Tuesday , February 19 2019

गुफामा गुम्बा

वास्तवमा गुफाको नाम निफुग् हो र यही गुफाभित्र निर्मित गुम्बा भएका कारण गुम्बाको नाम गुफाबाटै भएको हो ।

  • बसन्त महर्जन

गुम्बा भन्नाले जो कसैको मानसपटलमा भव्य, कलात्मक भवन, जहाँ भगवान बुद्धलाई केन्द्रमा राखेर भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरू पूजा र ध्यान गरिरहेका हुन्छन् भन्ने चित्रण भइसक्छ । शान्त र आध्यात्मिक वातावरणले युक्त हुने गुम्बा मानव बस्तीभन्दा धेरै नजिक पनि होइन धेरै टाढा पनि होइन, त्यस्तो ठाउँमा बनाउनु भन्ने आदेश बुद्धले आजभन्दा पच्चीस सय वर्षअघि नै दिएका थिए । सोही आदेशमुताविक आजभोलि पनि गुम्बा बनाउने गरिन्छ । ठूलो त ठूलै हो अनि मानव वस्तीभन्दा टाढा पनि होइन, नजिक पनि होइन तर निफुग् गुम्बा अरु ठाउँमा होइन, गुफा भित्र रहेको छ ।

हो, निफुग् गुम्बा गुफाभित्र रहेको छ । प्राचीन ‘लो’ राज्यको राजधानी मन्थाङ (हाल लोमन्थाङ नामले चिनिन्छ) भन्दा उत्तर दिशामास्थित छोसेर गाउँमा रहेको एउटा अजंगको पहाडमा खोपेर बनाइएको यो गुफाको प्रयोजन कुनै बेला अरु नै भए पनि अहिले त्यसभित्र एउटा सिंगै बौद्ध गुम्बा रहेको छ र त्यहाँभित्र ध्यान साधना तथा पूजाकार्य गर्ने गरिन्छ ।

यस क्षेत्रमा विभिन्न समयमा बनेका थुप्रै गुम्बाहरू पाइन्छन् । त्यस्तै गरी पहाडलाई खोपेर बनाइएका गुफाहरू पनि पाइन्छन् । मानवनिर्मित ती गुफाहरू दुई हजार वर्षभन्दाअघि नै बनाएर मान्छे बस्न थालेको भन्ने कुरा अन्य गुफाभित्र पाइएका अवशेषहरूबाट थाहा पाइएको छ । यस्ता गुफाहरू मुस्ताङ क्षेत्रमा मात्रै नभई तिब्बत, लद्दाख, अफगानिस्तान आदि ठाउँमा पनि पाइएका छन् । तर सबैभन्दा पुरानो भनिएको लोगेकर गुम्बा यस क्षेत्रमा आठौं शताब्दीमा मात्रै बन्न थालेको थियो । गुफाको अध्ययन गर्दा निफुग् गुम्बा अवस्थित गुफा पनि त्यस्तै पुरानो गुफामध्ये एक रहेको बुझिन्छ । वास्तवमा गुफाको नाम निफुग् हो र यही गुफाभित्र निर्मित गुम्बा भएका कारण गुम्बाको नाम गुफाबाटै भएको हो । यो गुफालाई पन्द्रौं शताब्दीतिर चराङ गुम्बाका श्यवटुङ लोवो खेन्छेन्ले सुरुमा शीतकालिन आवासको रूपमा उपयोग गरेका थिए । तर पछि गुम्बाको रूपमा विकास भएको हो ।

फुश्रो रङको पहाडको भीरमा रातो माटोले पोतिएको यो गुम्बा टाढाबाट हेर्दा नै निकै आकर्षक देखिन्छन् । झट्ट हेर्दा भीरको आडमा गारो उठाई कोठाहरू निकालेको र त्यसमा रातो रंग लगाइएको हो कि जस्तो देखिन्छ तर ती त गुफामा रहेका प्वालहरू टालिएका हुन् र यस क्रममा केही साना साना कोठाहरू पनि निस्केका छन् जसको प्रयोजन त्यहाँ काम गर्ने वा रेखदेख गर्ने सहायकहरू बस्ने प्रयोजनमा लगाइएको छ । यस्तै गरी गुम्बा बनाइएको गुफाको माथि तथा दायाँबायाँ पनि अन्य थुप्रै गुफाका प्वालहरू देख्न पाइन्छन् ।

गुम्बा रहेको गुफाको बगलमा नै सेतो रंग लगाइएका साना साना घरहरूको दृष्य टाढाबाट नै हेर्न लायकको छ । देशविदेशमा प्रचारित मुस्ताङसम्बन्धी तस्वीरहरूमा यो दृश्यले पनि मनग्य ठाउँ पाएको छ ।

गुम्बाहरू प्रायशः पूर्वी मोहडा गरेर बनाइएको हुन्छन् तर गुफाहरूमा निर्मित गुम्बाका हकमा यो नियम लागू भएको पाइन्न । निफुग् गुफा उत्तरबाट दक्षिण फर्केको छ र सोहीअनुसार गुम्वाको बनावट रहेकोछ । गुफा बाहिर केही गारो उठाएर वास्तुको रूप दिई केही कलात्मक पनि पारिएको छ । भित्र छिरेपछि गुम्बाको पूरै गर्भगृह गुफाभित्र रहेको पाइन्छ । गर्भगृहमा तीस चालिस जना जति मान्छे अटिने ठाउँ छ भने अग्लो मान्छे पनि मज्जाले उभिन मिल्ने उचाइ रहेको छ । गुम्बाको गर्भगृहमा चाहिने सबै कुरा यहाँ व्यवस्थित रुपमा राखिएका छन् र दैनिक संचालनमा पनि छन् ।

गुम्बाको मुख्यभाग अर्थात् गर्भगृह भनौं वा गुफाको भित्तामा, गौतम बुद्ध तथा पंच बुद्धका ससाना भित्तेचित्रहरू लेखिएका छन् । ती साधारण चित्र होइनन् । बौद्ध धर्मका अध्यात्मिक शिक्षाहरूलाई चित्रमार्फतु चित्रण गर्ने क्रममा यी चित्रहरू कोरिएका हुन् । त्यसरी नै गुम्बा र त्यस क्षेत्रका सिद्ध लामाहरूका चित्र पनि त्यहाँ रहेको पाइन्छ । भित्तेचित्र मात्रै नभएर यहाँ विभिन्न पौभा (थाङ्का)हरू पनि झुण्ड्याइएको देख्न पाइन्छ । यस अर्थमा यहाँस्थित पौभा तथा भित्तेचित्रहरू नै पनि अध्ययनको राम्रो विषयवस्तु हुन् ।

यस गर्भगृहभित्रैबाट गुफा विस्तार भएर पूर्वतिर गुफाको अर्को भाग पनि रहेको छ । अलि साँघुरो बाटो भएर त्यहाँ पुग्न सकिन्छ । उक्त सानो कोठाभित्र सात आठ जनाभन्दा बढी मान्छे अट्न मुस्किल नै पर्दछ । यो पनि पूजा पाठकै लागि प्रयुक्त हुने गरेको पाइन्छ । यहाँ गौतम बुद्धको करीब डेढ फिटको धातुको मूर्ति रहेको छ । बोधिसत्व तथा ताराका सानाठूला दुई दर्जन जति मूर्तिहरू पनि यहाँ संग्रहित छन् । यसरी नै महायानी बौद्ध धर्मसम्बद्ध प्रसिद्ध ग्रन्थ ‘अष्टसाहस्रिकाप्रज्ञापारमिता’ लगायत केही धार्मिक ग्रन्थहरू पनि यहाँ संग्रहित छन् । यस स्थलबाट पनि पूर्वतिर निस्कने सानो प्वाल रहेको छ भने त्यहाँबाट ज्यादै मनमोहक दृश्यावलोकन गर्न पाइन्छ ।

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

नेपालमै छ तिब्बत पनि

पर्यटकीय आकर्षणको केन्द्र रहिआएका नेपालका हिमाली क्षेत्रहरूलाई अझ व्यापक बनाउन तिब्बतको विगतसँग जोड्न सकिन्छ। बसन्त …

भिस्वा स्तूपः वीरगंजलाई अवसर

लुम्बिनीबाट ‘बुद्धिस्ट सर्किट’ को यात्रा शुरू गरेर भारतका विभिन्न बौद्ध स्थलहरू घुमाई भिस्वा स्तूप दर्शनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *