Friday , July 19 2019

सार्वजनिक अभिलेखालय आशा सफूकुथि

नेपालको प्राचीन ग्रन्थहरू विदेशिने क्रमलाई जोगाउन व्यक्तिगत रुपमा दशबीस वर्षको प्रयासले भएको ग्रन्थ संग्रह गर्ने कार्यको संगै विद्वान तथा अध्ययन अनुसन्धान गर्नेहरूलाई सहयोग गर्ने पुनित लक्ष्य राखेर यो आशा  सफूकुथि स्थापना गर्ने काम भएको थियो ।

  • शरद कसाः

परिचय

आशा सफूकुथि नेपालको प्राचीन ग्रन्थहरू संग्रह गरी स्थापना गरिएको एक सार्वजनिक अभिलेखालय हो । सफूकुथिको नाम स्व. प्रेमबहादुर कंसाकारका पिता स्व. आशामानसिंह कंसाकारको नामबाट राखिएको हो । स्व. प्रेमबहादुर कंसाकार एक प्रसिद्ध आन्दोलनकारी, समाजसेवी, शिक्षाविद् र साहित्यकार हुनुहुन्छ । उहाँले विभिन्न सामाजिक, सांस्कृतिक, साहित्यिक र शैक्षिक संघसंस्थाहरू स्थापना गर्नुभएको थियो । आशा सफूकुथिको प्रायःजसो प्राचीन ग्रन्थहरू स्व. प्रेमबहादुर कंसाकारले आफूले संग्रह गरेर वि।सं।२०४२ श्रावण ३२ गते शुक्रवारको दिन च्वसापासा संस्थालाई हस्तान्तरण गर्नु भएको थियो । यो संगसंगै आशा सफूकुथि संचालन गर्नको निमित्त एउटा ‘बोर्ड’ पनि गठन गर्नुभएको थियो । उहाँले संकलन गर्नु भएको संग्रहमा उहाँका शुभचिन्तकहरूले दान दिनुभएको अमूल्य ग्रन्थ र ताडपत्र पनि थप्ने काम भयो । स्व।कंसाकारको अमेरिकन विद्यार्थी इयान अल्सप, धर्मरत्न वज्राचार्य, गुरूशेखर राजोपाध्याय, ज्ञानरत्न उपासक, पूर्णवीरसिंह कंसाकार आदि दाताहरूले पनि आफुले संग्रह गरेका ग्रन्थ दान दिनुभएर यो सफूकुथिलाई सहयोग गर्नु भएको थियो ।

वि.सं. २०४४ मार्ग २१ गते सोमवारका दिन जापानको टोयोटा फाउण्डेशनको कार्यकारी अध्यक्ष प्रोफेसर यूजिरोहायाशिले यो सफूकुथिको उद्घाटन गर्नुभएको थियो । त्यही दिनदेखिनै सफूकुथि सर्वसाधारणको लागि खुलेको हो । काठमाडौंको रक्तकालीमा अवस्थित सफूकुथिको भवन खरिद गर्नको लागि, मर्मत संभार र आवश्यक सामग्रीहरू जुटाउनको लागि टोयोटा फाउण्डेशनले दिल खोलेर आर्थिक सहयोग गरेको थियो ।

उद्देश्य

नेपालको प्राचीन ग्रन्थहरू विदेशिने क्रमलाई जोगाउन व्यक्तिगत रुपमा दशबीस वर्षको प्रयासले भएको ग्रन्थ संग्रह गर्ने कार्यको संगै विद्वान तथा अध्ययन अनुसन्धान गर्नेहरूलाई सहयोग गर्ने पुनित लक्ष्य राखेर यो आशा  सफूकुथि स्थापना गर्ने काम भएको थियो । सफूकुथिको मुख्य लक्ष्य यस प्रकार छन् —

  •  जनस्तरको प्रयासले नेपालमा प्राचीन एवं अमुल्य ग्रन्थहरू संग्रह गर्ने ।
  •  नेपालका प्राचीन सम्पदाको अध्ययन गर्नलाई आवश्यक अमूल्य यस्ता प्राचीन ग्रन्थको संरक्षण गर्ने ।
  •  सबैले हेर्न सकिने ग्रन्थ सूची–क्याटलग बनाई प्राचीन ग्रन्थको अभिलेख राख्ने ।
  • यसलाई अध्ययन अनुसन्धानको लागि विद्वान एवं अन्वेषकहरूलाई उपलब्ध गराउनुको साथै विभिन्न किसिमको प्रकाशनको माध्यमले प्रकाश पार्ने ।

ग्रन्थ पुस्तक संकलन

यस सफूकुथिमा विभिन्न प्रकारका अमुल्य ताडपत्र, पुथि र हस्तलिखित पाण्डुलिपि ग्रन्थहरू संग्रहित छन् । यहाँ संग्रहित सात हजारभन्दा बढी ग्रन्थ नेपालको विभिन्न जाति तथा सम्प्रदायसित सम्बन्धित छन् । यस मध्ये प्राय गरेर पूजाआजा, औषध विज्ञान, जादू र तन्त्रमन्त्र, ज्योतिषी, खगोल विद्या, वेद, पुराण, शैव, बौद्ध र शाक्त सम्प्रदायका तान्त्रिक पुस्तकहरू समावेश छन् । महायान र वज्रयान सम्प्रदायका ग्रन्थहरू पनि धेरै छन् । धार्मिक र अन्य निर्माण सम्बन्धी प्राविधिक र सांकेतिक नक्सा र वास्तुकलाको सुन्दर डिजाइनको साथै अत्यन्त राम्रा र कलात्मक ढंगले लेखिराखेको चित्र भएका ग्रन्थहरू पनि छन् । यो सफूकुथिको सबभन्दा अमूल्य पक्ष भनेको शायद नेपालभाषाको साहित्यिक ग्रन्थ, भजन, गीत, नाटक, लोककथा, ज्ञानगुणका कुराभएको कथा र बौद्ध अवदानहरू हुन् । संस्कृत, नेपालभाषा, मैथिली र नेपालीभाषामा लेखिएको हस्तलिखित लिपिको अत्यन्त राम्राराम्रा नमूनाहरू देख्न सकिन्छ ।

आशा सफूकुथिमा नेपालभाषाका सबैजसो मुद्रित पुस्तक र पत्र–पत्रिकाहरू संग्रह गरिएका छन् । साथै नेपालबारे अंग्रेजी र अन्य भाषाले लेखिएका पुस्तकहरूको एक लघुसंग्रह पनि छन् । जुन काठमाडौं उपत्यकाको संस्कृति र प्राचीन सम्पदाको अध्ययन अनुसन्धान गर्नलाई यो उपयोगी हुन आउँछ । यस्ता पुस्तकहरू करीव आठसय छन् भने नेपालभाषाको पुस्तक करिब दुईहजार आठसय जति छन् ।

ग्रन्थको सूची

यहाँ संकलित सबै ग्रन्थहरूलाई क्रमबद्ध तरिकाले राखिएको र विवरण भएको ग्रन्थसूची सफूकुथिमा छन् । हाललाई ब्यवहारमा ल्याउन विभिन्न तरिकाले ग्रन्थ सूची बनाई राखिएका छन् । पुस्तक संख्या, धर्म, भाषा र जाति समुदायमा वर्गीकरण गर्दै आवश्यक सूचना समेत भएको ग्रन्थसूची यहाँ उपलब्ध छन् । यसको कार्ड पनि बनाइएको छ । यहाँ संग्रहित ताडपत्रको छोटो विवरण समावेशगरी एक हजार वटा ताडपत्रको क्याटलग कार्ड पनि बनाईएको छ । त्यस्तै विभिन्न ग्रन्थ सूची पनि प्रकाशित छन् ।  चाल्र्स एम. नोवाकले बनाउनु भएको A Catalogue of the Selected Buddhist Manuscripts in the Asha Archives. 1986  हो । सन् १९८६ मा भएको १८औं बौद्ध सम्मेलनको बेला यो प्रदर्शन गरिएको थियो । अर्को “आशा सफूकुथिया अभिलेख ग्रन्थया वर्णनात्मक धलः” नामको ग्रन्थसूची पुस्तक डा. जनकलाल बैद्य र प्रेमबहादुर कंसाकार (काठमाडांै, च्वसापासा १९९१) द्वयले तयार पार्नु भएको थियो । सफूकुथिमा भएको ग्रन्थमध्ये सबभन्दा मूल्यवान ५४७ वटा ग्रन्थको यो विवरणात्मक सूची हो । त्यस्तै क्याटलग भैसकेको पाँच हजार तीन सय ८२ वटा ग्रन्थको छोटकरी विवरण राखेर बनाइएको “आशा सफूकुथिया सपूm धलः” पुस्तक राजा शाक्यको सम्पादनमा वि.सं.२०५७ मा प्रकाशित भैसकेका छन् ।

प्राचीन ग्रन्थको संरक्षण

नागोया, ‘जापानको बुद्धिष्ट लाइबे्ररी अफ जापान’ संग मिलेर आशा सफूकुथिमा भएको प्राचीन ग्रन्थहरू कम्प्युटरमा डेटाबेस प्रोग्राम बनाई सिडी रोममा संग्रह गर्ने कार्य सन् १९९७ देखि शुरु भयो । प्रथम चरणमा पाँच हजार तीन सय ९ वटा ग्रन्थपुस्तको स्क्यान गरी कम्प्युटरमा राखी सन् १९९९ मा संग्रह गर्ने कार्य सम्पन्न भएको थियो । दोस्रो चरणको कार्य २००३ जनवरीदेखि शुरु गरी वर्षको अन्त सम्ममा  एक हजार सात सय १६ वटा ग्रन्थको डिजिटल क्यामेराबाट फोटो लिएर डिजिटल प्रविधिबाट कम्प्युटर सिडी रोममा समावेश गरी कूल सात हजार २५ वटा ग्रन्थको संरक्षण कार्य सम्पन्न भएको थियो । यो योजना जापानका ‘बुद्धिष्ट लाइबे्ररी’ को प्रमुख स्यूचो ताकाओकाज्यूको पहल र सहयोगमा भएको थियो । यो योजनाअन्तर्गत जम्मै ग्रन्थ र त्यसभित्र भएका चित्र, चित्रावली संगै कम्प्युटरको माध्यमबाट अध्ययन गर्न सकिन्छ ।

आशा सफूकुथिमा अर्को महत्वपूर्ण संग्रहमा मध्यकालको ताडपत्र, तमसुक रहेका छन् । करिब एक हजार दुई सय जतिको संख्यामा रहेको यस ताडपत्र संरक्षणको लागि ‘पेपर कन्जर्भेटर्स एशिया अनलिमिटेड’को सहयोगमा सर्वप्रथम सन् २००५ को जुलाई ११ तारिखको दिन Conservation And Preservation Of Paper And Palm leaf Manuscript Collections In Nepal नामक गोष्ठी गरेर पहिलो चरणमा चार सय वटा ताडपत्रको संरक्षण र डिजिटल फोटो लिने कार्य सम्पन्न भयो ।

त्यस्तै सन् २००६ नोभेम्वरको ८ तारिखको दिन गोष्ठी गरी दोश्रो चरणको संरक्षण कार्य शुरु भयो । यस गोष्ठीमा केन्द्रीय पुस्तकालय ९त्रिभुवन विश्वविद्यालय०, नेपाल नेशनल म्यूजियम, नेपाल नेशनल आर्काइभ्स, नेपाल नेशनल लाइबे्ररी र द केशर लाइब्रेरीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । दोश्रो चरणमा पनि चार सय वटा ताडपत्र तमसुकको संरक्षण तथा डिजिटाइज्ड गर्ने कार्य सम्पन्न भएको थियो भने अहिले सम्ममा कूल आठ सय वटा ताडपत्रको संरक्षण कार्य सम्पन्न भएको छ । बाँकी रहेको चार सय वटा ताडपत्रको संरक्षण कार्य सन् २००७ को नोभेम्वर महिनामा शुरु भएको थियो । यस प्राचीन ताडपत्र संरक्षण कार्यमा पेपर कन्जर्भेटर्स एशिया अन लिमिटेडका कन्जर्भेटरहरू नाओको ताकागी, रेईको माएदा र योरिको चुदोको विशेष पहल एवं सहयोग प्राप्त भएका हुन् ।

सफूकुथिको नव निर्मित भवन

आशा सफूकुथि नेपालको एकमात्र सार्वजनिक अभिलेखालय हो । जनस्तरबाट स्थापना गरिएको यो अभिलेखालयमा सात हजारभन्दा बढी सयौं वर्ष पुराना अमूल्य प्राचीन ग्रन्थ संग्रह गरी आधुनिक तरिकाबाट कम्प्युटर सिडी रोम बनाई संरक्षण गर्ने र त्यसको अध्ययन अनुसन्धान गर्ने स्वदेशी तथा विदेशी विद्वानहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । नेपालका भाषा, साहित्य, संस्कृति, धर्मको एक पवित्र मन्दिर भैरहेको यस अभिलेखालयको पुरानो भवन जीर्ण अवस्थामा भएकोले हाम्रो राष्ट्रिय सम्पदाको रूपमा रहेको पाण्डुलिपि, थ्यासपूm, पुथिग्रन्थ, नीलपत्र, ताडपत्र आदि लगायत नेपालभाषाका मुद्रित आधुनिक सहित्यका असंख्य पुस्तकहरू र नेपालसम्बन्धी अनुसन्धानात्मक पुस्तक तथा शोधपत्रहरू अशुरक्षित अवस्थामा थियो । अतुलनीय सम्पदा सुरक्षित गर्न आफ्नै जग्गामा एक नयाँ भवन निर्मार्ण कार्य २०६१ साल असोजमा थाली हाल संचालित छ ।

सफूकुथिको संचालन व्यवस्था

नेता पद्मरत्न तुलाधरको अध्यक्षतामा १६ सदस्यीय एक “आशा सफूकुथि गुथि” को व्यवस्था गरिएको छ । यस गुथिले वार्षिक बजेट स्वीकृत गर्नुको साथसाथै अन्य कार्यक्रम र नीति नियम बनाउँछ । गुथिको अध्यक्ष, कोषाध्यक्ष, पुस्तकालयाध्यक्ष, च्वसापासाको प्रतिनिधि, संस्थापक स्व।प्रेमबहादुर कंसाकारको परिवारबाट एक प्रतिनिधि र गुथिका सदस्यबाट एकजना सदस्य समावेश भएको स्थायी समिति दैनिक कार्य संचालनको लागि गठन गरिएको छ ।

वृत्तिदानद्वारा आएको सहयोग, चन्दा र अन्य शुल्क आदि यो सफूकुथिको आर्थिक आधार हो । गुथिद्वारा मनोनित सरकारी दर्तावाल एक लेखा परीक्षकद्वारा वर्षेनी गुथिको हिसाब किताबको लेखापरीक्षण गर्ने गरिन्छ ।

सफूकुथिको सेवा

आशा सफूकुथिले विद्वान र अन्वेषकहरूलाई दिंदै आइरहेको उल्लेखनीय सेवा भनेको पुस्तक पढ्नु र त्यसको फोटो कपी लिनु, त्यस्तै प्राचीन ग्रन्थको कम्प्युटर लेजर प्रिन्ट लिनु प्रमुख सुविधा हो । डिजिटाइज्ड गरिएका  प्राचीन ग्रन्थको सिडी कपि गर्ने सुविधा पनि उपलब्ध छ । विगत बीस वर्षभित्र अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, स्वीडेन, हल्याण्ड, जापान,  भारत, अस्ट्रेलिया र थाइल्याण्डका साथै नेपालका विद्वानहरूले समेत आशा सफूकुथिमा आउनु भई यहाँ उपलब्ध सुविधाबाट लाभान्वित भएका छन् । यी विद्वानहरूमध्ये केही उल्लेखनीय नाम यस  प्रकार छन् — डा. डेभीड गेल्नर,  डा. लिन्दा इल्टिस,  के. नोर्टन, डा. अलेक्जेण्डर रोस्पात, जि. डब्लु. फारो, जेसिका बिर्केन्टोल्त्स, सिनोबु यामागुचि, मुसासि ताचिकावा, बनारसीलाल, एस. एस. बहुलकर, विद्यानाथ उपाध्यायभट्ट, ऐश्वर्यधर शर्मा, बिनायक लोहनी, डीना बाङ्गदेल,  बेन्जु शर्मा,  डा. जनकलाल बैद्य, शुक्र सागर श्रेष्ठ, बलदेव जुजु, डा. नरेशमान बज्राचार्य आदि हुन् ।

यी बाहेक दैनिक रूपमा पुस्तक, पत्रपत्रिका, जर्नल आदिको पठनपाठन र अध्ययन गर्न आउनु हुने पाठकहरू पनि छन् । त्यस्तै विभिन्न तह र संकायका विद्यार्थीहरू पनि विभिन्न विषयमा अध्ययन गर्ने सिलसिलामा यस आशा सफूकुथिमा आउने गरेका छन् । वार्षिक रूपमा यी पाठकहरूको संख्या लगभग छ सयको हाराहारीमा छन् ।

सफूकुथिको योजना र समस्या

यस सफूकुथिमा अध्ययन अनुसन्धान गर्नको लागि आउनु हुने पाठकवर्गहरूलाई समयअनुसार अझ बढी सुलभ र वैज्ञानिक तरिकाले सेवा उपलब्ध गराउनु नै यसको प्रमुख योजना र कार्यक्रम रहेको छ । जनस्तरबाट निर्मित यस सफूकुथिमा पुस्तकालयसम्बन्धी ज्ञान भएका दक्ष कर्मचारीको अभाव हुनु र भएका कर्मचारीहरूलाई पनि आवश्यक तालिम दिन सके प्राचीन ग्रन्थको संरक्षण कार्यमा अझ बढी टेवा पुग्ने थियो । पुस्तकालयको भौतिक संरक्षण तथा सुरक्षाको दृष्टिकोणले यसलाई कालान्तरसम्म जोगाई राख्न अति आवश्यक भएको छ । तर नेपाल सरकारको कुनै निकायबाट अहिलेसम्म पनि कुनै सहयोग नहुनु तथा अर्थोभावले सफूकुथि संचालनमा समेत बाधा पर्नु यसको प्रमुख समस्या हुन् ।

उपसंहार

यसरी हाम्रा प्राचीन अभिलेख, ग्रन्थ संरक्षण गर्ने, त्यसको अध्ययन अनुसन्धान गर्नुको निमित्त देश विदेशका विद्वानहरूलाई सहयोग गर्नु र यसको माध्यमले हाम्रो राष्ट्रको भाषा, साहित्य, संस्कृति, कला, धर्म आदि सम्पदाको संरक्षण गर्ने उच्चआकांक्षा राखी आशा सफूकुथिद्वारा कार्य गर्नु भनेको राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण कुरो मान्न सकिन्छ । हाम्रो राष्ट्रको स्वतन्त्र अस्तित्वको एक बलियो आधार यसलाई पनि लिन सकिन्छ । त्यसैले यतिका महत्व भएको हाम्रो प्राचीन सांस्कृतिक सम्पदाको संरक्षण गरी राख्ने काम सरकारी स्तरले मात्र होइन जनताको स्तरले पनि गर्नु परेको छ । प्रेमबहादुर कंसाकारको विशेष प्रयासले र त्यसमा अरुहरूको पनि सहयोगले हजारौं प्राचीन अमुल्य ग्रन्थ र अभिलेख संग्रह गर्ने कार्य अनि त्यसकै संरक्षणको निमित्त यो आशा सफूकुथि स्थापना गर्ने कार्य यो क्रममा जनस्तरले भएको एक अत्यन्तै सह्राहनीय काम हो । यो काममा हामी सबैले सक्दो सहयोग गरेर यसलाई अझ व्यवस्थित गर्न सके यो एउटा उदाहरणीय देश सेवाको काम हुन जान्छ ।

(लेखक कसाः आशा सफूकुथिका पुस्तकालयाध्यक्ष हुन् )

About discovery4p

Check Also

दरबार होइन, प्रशासनिक भवन

ऐतिहासिक तथा पुरातात्विक तथ्यहरुले प्राचीन कपिलवस्तु एउटा सानो गणराज्य भएको बुझाउँछ, ‘बुद्धको दरबार’ भन्न त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *