Friday , July 19 2019

हनुमानढोेकाको काल भैरव

रानीवनमा भेटाइएको कालभैरवको सिंगो मूर्ति हनुमान ढोका दरवार परिसरमा राख्दाको संरचना कस्तो थियो भनेर त बुझिंदैन तर कालान्तरमा थुप्रै कुराहरु त्यसमा थपिएको देखिन्छ ।

बसन्त महर्जन

काठमाडौं उपत्यकाको समाजमा एकताका चोरी, ठगी, हत्याजस्ता मुद्दाहरु स्थानिय स्तरमा नै सुल्झाउनु पर्र्र्यो भने अभियुक्तलाई हनुमानढोका परिसरको विशाल प्रस्तरको कालभैरवको मूर्ति अगाडि उभ्याउने र कवूल गर्न लगाउने एउटा अचम्मको चलन थियो । कालभैरवको मूर्ति अगाडि यदि कसैले झूठो बोल्यो भने त्यो मान्छे रगत छादेर मर्ने विश्वासअनुसार यस्तो चलन चलाएको थियो । उक्त मूर्तिअगाडि पुगेपछि अभियुक्त यदि निर्दोषी रहेछ भने बिना हिच्किचाहत निर्दोष नै रहेको बोल्थे रे । तर दोषीले झुठो त के बोल्थ्यो, बरु थुरुथुरु कामेर अपराध कबूल गर्थे । कथंकदाचित मूर्तिअगाडि झूठो बोल्यो भने अब कालभैरवद्वारा नै दण्ड दिइने भयो भन्ने मानसिक त्रासले त्यहीं रगत छाडी मर्थे रे । यही कारण मान्छेहरुका लागि कालभैरवको मूर्र्ति साक्षात् न्यायमूर्ति थियो । यो प्रणाली २००७ सालसम्म प्रचलित रहेको कुरा स्थानिय बुढापाकाहरु सुनाउँछन् । यही विश्वासअनुसार केही अघिसम्म अदालतले पनि यसको पूजा गर्ने गरेको बुझिएको छ ।

कालभैरवको मूर्ति जगन्नाथ मन्दिरको उत्तर–पूर्व, देगु तलेजुको सीधै उत्तर, विलाशपुर मन्दिरको दक्षिण–पश्चिम तथा बाटोको छेवैमा रहेको छ । उत्तराभिमुख यो मूर्ति नेपालको प्रस्तर मूर्तिकलाको इतिहासमा बेजोड नमूनाको रुपमा रहेको छ । नेपालको साँस्कृतिक परम्परा अनुरुप यसलाई श्रद्धापूर्वक पुजिन्छ पनि । यस भैरवको मूर्तिमा पूजा गर्ने र प्रसाद लिने श्रद्धालुु भक्तजनहरु दिनभरि नै देख्न पाइन्छ । यहाँ भोगबली पनि दिन ल्याइन्छ । मूर्तिप्रति मान्छेहरुले दर्शाउने श्रद्धा र मूर्तिको कलात्मकताका कारण स्वदेशी तथा विदेशी पर्यटकहरु पनि आश्चर्य चकित हुन्छन् । नेपाल चिनाउने पत्रपत्रिका तथा पुस्तकहरुमा यो मूर्तिले पनि राम्रो स्थान पाएको छ ।

तर यस कालभैरवको मूर्तिको इतिहास भने स्पष्ट छैन । यो कुन समयमा बनाइएको र कसले बनाउन लगाएको भन्ने सम्वन्धमा पनि कुनै ऐतिहासिक सामग्री पाइएको छैन । यस सम्वन्धको अलिकति उल्लेख भाषा बंशावलीमा परेको छ । यसअनुसार राजा प्रताप मल्ल (ई.संं. १६२३–१६७४०) ले हनुमानढोका दरवारको भण्डारखालमा रहेको पोखरीमा पानी भर्न बूढानीलकण्ठदेखि ढल बनाउँर्दै ल्याउँदा बालाजुनिरको रानीवन भन्ने ठाउँमा जमिन मुनि पुरिएर रहेको अवस्थामा यो मूर्ति भेटाइएको थियो । र त्यही मूर्ति उठाएर हनुमानढोका दरवार परिसरमा राखिएको हो । यसबाट बुझिन्छ, यो मूर्ति मल्लकालको सुरु वा त्योभन्दा अघि नै निर्मित हो । नेपालमा शैव सम्प्रदाय किरातकालदेखि नै देखिन्छ र किरातकालमा निर्मित विरुपाक्षलगायतका केही मूर्तिहरु पाइएका छन् । कालभैरवको यो मूर्ति र पशुपति आर्यघाटको पश्चिममा रहेको ईस्वीको चौथो शताब्दीको मानिने विरुपाक्षको मूर्तिमा एउटै प्रभाव देखिन्छ । तर यस बारेमा अध्ययन हुनु जरुरी छ । किरातकाल, लिच्छवीकाल वा अन्य समयका पछि भेटिने वा विद्यमान मूर्तिहरुको शैली, प्रवृत्ति आदिको तुलनात्मक अध्ययनबाट यो मूर्तिको निर्माणकालबारे यकिन गर्न सकिन्छ ।

कालभैरवको मूर्तिको उल्लेख्य पक्ष भनेको एउटै सिंगो प्रस्तरबाट नौ हात उचाईमा बनाइएको छ । यति विशाल मूर्तिहरु नेपालमा कमै मात्र पाइएको छ । लिच्छवीकालमा विष्णु गुप्तको शासनकालमा बूढानीलकण्ठमा विशाल जलशयनी नारायणको मूर्ति निर्माण भएको कुरा  (बज्राचार्य,       )  यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन आउँछ जुन कालभैरवको मूर्तिभन्दा केही ठूलो तर सुतेको अवस्थामा छ ।

भैरवलाई भगवान शिवका १०० अवतारहरुमध्ये एक अवतारको रुपमा लिइन्छ । यो रौद्र रुपको हो । हनुमानढोकामा रहेको कालभैरव पनि त्यही रुपमा रहेको छ । उत्तानो परेर सुतेको बेतालको शरीरमा कुल्चेर उभिरहेको कालभैरव भयंकल रुप मुद्रामा छ । यसका ६ हात छन् र माथिल्ला दुई हातले खड्ग र ढाल बोकेको छ भने वीचका दुई हातमध्ये एउटाले पात्र ख्वला (कपाल ) लिएको र अर्कोले विन्दू मुद्रा लिएको छ । यसरी नै तलका दुई हातमा त्रिशूल र तीनवटा नरमुण्ड झुण्ड्याइरहेका छ । कालभैरवको मुकुट खप्परले लहरै सिंगारिएको छ । मुकुटको किनारमा चार खंजर पनि जडिएका छन् र मध्य भागमा नरमुण्ड । निकै ठूल्ठूला र तेजिला दुई आँखा र आ“खीभुइ“ अग्नि ज्वालाको रुपमा ररँदा यो अझ भयंकर देखिएको हो । पेट फुलेको र खुट्टा छोटो देखिन्छ ।  भैरवको आँखा र ओंठ यसरी नै बनाइएको छ जसमा हँसिलो मुहार प्रष्ट सँग नै झल्किन्छ र खुशीले नाचिरहेका आभास हुन्छ । तन्किएको मांशपिण्डको झलक प्रस्तरमूर्तिमा देखिनु कलाकारको उत्कृष्ट कलाकारिता प्रदर्शित हुनु हो ।

रानीवनमा भेटाइएको कालभैरवको सिंगो मूर्ति हनुमान ढोका दरवार परिसरमा राख्दाको संरचना कस्तो थियो भनेर त बुझिंदैन तर कालान्तरमा थुप्रै कुराहरु त्यसमा थपिएको देखिन्छ । हाल यो मूर्ति ठड्याउन पछाडि गारो उठाइएको छ । चार वटा खम्वा उठाएर छाना पनि हालेको छ र छानामाथि धातुका गजूरहरु छन् । यी लगायत मूर्तिसम्म पुग्ने उक्लिने पेटीमा पनि मार्वल लगाइएको छ  । यसरी नै मूर्तिको माथि सिंह वा कसैको मुखाकृति पनि पछि मात्रै थपएिको देखिन्छ । यो आकृति र यसस“ग जोडिएको अर्को शिलाले मूल मूर्तिलाई घेरिएको थियो तर मार्बलबाट मुखाकृति बाहेक सबै छोपिएको छ । यसरी नै मूर्तिको दायाँबायाँ कुनै समय त्यहाँ राख्न ल्याइएको चन्द्र र सूर्य हाल झिकिएका छन् । पहिले मूर्तिको अगाडि दायाँबायाँ दुइटा साना साना सिंहका मूर्ति मात्रै थिए भने हाल त्यसलाई ओझेलमा पार्ने गरी ठूल्ठूला प्रस्तरको सिंहको मूर्ति थपिएको छ ।

प्रस्तर मूर्तिकलामा रंग लगाउने प्रवृत्ति नेपाली होइन । यो चलन भारतलगायत अन्यत्र पनि पाइ“दैन । कलाकारले प्रस्तर मूर्तिमा नै कला सिर्जना गरिसकेको हुने हु“दा त्यसमाथि पुनः रंग लगाउँदा कलाको हत्या हुने भएकोले यस्तो गरिएको बुझ्न सकिन्छ । तर हाल कला नबुझ्ने र जसलाई पनि रंगीचंगी बनाउँदा आकर्षक हुन्छ भन्ने मानसिकताले जताततै राम्रा राम्रा प्रस्तर मूर्तिहरुलाई रंगाउने गलत प्रवृत्ति वा विकृतिले ठाउँ लिएको छ । यो अज्ञानताको शिकार कालभैरबको मूर्ति पनि भएको छ । यस मूर्तिलाई सिंगार्ने नाममा हाल रातो, नीलो हरियो, पहे“लो जस्ता इनामेल रंग लगाइँदा प्रस्तर मूर्तिको अध्ययन गर्नेहरुलाई व्यवधान खडा गरिदिएको छ । यो मूर्ति राजा प्रताम मल्लभन्दा अघिको भन्ने प्रमाण भएपनि रंगले छोपिएका कारण कसै कसैले पर्यटकीय आकर्षणका लागि हिजोआज मात्र यहाँ निर्माण गर्न लगाइएको होला भनेर बुझ्ने वा अबुझहरुबाट यसरी नै व्याख्या गरिदिने संभावना पनि नभएको होइन । इनामेलका कारण प्रस्तरको गुणलाई असर पार्ने संभावना पनि उत्तिकै हुन्छ । नेपाली कला र कालभैरवको मूर्ति जोगाउन मूर्तिमा लगाइएको इनामेल हटाउनु टड्करो आवश्यकता देखिन्छ । एक समय कुमारी घरलगायत अन्य नेपाली वास्तुकलाले युक्त भवनहरुलाई पनि सिंगार्ने नाममा सेतो रंग पोतिदिएको थियो तर पछि यसले गर्दा कला पक्ष छोपियो भनेर धेरै मेहनत गरेर रंग हटाएको घटना यहा“ स्मरणीय छ ।

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

दरबार होइन, प्रशासनिक भवन

ऐतिहासिक तथा पुरातात्विक तथ्यहरुले प्राचीन कपिलवस्तु एउटा सानो गणराज्य भएको बुझाउँछ, ‘बुद्धको दरबार’ भन्न त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *