Friday , July 19 2019

नेवारको मोहनी

‘स्याक्वत्याक्व’ अर्थात् नवमीका दिन नेवारहरू आगम घर वा जमरा राखिएको घरमा जम्मा हुन्छन्। अरू समुदायले दुर्गाको आराधना गर्ने यो दिन नेवारहरू तान्त्रिक विधि अनुसार साधना गर्छन्। हिजोआज कतिपयले दुर्गाको मूर्ति वा तस्वीर पनि राख्न थालेका छन्। कोठामा भएका अन्य देवदेवीको पनि यही बेला पूजा गरिन्छ। नेवारहरू यस दिन परिवारका सदस्यहरूले व्यवसायमा प्रयोग गर्ने ज्यावलहरूको पनि पूजा गर्छन्।
 
– बसन्त महर्जन
मोहनी र दशैं एउटै नभए पनि वा दशैं भनेकै मोहनी भए पनि नेवार समुदायले ठूलो महत्वका साथ मनाउने चाड र विधि एउटै हो। नेवार समाजमा आश्विन पारु (घटस्थापना) कै दिनबाट मोहनी शुरू हुन्छ। मोहनीको पहिलो दिन आगम घरमा ‘नःला स्वनेगु’ (जमरा) राखिन्छ। कारणवश आगमबाट निस्केका वा निष्कासित भएकाहरू आ–आफ्नै घरमा ‘नःला स्वनेगु’ राख्छन्।

नेवार समाजमा सप्तमीका दिन फूलपाती भित्र्याउने विशेष विधि पनि छैन। काठमाडौं उपत्यकामा पृथ्वीनारायण शाहको राज्यसत्ता स्थापनापछि गोरखा र धादिङको सीमा धुनबेसीबाट फूलपाती भित्र्याउने परम्परा बसे पनि नेवारको घर–घरमा भने पुगेन। कीर्तिपुरको क्वाःच्व (उमामहेश्वर मन्दिर) बाट पश्चिमतिरको प्रधान खलकको आगम घरमा भने घटस्थापनाकै दिन गोरखाबाट एकजना मगर आएर बस्ने चलन छ। उनी फूलपाती भित्र्याउने, पूजा गर्ने लगायतका विधिमा सरिक हुन्छन्। सो आगम घरका प्रधानहरूले गर्ने मोहनी वा दशैंका अन्य गतिविधिमा गोरखाको थप संस्कृतिसँग कुनै सम्बन्ध राख्दैन।

नेवारहरू अष्टमीका दिन कुलका सबै एकठाउँ बसेर ‘कूछि भ्वय्’ (भोज) गर्छन्। ‘कुलछि’ को अपभ्रंश ‘कूछि’ को अर्थ ‘कुलभित्रको मात्र’ हो। तर, हिजोआज एक कुलिंचा (कुरुवा) चिउरा खाने भोज भनेर पनि अर्थ्याइने गरेको छ, जुन गलत हो। कुलभित्रको विशेष सहभोज भएकाले ‘कूछि भ्वय्’ मा चिउरा हातले नहाली कुरुवाले राख्ने गरिन्छ। एकजनालाई एक कुरुवा धेरै हुने भएकोले कुरुवाभित्र कपडा वा कागज कोचेर चिउरा भरिन्छ।

चारकुनामा बुट्टेदार बनाएर काटिएको फर्सीको टुक्रालगायत विभिन्न खानेकुरा राखिने ‘खयपि चयपि’ सहितको ‘कूछि भ्वय्’ ले वस्तुतः तान्त्रिक पद्धति अनुसार हो भन्ने जनाउ दिन्छ। केराको पातमा खाइने यो भोजमा चिउरा वरिपरि ‘खयपि चयपि’ राखेर खानुअघि द्यःछायेगु चढाइन्छ। त्यसपछि फेरि विभिन्न गेडागुडी र तरकारीलगायतका परिकार राखेर ‘कूछिभ्वय्’ खान थालिन्छ। नेवारहरू ‘कूछिभ्वय्’ छुट्नु दशैं नै छुट्नुसरह मानेर यसलाई विशेष महत्व दिन्छन्।

‘स्याक्वत्याक्व’ अर्थात् नवमीका दिन नेवारहरू आगम घर वा जमरा राखिएको घरमा जम्मा हुन्छन्। अरू समुदायले दुर्गाको आराधना गर्ने यो दिन नेवारहरू तान्त्रिक विधि अनुसार साधना गर्छन्। हिजोआज कतिपयले दुर्गाको मूर्ति वा तस्वीर पनि राख्न थालेका छन्। कोठामा भएका अन्य देवदेवीको पनि यही बेला पूजा गरिन्छ। नेवारहरू यस दिन परिवारका सदस्यहरूले व्यवसायमा प्रयोग गर्ने ज्यावलहरूको पनि पूजा गर्छन्। यस दिन जाँडरक्सी राखिएका भाँडाहरूको पनि ‘थापिंचा’ (पूजा) गर्नुका साथै विधिपूर्वक ‘मोहनी सिन्हः’ थाप्ने भनेर ध्वाँसो संकलन गरिन्छ। ‘थापिंचा’ र ‘मोहनी सिन्हः’ नेवार दशैंको महत्वपूर्ण विधि हो।

बलिको रूपमा हिंसाकर्म नगर्ने घरमा अन्डा चलाइन्छ। अन्डा पनि नचल्ने घरमा उखु वा नरिवल काट्ने चलन छ। त्यसरी बलि वा सांकेतिक बलि दिएपछि ‘समेबजि’ (प्रसाद) लिइन्छ। बलि चढाएको पन्छीको टाउको, पखेटा र खुट्टा दाजुभाइका सन्तानमा ज्येष्ठताक्रम अनुसार ‘फुकी’ हरुमा बाँडिन्छ। बोका हो भने टाउको भाग लगाएर ‘सी’ बाँड्छन्। ‘सी’ वितरणलाई ‘सीकाःभू’ पनि भनिन्छ। अलगअलग घरमा काटिएको भए पनि ‘सीकाःभू’ एकै ठाउँमा गरिन्छ।

नेवार समाजमा विजयादशमीलाई ‘चालं’ वा ‘चालं क्वकायेगु’ भनिन्छ। अघिल्लो दिन पूजा गरिएका विभिन्न औजार तथा मूर्तिहरूलाई पूजा कोठाबाट पूजा गर्दै झिक्नु नै चालं क्वकायेगु हो। यसक्रममा निधारमा ‘मोहनी सिन्हः’ लगाइन्छ। चालं क्वकायेगुको दिन नेवारहरूको निधारमा अबिरले मुछेको अक्षतामाथि कालो ध्वाँसोको टीका पनि हुन्छ। कालो टीकाका साथ गलामा रातो र सेतो कपडाको धरोलाई ‘क्वखा’ भनिन्छ। असन टोलका तुलाधरहरू भने अरू नेवारले ‘चालं क्वकायेगु’ मा गर्ने विधिविधान एकादशीका दिन सम्पन्न गर्दछन्। त्यसलाई ‘असं चालं’ भन्ने गरेको पाइन्छ।

यो शक्ति साधना गर्ने पर्व भएका कारण खड्गसिद्धि प्राप्त गर्नु नै यसको मुख्य लक्ष्य हो। प्राप्त सिद्धि संचार गराउन हातमा खड्ग बोकेर आगम घरबाट बाहिर निस्की आफ्नो निश्चित इलाकाको परिक्रमा (पायाः) गरेर फर्केका दृश्यहरू त्यस दिन काठमाडौंका विभिन्न ठाउँहरूमा देखिन्छ। कारणवश घरमा दशैं मनाउन नपाएकाहरूले पनि पायाः हेर्दा सिद्धि प्राप्त गर्छन् भन्ने मान्यता छ।

नेवार समाजमा दशैंको टीका लाउन आफन्त वा चिने–जानेकाको घरमा जाने चलन छैन। बरु, नखःत्या जाने भनेर भोज खान जान्छन्। यसका लागि निमन्त्रणा भने आएकै हुनुपर्छ। नखःत्या चतुर्दशीका दिनसम्म चल्छ। त्यही दिन जमरा, उखुको बोट, फूल आदि दशैंमा चलाइएका चिजबिजहरूलाई पूजा कोठाबाट निकालेर पिखालखु (घरको मूल दैलो) मा राख्ने चलन छ। दशैंमा बलि दिएको पशुको एक टुक्रा मासु सुकाएर तिहारसम्म राखिन्छ। त्यो मासुको टुक्रा समेत राखेर गरिने लक्ष्मी पूजापछि नेवार समाजमा मोहनी विधिवत् सम्पन्न हुन्छ।

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

चाहियो साँस्कृतिक अन्तरक्रिया

काठमाडौं उपत्यकालाई सांस्कृतिक कृत्रिमताले लठ्याउँदै लैजानु गम्भीर खतराको संकेत हो बसन्त महर्जन काठमाडौं उपत्यकाको प्रमुख …

नेपाली समाज आफ्नै संस्कृतिविरुद्ध

समाजका विभिन्न पक्षहरुको संयोजनले राज्यको निर्माण हुने हो । ती विभिन्न निकायहरुमध्ये एक संस्कृति पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *