाघिसकेको थियो । दीक्षान्त समारोहमा बिचको बाटो दायाँबायाँ लस्करै पाँच वटा विश्व विद्यालयका १०६ विद्यार्थीहरुका लागि कुर्सिहरु मिलाएर राखेका थिए । आप्mनो ग्रेस नं र नाम टाँसेको सिट खोज्न थाले तर भेटाएन । मन अलि खिन्न भईसकेको थियो । स्वयंसेवक भाईलाई भनेर एकजना अनुपस्थित भएको साथीको कुर्सीमा आप्mनो नाम टाँस्न लगाएर बसे । दिक्षान्त समारोहमा प्रधानमन्त्रीबाट प्रमाण पत्र लिन पाएकोमा खुशी नै भएँ ।

भोलिपल्ट बुद्ध पूर्णिमाको दिन बिहान ५ बजे उठेर मायादेवी मन्दिरमा ६ बजे ध्यान बस्ने र बैशाख पूर्णिमाको उपलक्ष्यमा हुने कार्यक्रममा सहभागी हुने थियो । सोही अनुसार बिहान सबेरै उठेर तयारी भई साथीहरुका साथ मायादेवी मन्दिर गयौं । बिहान ७ बजे बजारदेखि =याली निस्किने र उक्त -याली मायादेवी मन्दिर परिक्रमा गर्दै सोही हलमा पुगेर कार्यक्रम हुने थियो । -यालीमा प्रधानमन्त्रीको पनि उपस्थिति रहेको थियो । उक्त -यालीमा स्थानीय विभिन्न स्कूलका विद्यार्थीहरु देखि संघसंस्थाका मानिसहरु त्यस्तै लुम्बिनी विकास कोषका पदाधिकारीहरु, स्थानीय राजनितिक व्यक्तित्वहरुका साथै उपत्यकाबाट भाग लिन आएका हजारौं महानुभावहरुको उपस्थिति थियो । बुद्धको मूर्तिलाई खटमा राखी पंचकन्याहरुको साथमा उक्त -याली लुम्बिनीको म्यूजियम रहेको नजिकै बनेको हलमा पुग्यो ।

बैशाख पूर्णिमाको औपचारिक कार्यक्रम बिहान ९ बजे शुरु हुने थियो । मनमा शंका लागेको थियो हिजो जस्तै ४ घण्टा ढिला त हुने होइन ? तर राष्ट्रपति विद्या भण्डारीको आगमन छिटै भयो । हेलिकप्टरबाट आउनु भएका राष्ट्रपतिको भव्य स्वागत भयो । हलमा मानिसहरुको उपस्थिति टन्नै थियो । हिजोको दिन सम्झे । शुरुमा खचाखच भएको हल पछि दिक्षान्त समारोह हुने समयमा आधी भन्दा बढी हल खाली मेचले भरिएको थियो । तर आज यस्तो भएन । राष्ट्रपतिको इज्जत रह्यो । औपचारिक कार्यक्रम पछि राष्ट्रपतिलाई उपहार प्रदान गरियो । दिउँसो १२ बजिसकेकोले भिक्षु अनागारिकाहरुको भोजनको समय भएकोले हल बाहिर निस्किन थाल्नुभयो । हामी पनि भोक लागेकोले बाहिर खानाको लागि लाईन बस्न थालें । सम्मेलनमा भाग लिएको कार्डले छुट्टै लाईन लागेका थियौं । तर के गर्नु व्यवस्थापनको कमजोरीले गर्दा भिक्षु, आनीहरुलाई भोजन गराउने लाईनमा परियो । आनीहरुको एक हुल लाईन बसेको देखेर उहाँहरुलाई नपठाई आफुले खान उचित लागेन । केही बेर कुरेर भए पनि खाना खाईयो । बौद्ध सभामा भाग लिन आएका भनाउंदा बुद्धिजीविहरुको पारा पनि देखियो । लाईनमा बस्न आएका आनीहरुलाई ख्यालै नगरी भद्र भलादमीहरु एक दुईजना ठेलमठेल गरेर खानै नपाएको जस्तै लाईन मिचेर गएको देख्दा यस्ता मानिसहरु लुम्बिनी आएर कार्यक्रममा भाग लिनुको के अर्थ रह्यो ? बिहानको औपचारिक कार्यक्रम सकाएर करीब १ बजे पछि विहार फर्कियौं । अब फुर्सदको बेला कोही विहारहरु घुम्न गए कोही आराम गर्न थाले । म भने अलि साँझ भएपछि विहार घुम्नलाई निस्किए । बिहान एकछिन भियतनामी विहार गएको थिएँ । यो विहारको उद्घाटन झण्डै १ महिनाअघि मात्रै भएको हो । नयाँ विहार अनि भियतनामिज स्टाइलको जहाँ बुद्धको मूर्तिमा पिपलको बोटले ओट दिएको मानौ बुद्धले ज्ञान प्राप्त गरेको क्षण जस्तो । अग्लो खुल्ला हलमा राखिएको यो बुद्ध मूर्ति अनि भित्तामा भियतामिज स्टाइलको बुद्धको जीवनीसंग गाँसिएको विभिन्न चित्रहरु कोरिएका थिए ।

साँझ ५ बजेतिर अलि शितल भएपछि विहार घुम्न निस्किएँ । नजिकै रहेको श्रीलंकन विहारमा पुगे तर विहार त ५ बजे नै बन्द भैसकेको जानकारी गार्डले दिए । म र मेरो साथी बिनु अनि उनको श्रीमानसंगै गएका थियौं । अरु एक ग्रुप पनि संगै थियो हामीले त्यति टाढादेखि आएका र आज बुद्ध जयन्ती भएकोले दिनभरि खुल्ला हुनु पर्ने होइन र ? भनी प्रश्न पनि गर्यौं तर उनीहरुको नियमअनुसार निश्चित समयमा बन्द गर्नुपर्ने बताए । तैपनि एकछिनको लागी भनेर गेट खुल्ला गरिदिए । हतार हतार हामी विहार भित्र पस्यौं । यो विहारको आर्किटेक्चर मलाई एकदम मन पर्छ । फरक स्टाइलको यो विहारमा बिचमा बुद्ध मूर्ति स्थापना गरिएको चारैतिर खुल्ला घुम्न हुने किसिमले बनाइएको छ भने सिंढीबाट तल ओर्लेर जाँदा भित्तामा श्रीलंकन शैलीका बुद्धको जीवनीसंग सम्बन्धित चित्रहरु कोरिएका थिए । यो चित्रहरु अलि पुराना भएकाले भित्ताको रंग कतैकतै ढुसीले बिगारिसकेका थिए । जे होस् चित्रहरु एकदम राम्रा थिए ।

घुम्दै हामी मायादेवी मन्दिर पुग्यौं । बिहान अनि दिउँसोको भन्दा फरक मायादेवी मन्दिर । दुलही सरि झलमल्ल बत्तीले सिंगारिएको पोखरी वरिपरि हजारभन्दा बढी दियो बाल्न तयार गरिएको थियो । मानिसहरु वरिपरि बत्ती बाल्न तम्तयार थिए । यति भीड मैले लुम्बिनीमा अरु बेला देखेकी थिइन । लुम्बिनी धेरै पल्ट आएकी थिएँ जाडो याममा हुस्सुले अगाडिको मन्दिर नै छोपिराखेको हुन्थ्यो भने अहिले गर्मीले बसी नसक्नु थियो तैपनि मानिसहरुको उत्साह कम थिएन । गर्मीको पर्वाह नगरी बुद्ध पूर्णिमाको दिन मानिसहरु कहाँ कहाँबाट ओइरिए थाहा छैन । बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा पुग्नु पनि आफुलाई भाग्यमानी सम्झिएं । मायादेवीले सिद्धार्थलाई जन्म दिनु अघि नुहाउनु भएको पोखरीका रुपमा चिनिने यस पोखरी वरिपरि दियो बाल्दा पोखरीमा मायादेवी मन्दिरको छायाँ पर्दाको दृश्य मनमोहक थियो । यो क्षण कहिले बिर्सिन नसक्ने थियो । सबैजना फोटो खिच्न तछाड मछाड गर्दै थिए । हामीले पनि सम्झनाको लागि फोटो खिच्यौं । भीडभाडबाट निस्किएर एकछिन मायादेवी मन्दिरको अगाडि ईंटाले छापिएको फराकिलो ठाउँ आईपुग्दा त्यहाँ १६० जना थाई भिक्षुहरु ल्याम्प बालेर पाठ गर्ने तयारी गर्दै थिए । यो सबै दृश्य हेरेर आनन्दको सास फेर्दै बुद्ध पूर्णिमाको दिन बुद्ध प्रति नतमस्तक भएँ ।

About discovery4p

Check Also

बन्दिपुर यात्रा

बन्दीपुरको विशेषता यसरी रहेकैले त काठमाडौं उपत्यकाबाट मात्र नभएर यस सुन्दर चिटिक्क परेको बस्ती हेर्न …

साँखुुको बज्रयोगिनी र मणिचूड दहमा एक दिन

अघि उकालो चढ्ने बेला तीन घण्टा लागेको बाटो अब डेढ घण्टामै तल बज्रयोगिनी मन्दिरमा आईपुग्यौं …

Leave a Reply

Your email address will not be published. Required fields are marked *