Tuesday , February 19 2019

बुद्घबारे अपव्याख्या

आफ्नो स्वार्थपूर्ति र व्यावसायिक प्रयोजनमा गौतम बुद्घको नाम जथाभावी प्रयोग गर्ने प्रवृत्तिा चिन्ताको विषय बनेको छ।

– बसन्त महर्जन

गौतम बुद्ध (इ.पू. ५६३–४८३) ऐतिहासिक पात्र भएकाले उनका सम्बन्धमा जति पनि व्याख्या गरिन्छ, तथ्यमा आधारित हुनुपर्छ । ऐतिहासिक पात्रका हिसाबले उनीबारेको कल्पना र मनगढन्ते कहानीलाई ठाउँ छैन । तर, हालै प्रकाशित एक पुस्तकले बुद्धलाई तेस्रोलिङ्गी भनेर प्रस्तुत गरेको छ । आस्थासँग पनि सम्बन्धित यी पात्रका सम्बन्धमा यस्तो कुरा निस्कनु संवेदनशील त हो नै, साथै उक्त भ्रामक कुरा नेपालबाटै फैलिनुले धेरै अर्थ राख्ने हुँदा यसबारे चर्चा गर्नु आवश्यक छ ।माइनोरिटी स्टडी सेन्टर अफ मोक्षतीत दर्शन इन्टरनेशनलको प्रस्तुतिमा छापिएको पुस्तकको शीर्षक ‘ब्लूडाइमण्ड बुद्ध’ छ, जसमा लेखकको नाम हिज होलीनेस मोक्षतीत उल्लेख छ । पुस्तकमा अन्य गम्भीर विषयलाई पनि हल्काफुल्का ढङ्गले उठाएको देखिएकाले चर्चामा आउन गरिएको काम भनेर बुझन गाह्रो छैन ।

पुस्तकको परिचय दिंदा गौतम बुद्ध जन्मिंदा नै तेस्रोलिङ्गी भएको, श्रीमती यशोधरा, आमा प्रजापति गौतमी, मित्र तथा दरबारका हजारौं सुसारे महिलाहरूको यौन हिंसाको शिकार भएको र अन्त्यमा सबथोक त्यागेर इच्छा महारोगमाथि दिग्विजय गरी शुद्ध अनि पूर्ण नीलहीरा बुद्ध भए भनी लेखिएको छ ।

आफ्नो स्वार्थपूर्तिका लागि गौतम बुद्धलाई गलत रूपमा प्रस्तुत गर्ने प्रचलन नौलो होइन । बुद्ध जीवित छँदै नातामा भाइ पर्ने भिक्षु देवदत्तले भिक्षु संघ फुटाएर स्वयम्लाई बुद्धका रूपमा प्रस्तुत गरेका थिए । तर, केही समयपछि नै भिक्षुद्वय सारिपुत्र र मौद्गल्यायनले यो समस्या समाधान गरेका थिए । ऐतिहासिक पात्रका रूपमा प्रमाणित भइसक्दा पनि पौराणिक पात्रका रूपमा प्रस्तुत गरी दुनो सोझयाउने एक जमात ‘आध्यात्मिक बजार’ मा उहिलेदेखि नै अस्तित्वमा छ ।

आफ्नो विचार वा दर्शनलाई आध्यात्मिक बजारमा स्थापित गर्न गौतम बुद्धलाई बैसाखीका रूपमा प्रयोग गर्नेहरू पनि छन् । त्यसमध्ये ओशो पनि एक हुन् । शुरूमा आचार्य रजनीशका नामबाट चिनिएका यिनले एक समय आफूलाई बुद्ध भनेर घोषणा पनि गरेका थिए । उनले बुद्धको आत्मा आफूमा अवतरण भएको हल्ला मात्रै फिंजाएनन्, केही दिनपछि त्यो आत्मालाई आफूले अस्वीकार गरेको भनेर प्रचार पनि गरे । निर्वाण नै भइसकेका अनात्मवादी बुद्धको आत्मा आफूमा अवतरण भयो भन्नु रजनीशको बेतुकको दाबी हो । बौद्धहरू भविष्यमा मैत्रेय बुद्ध आउने मान्यता त राख्छन्, तर बौद्ध धर्मको प्रभाव हुन्जेल (गौतम बुद्धको शासन) अर्को बुद्धको शासन शुरू हुँदैन भन्ने मान्यता पनि बलियो छ । बुद्धको दाबीबाट पन्छिए पनि ओशोले आफ्नो दर्शनको रंगरोगन बुद्ध र बौद्ध दर्शनका कुराबाट गरिरहे ।

ओशोले यौन सम्बन्धी आफ्नो अवधारणालाई स्थापित गर्ने क्रममा सुजाता नामकी महिलासँग बुद्धको यौन सम्बन्ध रहेको पनि भन्न भ्याए । बुद्धत्व प्राप्तिको अघिल्लो दिन खीर दान गर्ने सुजातासँग सम्भोग भएको र यो कुरा ढाकछोप गर्न बौद्धहरूले यसलाई ‘खीर दान’ को रूपमा प्रस्तुत गरेको भनी उनले मन्तव्य दिएका थिए । तर, एक बौद्ध भिक्षुले तत्काल आपत्ति जनाउँदा उनले यस्तो कुरा ध्यानको बलले आफूले देखेको र सर्वसाधारणले देख्न नसक्ने तर्क गर्दै आफ्नो बचाउ गरेका थिए ।

बुद्ध कुनै व्यक्तिको नाम नभएर बुझाइको उपल्लो तह हो । सामान्य भाषामा भन्दा ‘जसले बुझयो वा बोध गर्‍यो’ त्यो बुद्ध हो । तर, बोध गर्ने कुरा एउटै नहुँदा दार्शनिक जगतमा फरक–फरक सम्प्रदायको उदय भएको हो । भाषागत रूपमा ‘बुद्ध’ शब्द गौतम बुद्ध वा बौद्धहरूको मात्रै पेवा नभए पनि व्यावहारिक प्रयोगमा गौतम बुद्ध र उनको धर्म–दर्शनसँग सम्बन्धित भनेर बुझने र बुझउने गरेको पाइन्छ ।

बुद्ध शब्दलाई व्यापारिक ब्राण्डका रूपमा प्रयोग गर्नेहरूको संख्या पनि कम छैन । पश्चिमा मुलुकमा एक नेपालीले बुद्धको नामबाट एउटा ‘बार’ खोल्न लागेका थिए र सुझवका लागि सामाजिक सञ्जालमा राख्दा केहीले सराहना पनि गरेका थिए । ‘बार’ सँग बुद्धको नाम किन जोड्नुपर्‍यो भनेर सोधिंदा ती व्यक्तिले आफूले बुद्ध नेपालमा जन्मेका भनेर प्रचार गर्न खोजेको बताएका थिए । तर, उनले आफू स्थापित हुन बुद्धको नाम प्रयोग गर्न खोजेको भनेर बुझन गाह्रो छैन । बुद्धको नामबाट प्रचारमा आउन खोज्नेहरू नेपालमै पनि प्रशस्त भेटिन्छन् । काठमाडौं लगायत शहरी क्षेत्रमा बुद्धको नाम प्रयोग गरी मदिरा बेच्ने, बुचर हाउस, रेस्टुरेन्ट आदि खोलिएको प्रसङ्गमा एक श्रीलंकाली राजदूतले आश्चर्य व्यक्त गरेको यहाँ स्मरणीय छ । बुद्धको जन्मस्थल लुम्बिनी नेपाली भूमिमा परेको आधारमा उनलाई नेपाली भनेर गौरव गरिन्छ । तर, उनकै मर्यादा राख्न नजान्नु र आवश्यक पनि नठान्नु लज्जास्पद हो ।

माथि उल्लिखित पुस्तककै प्रसंगमा फर्कंदा, बौद्ध साहित्यमा पनि तेस्रोलिङ्गीहरूको उल्लेख पाइन्छ र यसलाई पूर्वजन्मको कर्मविपाकको रूपमा लिइएको छ । बुद्धका उपस्थापक भिक्षु आनन्द (नाताले बुद्धका भाइ) पनि पूर्वजन्ममा तेस्रोलिङ्गी भएर जन्मिएको उल्लेख भएको पाइन्छ । सम्पूर्ण विपाक तथा क्लेशबाट मुक्त भएर बुद्ध नै भइसकेकालाई तेस्रोलिङ्गी भनेर चित्रण गरिनुले बुद्ध र बौद्ध धर्म–दर्शनका बारेमा अलिकति पनि हेक्का नराखिएको भन्ने स्पष्ट छ ।

(साभार: हिमाल साप्ताहिक । १०-१६ भदौ २०७५)

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

गणेश हिमालको ठट्यौलो यती

गोठालाहरूले बिहानै त्यो ठूलो ढुंगामा बसेर आगो बाले । सधैंजस्तो घाम डुब्ने बेला यती आएर …

बुद्ध धर्ममा मदिरापानको अर्थ

स्वयं बौद्धहरु, अझ बौद्ध धर्मको गतिविधिमा लागेकाहरु नै पनि मदिरामा झुम्मिएको नपाइने होइन । यस्तो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *