Tuesday , February 19 2019

तीजको रहर आयो बरि लै

विसङ्गती र विकृतिहरूको बढ्दो प्रभावका वावजूद पनि तीज एक राष्ट्रिय महत्वको पर्व हो । तर आजको एक्काइसौ सताव्दीमा पतिको आरोग्यताको सट्टामा महिला सशक्तिकरण तथा सौहार्दताका रूपमा यस पर्वलाई रूपान्तर गरेर लैजाने चुनौति भने महिलाहरूको काँधमा रहेको छ 


बीरेन्द्र श्रेष्ठ

नेपालमा मनाइने प्रमुख चाडमध्ये हरितालिका तीज पनि एक हो । यो पर्व भाद्र शुक्लपक्षको तृतीयाको दिन मनाइन्छ । भाद्रपक्षको चतुर्थीलाई गणेश चतुर्थीको रुपमा मनाइन्छ भने त्यसलगत्तै आउने पञ्चमीलाई ऋषि पञ्चमीको रूपमा हिन्दु महिलाहरू्द्वारा विशेष उल्लासका साथमनाइन्छ । समाजमा प्रचलित व्यावहारिक प्रचलनअनुसार तीजकै प्याकेज पर्वको रूपमै ऋषिपञ्चमीलाई पनि मनाईन्छ । दुबै पर्वहरूमा व्रत नाचगानका साथ सम्पन्न गरिन्छ ।

हिन्दू नारीहरूको सबभन्दा कडा व्रतका रूपमा चिनिने तीज भने विशेष गरेर विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायूको कामनाका साथ तथा अविवाहित महिलाहरूले योग्य तथा इच्छ्याइएको पतिको प्राप्तिका लागि बस्ने प्रचलन रहेको पाइन्छ । तीजका ब्रतालु महिलाहरू सो व्रतको अवधिभर दिनभर पानी समेत नपिई उपवास बस्ने गर्दछन् ।

यस पर्वको खास विशेषताहरुमा महिलाहरू पूजाअर्चना बाहेक आफ्ना साथी सँगीहरू प्रतिको लगाव दर्शाउने अवसरसमेत रहेको पाइन्छ । यस पर्वको खास अर्थ नै हरतालिका अर्थात् पार्वतीकी सखीहरूले उनलाई आफ्नो इच्छाविपरित हुनगएको विवाह रोक्नकालागि घनघोर जङ्गलमा लुकाएको हुनाले ‘हरत’ अर्थात हरण गर्नु र ‘आलिका’ अर्थात साथी, सँगी भन्ने हुन्छ ।

तीजमा माइत जाने प्रचलन

पौराणिक पृष्टभूमिको आडमा टिकेको र विश्वव्यापी हिन्दुहरुले मनाउने यो पर्व भएपनि नेपालमा यसलाई माइतजाने पर्वको रूपमा पनि लिइन्छ । संगीतमय यो पर्वमा गुञ्जने कतिपय गीतहरुमा माईत जान नपाएको र माइतबाट कोही लिन नआएको गुनासो व्यक्त भएबाट पनि यसको पुष्टि हुनपुग्दछ । वास्तवमा पौराणिक कथाका आधारबाट हेर्ने हो भने यो पार्वतीलाई अनिच्छित विवाह हुनबाट रोक्नको लागि साथीहरूले दिएको योगदानको सम्मानमा यो पर्वमनाइने भएकोले यसका लागि साथीहरूसँगै मिलिजुली पर्व मनाउनु पर्ने हुन्छ । महिलाको असल साथीहरू भने माइती अर्थात् आफ्नो बाल्यकालका स्थानमा नै हुने भएकोले कालान्तरमा माइत जाने प्रचलनको रूपमा विकाश हुँदै गएको भन्न मिल्दछ । यसमा हाम्रो भौगोलिक अवस्थितिको पनि ठुलो हात रहेको पाइन्छ ।

सङ्गीतको चाड

पौराणिक कथाअनुसार यो व्रत बस्ने महिलाहरुले दिनभर निर्जल, निराहार रहने र रातभर भजन, किर्तनका साथजाग्राम बस्ने नियम रहेको भएपनि नेपालमा माइतमा भेला भएका चेलीहरू सबै एकत्रित भएर लोक लयमा आफ्ना पीर, बेदना, खुसीआदिलाई व्यक्तगर्दै मनाउने प्रचलन रहेको पाइन्छ । तीजलाई लक्षित गरेर कलाकारहरूमा तीज सङ्गीतको एल्बम निकाल्ने होडबाजी नै चल्ने गरेको पनि पाइन्छ । नेपालभरि नै तीज आउनुभन्दा धेरै पहिलेदेखि नै चेलिबेटीहरू जम्मा भएर तीजको रहर आयो वरिलै…. भन्दै तीजको भाखामा नाचगान गर्ने परम्परा रहेको पाइन्छ । अझ विशेष उल्लेख्य कुरा के छ भने हिन्दु धर्मावलम्बी भन्दा बाहेकका अन्य समुदायका महिलाहरू पनि हिन्दु महिलाहरुका साथमा समान रूपमा नाचगानमा सङ्लग्न हुन्छन् । तीजको व्रत बसेर पुजाआजा नगर्ने समुदायका महिलाहरू पनि मिलिजुली नाचगान गरेर यो पर्व मनाउन साथभने दिने प्रचलन रहेको पाइन्छ ।

दर खाने विकृति

दरखाने प्रचलन र माइत जाने प्रचलन वास्तवमा एक अर्काका पुरकजस्तो देखिन्छन् । यसको व्रतसँग कुनै विशेष साइनो देखिदैन । माइत आएकी चेलीलाई मामा, काका, फूपू आदिले आ–आफ्ना घरमा बोलाएर केही खुवाउने अधिकाँश गाउँघरमा रहेको प्रचलन वास्तवमा एक विकृतिकै रुपमा देशभर फैलिसकेको छ । दरको नाममा ठूलाठूला र महङ्गा होटलहरूमा सुरापानका साथ डिनर गर्ने, महङ्गा पोसाकहरू र जिउभरी छोप्ने गरी गहनाहरू गाएर प्रदर्शन गर्ने प्रचलन बढ्दै गएको छ । यद्यपी हिन्दु महिलाहरूले बस्ने व्रतहरू मध्यमा कडा व्रत भएकोले व्रतका दिन कुनै शारिरीक कमजोरी नहोस् भनि सो व्रतको अघिल्लो रात केही अवेरसम्म खानपान गरेर बस्ने प्रचलन भने नेपालीहरूको पुरानै प्रचलन हो ।

राताम्य पहिरण र पूजाअर्चना

तीजको दिनमा पशुपतिनाथलगायत देशभरिका शिव मन्दिरहरूमा महिलाहरूको घुइचो लाग्ने गर्दछ । यस दिन यी मन्दिरपरिशर राताम्य रङ्ले छोपिएजस्तै लाग्दछ । महिलाहरूले यस दिन लगाउने पोशाकमा रातोलाई प्रशय दिने गरेको स्पट देखिन्छ । आफू पतिव्रता देखाउन सौभाग्यको प्रतीकका रूपमा यसरी रातो सारीमा सजिएर सौभाग्यका प्रतीक गरगहनाहरूमा समेत सजिने प्रचलन रहेको छ । तर पौराणिक व्रत विधानमा भने यस्तो रातो सौभाग्य वस्त्रभन्दा पनि नुहाई धुवाई गरेर स्वच्छ वस्त्र धारण गरेर पुजाअर्चना गर्नु पर्ने भनिएको पाइन्छ । तर नेपालमा पुजा अर्चना गर्दा गरगहनाको प्रदर्शन गर्ने प्रचलन वढ्दै जादाँ गरगहनाहरू हराउने समस्या पनि बढिरहेको देखिन्छ ।

तीज सम्बन्धीपौराणिककथा तीज व्रतसम्बन्धी कथा श्री स्वस्थानी व्रतकथामा आउने एक प्रसङ्ग नै हो जो यस प्रकारको छ –

हिमालयपुत्री पार्वतीले शिवलाई पति रूपमा प्राप्त गर्नका लागि कडा तपस्या गर्ने गर्थिन् । तर यसै समय नारद हिमालयका समक्ष गएर भगवान विष्णुले हिमालयकी कन्याविवाह गर्न चाहेको कुरा व्यक्त गरे । नारदको कुरालाई पार्वतीका पिता हिमालय राजले स्वीकार गरे । यसरी पार्वती र भगवान् विष्णुको विवाह निश्चित गरियो । शिवको तपस्यामा लीन पार्वतीले जब यो कुरा थाहा पाइन्  । उनलाई अत्यन्त दुख भयो र सन्ताप गर्न लागिन् । यसरी दुःख तथा सन्तापका कारण जव पावतीकी सखीले उनलाई सोधिन तव पार्वतीले भनिन्– यता म शिवलाई पति रूपमा पाउनका लागि तपस्या गरिरहेको छु उता मेरा पिताले मेरो विवाह भगवान विष्णुसँग गरिदिन लागेका छन् । हे साथी मेरो सहायता गर यन्यथा म आफ्नो प्राण त्यागिदिनेछु । यस्तोमा पार्वतीकी सखीले भनिन्– चिन्ता नगर म तिमीलाई यस्तो घना बनमा लिएर जानेछु कि तिम्रो पिताले तिमीलाई भेट्न सक्ने छैनन् । यसप्रकार सखीले पार्वतीलाई लिएर घना जङ्गलमा लुकाइ दिइन् । यता हिमालयले यत्रतत्र खोज खबर गरे तर भेट्टाउन सकेनन् । विष्णुलाई कन्या दिने बचन भङ्ग भएको पीरमामुर्छित भए ।

यता आफ्नी सखीका साथ पार्वती एक गुफामा शिवका नामको तपस्या लीन रहिन् । भाद्र मासको शुक्लपक्षको तृतीय तिथिमा उपवास गरेर उनले शिव लिङ्गको पुजा तथा भजन किर्तनका साथ रात्री जागरण पनि गरिन् ।

यसरी पार्वतीको तपस्याबाट शिव प्रशन्न भएर पार्वतीको पूजा स्थलमा दर्शन दिनपुगे । यसरी शिवले पार्वतीलाई आफ्नी अर्धाङ्गीनीका रूपमा स्वीकार गरे । शिवको स्विकारोक्तिपछि जब हिमालय उस स्थानमा आइपुगे । पार्वतीले आफू लुक्नु परेको कारण र आफ्नो इच्छा वताएपछि हिमालयराजले पार्वतीको विवाह शिवसँग शास्त्रविधिअनुसार गरिदिए । अतः यस दिन जुन स्त्रीले यस व्रतलाई परम श्रद्धाले गर्नेछन् उनीहरुको सौभाग्य अटल रहनेछ । जसप्रकार शिव र पार्वतीको जोडी रहेको छ उसप्रकार सबैको जोडी कायम रहोस् ।

आजको चुनौती

विसङ्गती र विकृतिहरूको बढ्दो प्रभावका वावजूद पनि तीज एक राष्ट्रिय महत्वको पर्व हो । तर आजको एक्काइसौ सताव्दीमा पतिको आरोग्यताको सट्टामा महिला सशक्तिकरण तथा सौहार्दताका रूपमा यस पर्वलाई रूपान्तर गरेर लैजाने चुनौति भने आजका महिलाहरूको काँधमा रहेको छ । त्यसै गरी नेपालमा मौलाएको मौलिक साङ्गीतिक तीज माहौललाई आधुनिकताको जामा नपहि-याई केबल कुरितीलाई चिर्ने बाटोमा मात्र हिडाउन सके आउने पूस्तालाई आफ्ना साँस्कृतिक पर्व तथा परम्पराहरुमाथि गर्व गर्न बाटो खुल्ने छ । तीजपर्वको उपलक्ष्यमा समस्त महिलाहरूमा हार्दिक मङ्गलमय शुभकामना !

About discovery4p

Check Also

चाहियो साँस्कृतिक अन्तरक्रिया

काठमाडौं उपत्यकालाई सांस्कृतिक कृत्रिमताले लठ्याउँदै लैजानु गम्भीर खतराको संकेत हो बसन्त महर्जन काठमाडौं उपत्यकाको प्रमुख …

नेपाली समाज आफ्नै संस्कृतिविरुद्ध

समाजका विभिन्न पक्षहरुको संयोजनले राज्यको निर्माण हुने हो । ती विभिन्न निकायहरुमध्ये एक संस्कृति पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *