Friday , April 26 2019

राजनीतिक कर्मकाण्डमा इन्द्रजात्रा

संस्कृति र राजनीति बेग्लै विषयवस्तु र क्षेत्र भएका कारण सांस्कृतिक कुरामा राजनीतिक हाबी हुन दिंदा यसले संस्कृतिलाई आफ्नो कर्मकाण्डमा नै सीमित पारेर अर्थहीन बनाइदिने खतरा रहन्छ ।

  • बसन्त महर्जन

प्रत्येक वर्ष काठमाडौंको हनुमानढोका दरवार क्षेत्रमा भदौं–असोज (भाद्रशुक्ल द्वादशीदेखि आश्विन कृष्णचौथीसम्म) मा मनाइने इन्द्रजात्रा विशुद्ध सांस्कृतिक पर्व हो । उपत्यकाको सांस्कृतिक जीवनसँग घनिष्ट सम्बन्ध रहेको यो पर्व आजभोलि सामाजिक तथा सांस्कृतिक जीवनभन्दा पर राजनीतिक कर्मकाण्डमा खुम्चदै गइरहेको छ । सांस्कृतिक गतिविधिमा राजनीति क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति ठीकै मान्न सकिए पनि उनीहरुकै वर्चश्व हुनुले चाहिं संस्कृति पतन हुने खतरा बढाउँछ ।

हनुमानढोका परिसरमा ‘यःसिं’ भनिने लिङ्गो विधिवत् ठड्याएपछि इन्द्रजात्रा शुरु हुन्छ । इन्द्रजात्रा भनिएपनि यसमा ‘इन्द्र’ नामक देवता एक्लैको जात्रा हुँदैन । यःसिं ठड्याएको तेस्रो दिनपछि हुने कुमारी, गणेश र भैरवको रथयात्राको छुट्टै प्रमुख आकर्षण हुन्छ, त्यसैले यसलाई ‘कुमारी जात्रा’ वा ‘कुमारी रथयात्रा’ पनि भनिन्छ । तर यस पर्वसँग सम्बन्धित जनसमुदायले समग्र पर्वलाई ‘यँन्याःपुन्हि’ भन्ने गरेको पाइन्छ । यस अवसरमा पूजा प्रसादको रुपमा ‘समेबजि’ खाने भएका कारण ‘समेबजि पुन्हि’ पनि भनिन्छ । काठमाडौं बाहेक अन्यत्रको नेवार समाजमा पनि ‘समेबजि’ टोल छिमेकमा बाँड्ने र खाने भएका कारण यँन्याः पुन्हि कुनै एक गतिविधिसँग मात्र सम्बन्धित सांस्कृतिक पर्व नभएर अनेकौं गतिविधिको समग्र नाम हो ।

कुमारी रथयात्राको सुरुको दिन राष्ट्र प्रमुख तथा विशिष्ट पदाधिकारीहरुको उपस्थितिलाई जात्राको एक अङ्ग नभई अवलोकन गर्न आएका विशिष्ट व्यक्तिका रुपमा मात्र बुझ्नुपर्दछ । यसअघि राजतन्त्र कालमा राजारानीको उपस्थिति हुन्थ्यो भने राणाकालमा राणाहरु यसलाई विशेष महत्व दिई सजिसजाउ भएर आउँथे । पद र शक्ति पाएका व्यक्तित्वहरुका लागि विशेष व्यवस्था हुनुलाई अन्यथा लिनु त हुन्न तर आजभो लि मूल जात्रा वा आकर्षणलाई नै ओझेलमा पार्ने गरी राष्ट्रप्रमुख तथा अन्यको उपस्थित हुनुलाई उत्ताउलो पना मात्रै भन्न सकिन्छ ।

देशमा गणतन्त्र स्थापनापछि राजारानीको ठाउँमा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति जात्रा अवलोकनका लागि आउँदादेखि विपक्षी राजनीतिकर्मीहरुको बुझाइमा इन्द्रजात्रा भनेको सत्तासीन व्यक्तित्वहरुको विरोध गर्ने थलोको रुपमा विकास भएको छ । तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल जहाँ गएपनि अवरोध गर्ने अभियान नै चलाएर बसेको तत्कालिन नेकपा (माओवादी) का कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपले सांस्कृतिक पर्वस्थललाई कुरुक्षेत्रका रुपमा परिणत गरिदिएको धेरै भएको छैन । यो संस्कृतिमाथि राजनीतिको ठाडो हस्तक्षेप थियो । यसरी नै अर्थमन्त्री पदमा रहेका बाबुराम भट्टराईले इन्द्रजात्राका लागि दिनुपर्ने सामान्य खर्चमा कटौती गरिदिंदा इन्द्रजात्रा विधिवत् समापन नै गर्न नपाएको घटना नेपालको सांस्कृतिक इतिहासमा एउटा कलङ्क हो । भट्टराईको यो अविवेकी अभ्यासले पहिल्यैदेखि असन्तुष्ट जनतालाई भड्काउने काम मात्रै गरेन, संस्कृतिका नाममा राजनीति गर्न चाहनेहरुलाई राजमार्ग नै निर्माण गरिदियो ।

इन्द्रजात्रा झट्ट हेर्दा हिन्दू धर्म–दर्शनसँग सम्बन्धित संस्कृतिजस्तो देखिए पनि यसमा बौद्ध गतिविधि पनि देख्न पाइन्छ । हिन्दू र बौद्ध नै भनिएपनि अन्यत्र अभ्यास नगरिने धार्मिक क्रियाकलाप यहाँ पाइने हुँदा यसलाई यसलाई धर्मभन्दा माथि राखेर हेर्नुपर्ने हुन्छ । वास्तवमा यहाँ हिन्दू र बौद्ध धर्म–दर्शनभन्दा फरक आफ्नै पाराको जीवन दर्शन झल्किने पक्षहरु पनि देख्न पाइन्छ । संस्कृतिहरु कुनै निश्चित धर्म–दर्शनसँग सम्बन्धित हुन्छन् भन्ने आम बुझाइ छ, तर त्यस्तो संस्थागत धर्म–दर्शनभन्दा पर रहेर पनि संस्कृतिको विकास भइरहेको हुन्छ । यिनीहरुलाई आदिवासी संस्कृति भनेर पनि बुझ्न सकिन्छ । इन्द्रजात्राका अवसरमा देखिने कतिपय शूक्ष्म गतिविधिले यस्ता आदिवासी संस्कृतिको झलक दिन्छ जुन नेपालको आफ्नो मौलिक र अपूर्व सम्पदा हो । सबै कुरालाई आ–आफ्नै धर्मसंस्कृति वा शास्त्रको आँखाले हेर्ने र त्यही अनुसार व्याख्या गर्ने अतिवादी सोचले कतिपय आदिवासी संस्कृतिहरु मासिने खतरा हुन्छ, यो इन्द्रजात्रामा पनि अनुभव गर्न सकिन्छ ।

इन्द्रजात्रा भनौं वा यँन्याःपुन्हि, यो एक बहुआयामिक सांस्कृतिक पर्व हो । यसको शुरुवात कहिले र कसरी भयो भन्ने छलफलको छुट्टै विषय होला तर यसको विकासमा कुनै निश्चित समय र व्यक्तिको मात्र योगदान नरहेको स्पष्ट छ । यस सन्दर्भमा सम्पादन गरिने कतिपय प्रचलनहरु अहिले हराएको छ भने कतिपय पुनस्र्थापित पनि छन् । मल्लकालमा नै बन्द भएको ‘यःसिं’ ठड्याउने कार्य राजा प्रतापसिंह शाहको पालामा पुनः शुरु भयो । दुई दिन मात्र हुने कुमारीको रथयात्रालाई तीन दिन बनाउने कार्य राजा रणबहादुर शाहको पालामा भयो ।

यस पर्वमा समावेश गरिएको ‘गुर्जु पल्टन’ लाई गोरखाली अधीनताको प्रतीक मानी बन्द गर्नुपर्ने आवाज उठाउनेहरु पनि छन् । तर यो इतिहास र सांस्कृतिकचेतको अभाव हो । एक राजनीतिक कालखण्डको अवशेषलाई अर्को राजनीतिक कालखण्डमा मेट्दै जाने हो भने यहाँ केही पनि बाँकी रहँदैन । संस्कृति र राजनीति बेग्लै विषयवस्तु र क्षेत्र भएका कारण सांस्कृतिक कुरामा राजनीतिक हाबी हुन दिंदा यसले संस्कृतिलाई आफ्नो कर्मकाण्डमा नै सीमित पारेर अर्थहीन बनाइदिने खतरा रहन्छ ।

(प्रथम प्रकाशित :  हिमाल साप्ताहिक, ७-१३ असोज २०७५)

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

चाहियो साँस्कृतिक अन्तरक्रिया

काठमाडौं उपत्यकालाई सांस्कृतिक कृत्रिमताले लठ्याउँदै लैजानु गम्भीर खतराको संकेत हो बसन्त महर्जन काठमाडौं उपत्यकाको प्रमुख …

नेपाली समाज आफ्नै संस्कृतिविरुद्ध

समाजका विभिन्न पक्षहरुको संयोजनले राज्यको निर्माण हुने हो । ती विभिन्न निकायहरुमध्ये एक संस्कृति पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *