Tuesday , February 19 2019

स्तम्भमाथि राजाका मूर्तिहरू

मन्दिरअगाडि प्रस्तर स्तम्भ र त्यसमाथि मानवको मूर्ति भएको पहिलो उदाहरण हनुमानढोका दरवार क्षेत्रभित्रको त्रिशुलचोकमा रहेको राजा प्रताप मल्लद्वारा स्थापित प्रस्तर स्तम्भ र त्यसमाथिका मूर्तिहरु हुन् ।

– बसन्त महर्जन

काठमाडौं उपत्यकाका मन्दिरहरू अगाडि स्तम्भमाथि भक्तजनको धातुमूर्ति राखिएको देख्न पाइन्छ । यो मल्लकालमा मात्र विकास भएको हो । यसअघि लिच्छविकालमा मन्दिरअगाडि प्रस्तरको स्तम्भमाथि गरुडको प्रतिमा राख्ने चलन रहेको देखिन्छ । मन्दिरको निर्माण वा केही थप काम गरेपछि सो व्यक्तिले आफ्नो भक्तिभाव प्रकट गर्न यसरी स्तम्भमाथि मूर्ति स्थापना गर्ने हुन् । गरुडको मुखाकृति प्रत्येक मूर्तिमा फरक फरक रहेको पाइन्छ । यसरी गरुडको मुखाकृति फरक फरक हुनुका कारण अन्यथा नभई त्यो कीर्ति स्थापना गर्ने भक्तजनले आफ्नो अन्ुहारको झल्को दिन चाहेको हुनु धेरै संभव छ । र पछि यसको विकास मल्लकालमा आएर गरुडको ठाउँमा आफ्नै मूर्ति राख्ने चलन आएको हुनु पर्छ । शुरु शुरुका केही प्रस्तर स्तम्भ र त्यसमाथिका मानव आकृतिका मूर्तिहरुबारे चर्चा यहाँ गरिन्छ ।

मन्दिरअगाडि प्रस्तर स्तम्भ र त्यसमाथि मानवको मूर्ति भएको पहिलो उदाहरण हनुमानढोका दरवार क्षेत्रभित्रको त्रिशुलचोकमा रहेको राजा प्रताप मल्लद्वारा स्थापित प्रस्तर स्तम्भ र त्यसमाथिका मूर्तिहरु हुन् । यो चोक मूलचोकको उत्तरी दलानमा रहेको ढोका वा बाहिर काकेश्वरको मन्दिर सामुन्ने रहेको सिंहढोकाबाट पुग्न सकिन्छ । यस चोकमा मल्ल राजाहरुको इष्टदेवता तलेजुको विशाल मन्दिर रहेको छ र मन्दिरको सामुन्ने रहेका तीन वटा विशाल प्रस्तर स्तम्भमध्ये सवैभन्दा अगाडि यो स्तम्भ रहेको छ । यस प्रस्तर स्तम्भमा अंकित २९ हरफको अभिलेखअनुसार राजा प्रताप मल्लले आफ्नो इष्टदेवता तलेजुप्रति आफ्नो भक्तिभाव प्रकट गर्न वि.सं.१७२० मा दुई पुत्रहरु नृपेन्द्रमल्ल र चक्रवर्तीन्द्र मल्लसहित आफ्नो मूर्ति स्थापना गरिएको हो ।
यस प्रस्तर स्तम्भमाथि रहेको सालिक वा मूर्तिमा राजा प्रताप मल्लको मूर्ति बीचमा र दायाँबायाँ दुई राजकुमारहरु रहेका छन् । सालिकहरुको अग्रभागमा साँधेको सानो प्रतिकृति पनि हरेको छ । यिनीहरु सबैले राजकीय पगडी लगाएका छन् । उनीहरुको घाँटीमा बहुमूल्य हार पनि देखिन्छन् । उनीहरु सबै नमस्कार मुद्रामा बसी भक्तिपूर्वक मन्दिरमाथि हेरिरहेका छन् ।

प्रतापध्वजया माथिल्लो भाग गोलाकारमा रहेको छ । त्यस गोलाकारभित्र लहरै मिलाएर बाघ, सिंह, बाख्रा आदि विभिन्न जन्तुहरुको उभ्याई तल जमीनमा हेरिरहेको जस्तो बनाइएको छ । चारै दिशामा सिंह र बीचको भागमा हात्ती बसी सुनको सिंहासन थामिरहेको छ । सिंहासनको चारै कुनामा चार राजकुमार र अगाडितिर दुई रानीहरुका बीच एउटा सानो अर्को मूर्ति नमस्कार मुद्रामा छन् । यी मूर्तिहरुको बीचमा अन्यभन्दा आकारमा ठूलो र नमस्कार मुद्रामा रहेकोमूर्ति स्वयं राजा प्रताप मल्लका हुन । यस प्रकार त्यस स्तम्भमा आठ व्यक्तिको मूर्ति रहेका छन् । प्रस्तरमा अंकित अभिलेखअनुसार राजा प्रताप मल्लले आफूसहित आफ्ना दुई रानी र पाँच राजकुमारहरुका मूर्ति राखिएका छन् । जहाँ पनि चित्र तथा अन्यत्र राजाको दायाँ जेठी राजी र बायाँ कान्छी रानी राखिने भएबाट यहाँ राजाको दायाँको रानी अनन्त प्रियादेवी र बायाँ रानी प्रभावतीदेवीको मूर्ति रहेको छ । पाँच जना राजकुमारहरु भूपेन्द्र मल्ल, चक्रवर्तीन्द्र मल्ल, महीपतेन्द्र मल्ल, नृपेन्द्र मल्ल व पार्थिवेन्द्र मल्लका मूर्तिहरु भने कुन कसको हो भन्ने खुट्याउने आधार प्राप्य छैन ।

यस्तै अर्को प्रस्तरको स्तम्भ र त्यसमाथिको मूर्ति हनुमानढोका दरवार परिसरमा जगन्नाथ मन्दिर र कृष्ण मन्दिरका बीच रहेको ठूलो डबलीमा रहेका छन् । यो देगुतलेजु मन्दिरको सिधै अगाडि छ । यो पनि राजा प्रताप मल्लद्वारा स्थापित भएकोले यसलाई प्रताप्रध्वज नाम दिइएको छ । स्तम्भमा अंकित ६० हरफको अभिलेखअनुसार यो प्रतापध्वज वि. सं. १७२७ भाद्र महिनामा खडा गरिएको हो । अभिलेखको उठानमा राजा प्रताप मल्ल आफैले रचना गरेको चण्डिकादेवीको स्तुति कोरिएको छ र पछि देगु तलेजुको मन्दिरमा सुनको छाना र गजूर हाली त्यसको उपलक्ष्यमा आफू र आफ्ना परिवारको मूर्ति हालिएको वर्णन गरिएको छ ।
राजा प्रताप मल्लको दायाँ हातमा अक्षमाला बायाँ हातमा हस्तलिखित ग्रन्थ धारण गरेको छ । शिरमा कल्कीसमेत भएको राजसी टोपी र गर्धनमा बहुमूल्य हार देखिन्छ । राजकुमारहरुको पकरी पनि राजाको जस्तै देखिन्छ तर कल्की भने देखिदैन । राजाजस्तै राजकुमारहरु पनि घुँडाले टेकी बसिरहेका छन् तर रानीहरु भने ललितासनमा देखिन्छ । प्रताप मल्लको शिरमाथि सर्पको फणाले गर्दा अझ शोभायमान देखिन्छ ।

तलेजु र देगु तलेजुको मन्दिर अगाडिको जस्तै स्तम्भमाथि मानवाकृत मूर्तिहरु पाटनमा देगु तलेजुअगाडि योगनरेन्द्र मल्ल र भक्तपुर राजदरवार अगाडि भूपतीन्द्र मल्लको पनि देख्न पाइन्छ । यिनीहरु प्रताप मल्लकै प्रभावमा बनाइका हुन् । प्रताप मल्लको यो स्तम्भमाथि मान्छेको मूर्ति राख्ने चलनको प्रभाव पाटन र भक्तपुरमा पर्नुअगाडि गोरखा राज्यमा परेको देखिन्छ । गोरखाको पोखरी थोकमा रहेको राजा पृथ्वीपति शाहको मूर्तिसहितको प्रस्तरको स्तम्भ यसको उदाहरण हो । पृथ्वीपति शाहको राम्रो सम्वन्ध कान्तिपुरसँग थियो ।

पृथ्वीपति शाह वि.सं. १७३५ को दशैं ताका नेपाल उपत्यकामा आई कान्तिपुरका राजा नृपेन्द्र मल्लसँग मीत समेत लाएका थिए । यसै बेला उनले राजा प्रताप मल्लसहितका मूर्तिहरु र प्रस्तर स्तम्भ देखेका थिए । यसको दुई वर्षपछि उनले पनि गोरखामा वि. सं.१७३७ को आषाढमा प्रस्तर स्तम्भ खडा गराई त्यसमाथि आफ्नो मूर्ति स्थापना गराएका थिए । वि.सं. १७४० माघमा मात्रै पाटनमा योगनरेन्द मल्लले प्रस्तर स्तम्भ खडा गराई त्यसमाथि आफ्नो मूर्ति राख्न लगाएका थिए । यसरी नै भक्तपुरमा राजा भूपतीन्द्र मल्लको मूर्ति कहिले राखियो भन्ने कुरा स्पष्ट भएको छैन । राजा पृथ्वीपति शाह कान्तिपुरमा आई मीत लगाउँदा सम्म भूपतीन्द्र भल्ल राजा भइनसकेको भन्ने आधारबाट पनि उनको त्यो मूर्ति पछि मात्रै स्थापना गरिएको हुनु धेरै संभव छ ।

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

दरबार होइन, प्रशासनिक भवन

ऐतिहासिक तथा पुरातात्विक तथ्यहरुले प्राचीन कपिलवस्तु एउटा सानो गणराज्य भएको बुझाउँछ, ‘बुद्धको दरबार’ भन्न त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *