Friday , July 19 2019

लुम्बिनीमा बोटिङ, बाँदरको हातमा नरिवल

लुम्बिनी विकास कोषले विहार क्षेत्रस्थित नहरलाई हालै प्रयोगमा ल्याएको छ । नहरमा हुइँकिएर दौडने डुंगा र त्यसले निकाल्ने भद्दा आवाज तथा त्यसमाथि यात्रा गर्ने यात्रुहरुको चर्तिकला हेर्दा लाग्छ, त्यो दृश्य लुम्बिनीको नभएर कुनै मनोरञ्जन स्थल वा ‘फनपार्क’को हो । त्यसमा सवार यात्रुहरु बौद्ध तीर्थस्थलमा तीर्थ गर्न आएको नभएर ‘एड्भेन्चर टुरिज्म’ का लागि हौसिएर आएकाहरु प्रतीत हुन्छन् ।

– बसन्त महर्जन

नेपाली समाजमा धेरै गहन अर्थ राख्ने एउटा उखान छ, बाँदरको हातमा नरिवल । नरिवल एउटा विशेष फल हो तर त्यसलाई फुटालेर खान नसक्दा वा नजान्दा बाँदरको लागि खेल्ने भकुन्डो वा रमाइलो गर्ने वस्तु भइदिन्छ । त्यस्तै गरी अर्को उखान पनि छ, भिल्लको देशमा मणि । यस्ता अन्य पनि थुप्रै उखान पाइन्छन् जसले कुनै विशेष कुरालाई सही ढंगले प्रयोग नगर्दा कटाक्षका रुपमा प्रयोग गरिन्छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपाली भूमिमा पर्छ र अनेकौं आयाममा भएको यसको महत्वलाई नबुझ्नेहरुलाई पनि त्यस्तै उखान टुक्काहरुको प्रयोगले कटाक्ष गर्न सकिन्छ ।

स्वयं गौतम बुद्धले भिक्षु आनन्दसँग आफू जन्मेको ठाउँ (लुम्बिनी) एक संवेजनीय स्थल भएको बताएका थिए । सोहीअनुसार बुद्धप्रति अनुभाव राख्नेहरु लुम्बिनी पुगी उक्त जन्मस्थलमा श्रद्धा व्यक्त गर्न थालेका थिए । सोही क्रममा यो ठाउँ बौद्धहरुका लागि श्रद्धाले युक्त संवेजनीय स्थलका रुपमा विकास भयो र सन् १९७८ मा संयुक्त राष्ट्र संघको पहलमा लुम्बिनी गुरुयोजना नै बन्यो । उक्त गुरुयोजनाका परिकल्पनाकार वास्तुविद् प्रोफेसर केन्जो तान्गे एक साधारण वास्तुविद मात्रै नभई स्वयं बौद्ध र बुद्ध दर्शनमा पकड राख्ने विद्वान पनि थिए ।

विश्वभरका बौद्धहरुलाई ध्यानमा राखी तीर्थस्थलको रुपमा विकास गर्न उनलाई उक्त जिम्मेवारी दिइएको थियो र सोही अनुरुप गुरुयोजना पनि बन्यो । तर वर्षौ बितिसक्दा पनि केन्जो तान्गेको गुरुयोजना अनुरुप लुम्बिनीको विकास हुन सकेको छैन । गुरु योजनाको अध्ययन गर्दा लुम्बिनीको छवि जुन रुपमा छचल्किन आउँछ, त्यो रुपको लुम्बिनी वास्तविक धरातलमा पाइन्न । गुरुयोजना भन्दै बेग्लैखालको लुम्बिनीलाई प्रस्तुत गर्ने उद्दत मानसिकता पाउँदा बाँदरको हातमा नरिवल उखान चरितार्थ हुन्छ र गुरुयोजनालाई वल्टाइपल्टाइ हेर्दै गुल्ल्ल गुल्टाएर खेलिरहेको प्रतित हुन्छ ।

प्रो. केन्जो तान्गेले लुम्बिनी क्षेत्रलाई एक एक वर्गमाइलका तीनवटा प्लट उत्तरदेखि दक्षिण पारी लाम्चो बनाएका छन् । सबभन्दा उत्तरको प्लट नयाँ लुम्बिनी ग्राम हो र बीचको प्लटलाई विहार क्षेत्र बनाएको छ । यो विहार क्षेत्रको बीचमा एउटा नहरको परिकल्ना गरिएअनुसार दायाँबायाँ थेरवादी र महायानी बौद्ध विहारहरु राखी एउटा आकर्षक नहरको निर्माण भएको लामो समय भयो । गुरुयोजना थाहा पाउनेले त नहर भन्ने कुरा बुझ्ने भइहाले, तर अन्यका लागि कौतुहलको विषय हुन्थ्यो किनभने त्यहाँ पानी हुँदैनथ्यो । बरु घाँसपात उम्रेर भरिएको थियो । गुरुयोजनाअनुरुप निर्माण कार्य पूरा नभइसकेको अवस्थामा त्यहाँ पानीको व्यवस्था गरिहाल्नुपर्ने दबाब पनि थिएन ।

बिहार क्षेत्रको बीच भागमा नहरको परिकल्पना प्रो तान्गेबाट किन भयो होला ? नहरको दायाँबायाँ ठूलो चौडाको बाटो पनि छ । लुम्बिनी क्षेत्रभित्र आवतजावत गर्न ठूल्ठूला यातायातको साधनको कल्पना गुरुयोजनाकारले गरेका छैनन् । त्यहाँ सानातिना तर पर्यावरणीय सवारी साधनलाई भने छुट थियो, उदाहरणका लागि रिक्सा । यसको मतलब हो, लुम्बिनी क्षेत्रमा पार्यवरणीय स्वस्थता कायम राख्ने र होहल्लालाई पूर्णतः निषेध गर्ने सोचाइ रहेको पाइन्छ । विहार क्षेत्र भन्नु आध्यात्मिक साधनास्थल हो । यहाँ साधकहरु ध्यान भावना गर्छन् । बुद्ध ध्यानमा जोड दिन्छन् । यही अनुरुप संसार भरका बौद्धहरु ध्यान भावना गरेर बुद्ध दर्शन बुझ्ने अभ्यास गर्छन् । चार संवेजीनय स्थलहरुमध्ये पहिलो लुम्बिनी भएका कारण ध्यान भावना गर्ने एउटा उपयुक्त थलो लुम्बिनी पनि हो । यस अर्थमा विहार क्षेत्र लगायत सबैमा शान्तपूर्ण वातावरण हुनु यहाँ नितान्त आवश्यक छ । यही भएर यहाँ ठूल्ठूला सवारी साधनहरुलाई ठाउँ नदिएको हो । विहार क्षेत्रको नहरको दायाँवायाँस्थित बाटोमा प्रायः बौद्धमार्गी हिँडेरै आवतजावत गर्छन् ।

विहार क्षेत्रको दक्षिणलाई पवित्र क्षेत्र नाम दिइएको छ, जहाँ बुद्धको जन्म ई.पू. ५६३ को वैशाख पूर्णिमाका दिन मायादेवीको कोखबाट बोधिसत्व सिद्धार्थको जन्म भएको थियो । हिँड्न सक्ने त हिँडेरै जन्मस्थलसम्म पुग्छन्, हिँड्न नसक्नेका लागि नहरमा डुंगा सयर गरेर पवित्र उद्यानसम्म पुग्ने व्यवस्था गरिएको हो । अन्य पनि डुंगामा सयर गरेर शान्तपूर्वक पवित्र क्षेत्रमा पुग्न सक्छन् । डुंगामा सयर गरेर पवित्र उद्यान पुगून् वा नहरमा छचल्किरहेको पानी हेर्दै हिँडेर, यी दृश्य हेर्दै सबैको मनमा शान्त र आनन्दको अनुभूति हुन्छ । यस्तो मनःस्थिति लिएर पवित्र उद्यानमा प्रवेश गर्नुको उपलब्धि अर्थपूर्ण नै हुन्छ ।

लुम्बिनी विकास कोषले विहार क्षेत्रस्थित नहरलाई हालै प्रयोगमा ल्याएको छ । तर जुन ढंगले नहरको प्रयोग गरियो यसले लुम्बिनीको सम्पूर्ण कल्पनालाई नै तुषारापात गरिदियो । नहरमा हुइँकिएर दौडने डुंगा र त्यसले निकाल्ने भद्दा आवाज तथा त्यसमाथि यात्रा गर्ने यात्रुहरुको चर्तिकला हेर्दा लाग्छ, त्यो दृश्य लुम्बिनीको नभएर कुनै मनोरञ्जन स्थल वा ‘फनपार्क’को हो । त्यसमा सवार यात्रुहरु बौद्ध तीर्थस्थलमा तीर्थ गर्न आएको नभएर ‘एड्भेन्चर टुरिज्म’का लागि हौसिएर आएकाको प्रतीत हुन्छ । मनोरञ्जनका लागि यसरी प्रयोग गरिँदा लुम्बिनीले आफ्नो अर्थ गुमाउने हुन्छ । उक्त बोटले यस्तरी आवाज निकालेर दौडेको पाइन्छ, जसले दायाँबायाँ शान्त मनले हिँडिरहेकाहरुलाई ‘डिस्टर्व’ गर्दछ साथै वरिपरि विहारमा ध्यान गरिरहेकाहरुलाई पनि ध्यान भंग गर्छ ।

यस्तो वातावरणप्रति आपत्ती जनाउँदा लुम्बिनी विकास कोष सम्वद्ध केहीले भविष्यमा आवाजविहीन बोटको सञ्चालन गर्ने जनाएको छ । यसको अर्थ हो, तिनीहरुले गुरुयोजनाको महत्ता र बौद्ध भावनालाई अझै पनि बुझ्न सकेका छैनन् । लुम्बिनी क्षेत्र मनोरञ्जन गर्ने क्षेत्र हुँदै होइन । मनोरञ्नको सोच लिएर आउनेहरुलाई प्रवेश दिनै पर्छ भन्ने जरुरी पनि छैन । कसैले लुम्बिनीमा रमाइलो गर्ने र गर्न दिनुपर्छ भन्ने सोचाइ राख्छ भने त्यसलाई एउटा धार्मिक क्षेत्रमा बलात् हस्तक्षेप मान्नुपर्छ ।

संसारभरका बौद्धहरु हुन् वा पर्यटक, लुम्बिनीमा घरिघरि पुग्दैनन् । एकपल्ट वा बढीमा दुई चारपल्ट पुग्ने हो । यसरी पुग्दा जे जस्तो देखिने हो, उसका लागि लुम्बिनीको छवि त्यस्तै गरी मस्तिष्कमा बसिरहन्छ । लुम्बिनी पुग्नु अगावै तिनीहरुमा लुम्बिनी यस्तो होला अथवा उस्तो होला भनी कल्पना गरिसक्छन् । बुद्धको जन्मस्थलको चित्रण विभिन्न बौद्ध साहित्यमा भएका छन् । त्यस्तै वातावरणको सिर्जना गरिएको हुनुपर्छ भन्ने मान्यता हुनु अस्वाभाविक होइन । तर त्यस्तो वातावरण नपाउँदा मन खिन्न हुनु पनि स्वाभाविक नै हो । अध्ययनको सिलसिलामा यो लेखक लुम्बिनीमा पटकपटक पुगिरहन्छ र प्रत्येकपल्टको भ्रमणमा चित्रविचित्रका दृश्यहरुसँग हठात् साक्षात्कार गर्नुपर्छ ।

लुम्बिनी क्षेत्र पिकनिक गर्न आउनेहरुको पनि ठाउँ भएको छ । अन्यत्र जस्तै हिन्दी फिल्ममा अश्लील वा भड्किला गीतसंगीत ठुल्ठूलो स्वरमा लाउडस्पिकरमा बजाउने र त्यसमा नाचिरहेका उरन्ठेउला युवायुवती पनि भेटिन्छन् । युवायुवतीहरुको जोडी नारिएर हिँडिरहेको दृश्यले बिझाउँछ । समग्रमा त्यहाँ बौद्ध वातावरणको नितान्त अभाव देखिन्छ । युवायुवती हुन् वा लोग्नेस्वास्नी, तिनीहरु बौद्ध हुन् वा बौद्ध भावना बुझ्छन् भने तिनीहरु बौद्धस्थलमा रतिरागलाई ठाउँ दिँदैनन् । लुम्बिनीमा बौद्ध मात्रै जानुपर्छ वा अन्यलाई निषेध गर्नुपर्छ भन्ने जिकिर त कदापि होइन तर यहाँ आउँदा अन्य सम्प्रदायले बौद्ध भावनामा ठेस पुग्ने खालको वातावरण सिर्जना गर्नु त पक्कै हुन्न । नेपालीहरु बुद्धको जन्म नेपालमा भएकोमा गर्व त गर्छन् तर त्यही अनुरुप बौद्धस्थलहरुमा बौद्ध वातावरण कायम राख्दैनन् भन्ने उदाहरण बग्रेल्ती पाइन्छन् । बुद्धको जन्मस्थल लुम्बिनीमा नै एक बौद्ध भिक्षुमाथि गोली हानी हत्या गरिएको घटना आलै छ, जुन घटना वास्तवमा नेपालको इतिहासमा एउटा कालो टीका वा धब्बाको रुपमा रहेको छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी कसैका लागि तीर्थस्थल हो भने कसैका लागि पर्यटकीय स्थल । पुरातत्वशास्त्र वा अन्य विषयका विद्यार्थीका लागि लुम्बिनी क्षेत्र एक खुल्ला पुस्तक हो त पर्यटन व्यवसायीका लागि यो त्यस्तो कुरा हो जुन देखाएर कमाउन सकिन्छ । मुख्यतः यो बौद्ध तीर्थस्थल हो र बुद्ध तथा बौद्ध समाजबाट पृथक गरिँदा यस स्थलको महत्ता रत्तिभर पनि हुन्न । यहाँ बौद्ध वातावरण कायम नगर्ने हो भने कुनै बौद्ध यहाँ किन आउने भन्ने प्रश्न उठ्छ । आफू बौद्ध नभएर पनि यस बौद्ध स्थलमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको एउटै ध्येय हुन्छ, बुद्ध र बौद्ध समाजका बारेमा केही हेरौं र थाहा पाऔं । लुम्बिनीमा आउनेहरुको ध्येय मनोरञ्जन कदापि हुन्न ।

यसलाई मनोरञ्जन क्षेत्रका रुपमा विकास गरिँदा पर्यटकहरुका लागि लुम्बिनी र अन्यत्रका ठाउँहरुमा भिन्नता नै के रहन्छ र ? मनोरञ्जन गराएर कोष वृद्धि गर्ने सोचाइ सम्बन्धित निकायको हो भने त्यस्तो मनोरञ्जन स्थल लुम्बिनीभन्दा बाहिर अन्तै कतै व्यवस्था गर्दा हुन्छ तर लुम्बिनीलाई लुम्बिनी नै रहन दिनुपर्छ । लुम्बिनीमा बौद्ध वातावरणको प्रवद्र्धन नगर्ने हो भने त्यहाँ भोलि घुम्न आउनेहरुको रमाइलोका लागि भनेर रोटेपिङ, सर्कस तथा चटकहरुको मेला नलाग्ला भन्न सकिन्न । नेपाली समाजमा एउटा अर्को पनि उखान छ, अकबरी सुनलाई कसी लाउनुपर्दैन । अकवरी सुन आफैंमा ठूलो हो भने जस्तै लुम्बिनी पनि आफैंमा पूर्ण छ, यसका लागि बौद्ध वातावरण नै पर्याप्त छ, अन्य कुराको सहारा लिनु जरुरी छैन । नरिवललाई नचिन्नेहरुको हातमा नरिवल दिनुको अर्थ त्यसको गलत प्रयोग मात्रै हो ।

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

बुद्घबारे अपव्याख्या

आफ्नो स्वार्थपूर्ति र व्यावसायिक प्रयोजनमा गौतम बुद्घको नाम जथाभावी प्रयोग गर्ने प्रवृत्तिा चिन्ताको विषय बनेको …

गणेश हिमालको ठट्यौलो यती

गोठालाहरूले बिहानै त्यो ठूलो ढुंगामा बसेर आगो बाले । सधैंजस्तो घाम डुब्ने बेला यती आएर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *