Tuesday , November 12 2019

पालुंगो साग विश्वलाई नेपालको उपहार

  • शुक्रसागर श्रेष्ठ
तेपेपलः

अंग्रेजीको ‘इन्भेसन’ र ‘डिस्कभरी’ दुवै शब्दको अर्थ नेपालीमा ‘आविष्कार’ ले बोकेको छ । आविष्कार भनेको नयाँ वस्तु फेला पार्नु मात्र नभई प्रकृतिमा उपलब्ध अनगिन्ती वस्तु चिनेर उपयोगमा ल्याउनु पनि हो । यस हिसाबले कुनै पनि समाज एउटा न एउटा आविष्कारको मालिक हुन्छ । यहाँ नेपाली समाजको एउटा आविष्कारको चर्चा गर्न यति भूमिका बाँधिएको हो । त्यो हो– आज विश्वभरका ‘टप सेफ’ हरूले उच्च महत्व दिइरहेको सागमध्ये एक पालुंगो ।

छिटो हुर्कने र डाँठ समेत नरम हुने भएकाले पालुंगो हरियो सागपातमध्ये उत्तममा गनिन्छ । काठमाडौं उपत्यकामा उच्च वर्गको चुलोमा पाक्ने पालुंगो चम्सुरसँग मिसाएर खाने चलन छ । बास्ना र स्वादमा च्वास्स पार्ने यी दुईको मिश्रण काठमाडौंमा खूबै नामी छ । तराईतिर भने यो ‘पालक’ लाई बास्नाको निम्ति सोआ (सुप) को सागसँग मिसाएर ‘सोआपालक’ खाने चलन छ । खानपानमा हुने आ–आफ्नै स्वाद, संस्कार र मिठास यसले देखाउँछ ।

उत्तरी भारतका हरियाणा र पंजाबमा पालकपनिर भनेपछि शाही खाना मानिन्छ । गन्यमान्य व्यक्ति र खास अतिथिलाई दाख (सुकाएको अंगुर), सुकुमेल, काजू, पनिर र पालुंगो मिसाएको पालकपनिरसँग मकैको रोटी दिने त्यहाँको चलन छ । ‘पालकपनिरके साथ मक्केका रोटी हो तो और क्या चाहिए ?’ भन्छन्, पंजाबी र हरियाणाका जाटहरू ।

यूरोपेलीहरू पिज्जामा पालुंगोको प्रयोग खूबै गर्छन् । शाकाहारी यूरोपेलीबीच पिंधेको पालुंगोमाथि चिजको धूलो छर्केको पिज्जा औधी लोकप्रिय छ । सालमन माछा र पालुंगो मिसिएको पिज्जाको स्वाद वर्णन गरेर थाक्दैनन्, मांसहारी यूरोपियनहरू । विशेषतः जर्मनहरू स्पिनाट पिज्जा भनेपछि हुरुक्कै हुन्छन् । अरब राष्ट्रहरूमा पनि पालुंगोको त्यतिकै मानमनितो र माग छ । यसरी पालुंगो हरियो सागपातमा जताततै उच्च स्थान ओगटेर अधिकतम खेती र उपयोगमा छ ।

पालुंगोको खोजी
कुरो सन् २००८ को हो, पुरातत्व विभागका महानिर्देशक रहेका मेरा साथी विष्णुराज कार्कीलाई चीनको प्राचीन राजधानी शियानमा युनेस्कोले गर्न लागेको रेशममार्ग सम्बन्धी सम्मेलनमा भाग लिन जानुपरेछ । कामको बोझ् र समयाभाव झ्ेलिरहेका उनले मलाई बोलाएर घिच्याउँदै रेशममार्गमा तानिदिए, लौन रेशममार्गबारे दुई÷चार पृष्ठ लेखिदेऊ, प्लेनमा पढ्दै जान्छु भन्दै ।

समय केवल एकहप्ता बाँकी थियो, म अलमल परें । तैपनि, साह्रै सहयोगी साथी माधवलाई सम्झ्ेर मण्डला बूक प्वाइन्ट गएँ । उनले ‘फरेन डेभिल्स इन सिल्करोड’ खोजेर दिए । सिल्करोड बुझन पढेको त्यही पुस्तकमा पहिलो पटक एक हरफ भेटेको थिएँ, पालुंगो नेपालबाट चीन पुगेको प्रसंग ।

पुरातत्वबाट निवृत्त भएको फुर्सदमा थिएँ, रेशममार्गबारे जिज्ञासा बढ्दै गयो, पढ्दै गएँ । त्यहीबीचमा मध्य एशियाका तुर्कमेनिस्तानको राजधानी अस्काबाद् र किर्गिस्तानको विश्केक भ्रमण गर्ने अवसर जु¥यो । त्यो भ्रमणपछि प्राचीन रेशममार्गबारेको जिज्ञासा झ्न् बढ्यो । मेरी श्लसरको नेपाल मण्डल, जोनाथन क्लीमेन्सको ‘दि सिल्करोड बायोग्राफी’, एडवार्ड शेफरको ‘गोल्डेन पिचेज अफ समरकन्द’ लगायतका पुस्तकहरूमा पालुंगो नेपालबाट चीन पुगेको कुरा छुटेको थिएन ।

यता हाम्रो नेवार समाजमा माघेसंक्रान्तिका दिन घ्यू र चाकुका साथ पाटने पालुंगो यलेपलः खानैपर्ने संस्कार छँदै थियो, छ । पाटनका नेवारहरू त तेपे थरकाहरूले उमारेको तेपेपलः पनि खान्थे, पाएसम्म अहिले पनि खान्छन् । माघेसंक्रान्तिमा माग बढ्नाले तेपेपलको मूल्य र शानमान उच्च हुन्थ्यो, हुन्छ ।

तेपे र व्यञ्जनकार
लिच्छविहरूको विजयपछि सबका सब किरात कोशीपारि पुगेका थिएनन्, केही उत्तरपूर्वी पाटनमा बसेका थिए । त्यो टोलको नाम च्यासःत्वा (च्यासल टोल) हुन पुगेको, त्यो टोलवासी तेपे कहलिएको र खानपानका सिपालु तिनीहरू नै कालान्तरमा व्यञ्जनकार भएको विश्वास नेवार समाजमा छ । र, तिनीहरू नै थिए, जंगली पालुंगो चिनेर सर्वप्राचीन प्रयोग गर्ने आविष्कारक । काठमाडौं उपत्यकामा पालुंगोलाई लोकप्रिय बनाएका तेपेहरू पाटनको च्यासल टोलदेखि शंखमूलसम्म फैलिएको मलिलो वागमती फाँटमा पालुंगो खेती गर्थे ।

फ्यांय् पलः

त्यही पालुंगो सन् ६४७ मा नेपालको सौगातको रूपमा चीन पुगेको कुरा ताङ्ग वृत्तान्तमा उल्लेख छ । यसबारे नेपाली इतिहासमा कुनै लेखोट नभए पनि संस्कृति र कृषि उत्पादनको कर प्रथाले त्यही पुष्टि गर्छ । पाटनको भीमसेनस्थानमा पाइएको लिच्छविकालीन अभिलेखमा लसुन र प्याजको कर माफी गरिएको व्यहोरा छ । यो भनेको काठमाडौंमा सागपातको विकासको चित्रण पनि हो, जसमा पालुंगो नहुने कुरै भएन ।

अंशुवर्माको मृत्युपछि शक्तिशाली बनेका जिष्णुगुप्त र विष्णुगुप्तको षडयन्त्रमा टिक्न नसकेका राजा उदयदेव शरण लिन चीन पुगेका थिए । उनका छोरा नरेन्द्रदेवले चिनियाँ सहयोगबाट आफ्नो गुमेको राजगद्दी फिर्ता लिए । यसबारे इतिहासमा प्रष्ट लेखोट नपाइए पनि पाटन म्युजियम रहेको केशवनारायण चोकको शिलापत्रमा यो छनक पाइन्छ ।

उनै राजा नरेन्द्रदेवको पालामा चिनियाँ यात्री वाङ्हुयेन्चेले सन् ६४३–६६० बीचमा नेपाल हुँदै तीनपटक भारत ओहोर–दोहोर गरेका थिए । नरेन्द्रदेवले चिनियाँ बादशाहलाई तिनै यात्रुको हातमा पालुंगो सौगात पठाएका थिए । त्यही पालुंगो चीनबाट रेशममार्गहुँदै अरब राष्ट्र र यूरोप पुग्यो ।

पालुंगोको डोमेष्टिकेशन
काठमाडौं उपत्यकामा तीन प्रकारका पालुंगो पाइन्छ– फ्यांय्पलः, तुकिपलः र तेपेपलः । भुईंमा झ्ुप्प परेर हुर्किने फ्यांय्पल हेर्दा जंगली अवस्थाकै जस्तो देखिन्छ र तिक्खर स्वादको हुन्छ । अहिले बजारमा यत्रतत्र पाइने तुकिपल हो । तेपेपलः चाहिं सबभन्दा अग्लो र मोटो हुन्छ । जति बढी ‘डोमेष्टिकेशन’ भयो उति नै परिष्कृत र ठूलो हुँदै जानु प्राकृतिक नियम नै हो ।

राणाकालसम्म तेपेबाहेक अरू समुदायले पालुंगो खेती गर्न पाउँदैनथ्यो । त्यस्तै सहुलियत भनौं या बन्देज, भक्तपुरेहरूलाई मात्र थियो अदुवा खेतीको अनुमति । जातपातको हिसाबले कसिलो नियन्त्रण रहेको त्योबेला अरूले गर्न नहुने भनेपछि ‘गर्न नहुने’ मात्र मानिन्थ्यो र मत्यः (हुँदैन) भनेपछि पुग्थ्यो ।

(साभारः हिमाल साप्ताहिक)

About discovery4p

Check Also

दरवार आफै चेलिबेटी बेचबिखनमा

कुनै अर्को राज्यमा आफ्नो राज्यका चेलिबेटीहरुलाई उपहारका रुपमा पठाइने कुरा त अन्यत्र मुलुकहरुमा पनि पाइन्छ …

माटो र छालाको पनि पैसा !

एक ताका कौडी, चक्कू, सिप्पी आदिलाई मुद्राको रुपमा पनि प्रयोग गरिन्थ्यो भन्ने मुद्राको प्रारंभिक इतिहास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *