Friday , April 26 2019

पर्यटक भरिया : कठिन जिन्दगी

पर्यटन प्रवर्धनको नारा दिनेहरू के भन्छन् भने भरियामाथि हुने गरेका अन्यायहरू बाहिर ल्याउनु हुँदैन । यो प्रचारमा आयो भने यसै त शिथिल पर्यटन व्यवसाय मन्दीले छोपिनेछ ।

बीच बाटोबाटै फर्किनु पर्दा

सार्की तामाङ जीविकोपार्जनको निम्ति पदयात्रीहरूको कसिलो भारी बोकेर काठमाडौँबाट लामो ट्रेकिङकोलागि हिँडेका थिए । भारी घट्दै गएपछि बाँकी सामान अर्को भरियालाई खप्टयाएर उनलाई फर्काइयो । डरलाग्दो जङ्गलबीचबाट एक्लै फर्कन बाध्य उनले काठमाडौँ आइपुग्दासम्म ज्यालाको पैसा पनि खर्च गरेर सके । “पदयात्रीहरूले खाँदै गएपछि घट्दै गइरहेको प्रति दुई जनाको भारी एउटैले बोक्न सक्छ भन्ने निष्कर्षमा जब भरियाको सरदार र गाइडहरू पुग्छन् तव भरियाहरूप्रतिको उनीहरूको व्यवहारमै फरक आउँछ ।” तामाङको अनुभव छ, “आज्ञा नमान्नेहरु र मन नपरेकाहरू लेखेटिइ हाल्छन् । “

सिन्धुपाल्चोकका छिरिङ शेर्पा (नाम परिवर्तन) को विगत पनि सार्कीको जस्तै हो । पढ्ने खर्च जुटाउन पर्यटक भरिया बनेका शेर्पाको भारी घट्दै जाँदा उनलाई र्फकन भनियो । सुख्खा ज्याला लिएर बीच बाटोबाटै र्फकनु पर्दाको पीडा यसरी पोखे उनले, “३५ किलोभन्दा बढी बोकाइँदैन भने पनि त्योभन्दा बढी बोक्न लगाइयो । भारीमा मट्टीतेलको ग्यालेन पनि रहेछ । मट्टीतेल छचल्किएर ढाडको छाला नै खुइलियो । औषधी- उपचारको लागि खर्च पाइएला भन्ने आशा थियो । उल्टै पोखिएको मट्टीतेलको पैसा ज्यालाबाट कटाइयो । आठ दिन लगाएर काठमाडौँ आइपुग्दा ज्यालाको सबै पैसा सकियो ।” अरु एक दुई वटा ट्रेकिङमा हिँडेपछि लाक्पा भारी बोक्न छोड्ने टुङ्गोमा पुगे । सार्कीले चाहिँ हरेस खाएनन् । बरु छाक छोडेरै भएपनि कामलाई निरन्तरता दिए । हाल उनी पर्यटक गाइड भएका छन् । मजदुरहरूको भलाइको लागि खोलिएको संस्था नेपाल टे्रकिङ, ट्राभल, राफ्टीङ युनियनको कोषाध्यक्ष बनेका छन् ।

हिउँमै पुर्ने डरलाग्दो व्यवहार

पर्वतीय क्षेत्रमा ट्रेकिङ जाँदा लेक लाग्ने सम्भावना हुन्छ । पर्यटकलाई लेक लाग्यो, घाउचोट लाग्यो भने भरियाले बोकेर कम उचाइमा झार्नुपर्छ । अझ पर्यटकको उपचारको लागि त हेलिकप्टरको समेत बन्दोबस्त हुन्छ । तर भरियाहरूलाई त्यस्तो सुविधा छैन । लेक वा घाउचोट भरियालाई पनि लाग्न सक्छ । लेक लागेका तत्काल कम उचाइमा झार्दा बाँच्ने सम्भावना ज्यादा हुन्छ । कतिपय पर्वतीय क्षेत्रको आधार शिविरहरूमा उपचारको व्यवस्था पनि छ । हिमालयन रेस्क्यु एशोसिएशन नेपालले फिरिचेमा उपचारको व्यवस्था गरेको छ । तर पर्यटकसँगै जाने टे्रकिङ एजेन्सीका प्रतिनिधि र भरियाका सरदारहरू कति संवेदनाहीन भैदिन्छन् भने भरिया बिरामी परेमा बाटोमै छाडिदिन्छन् । मरेमा हिउँले पुरिदिन्छन् ।

कतिपय घटनाहरू त कस्ता पनि छन् भने भरिया मरेको पनि थाहा हुँदैन सम्बन्धित परिवारलाई । गोरखाका एकजना भरिया लुक्लामा मरे । परिवारलाई खबर भएन । चार वर्षपछि उनका परिवार आफनो अभिभावक खोज्दै नेपाल ट्रेकिङ, ट्राभल, राफ्टिङ मजदुर युनियनमा आइपुगे । कोषाध्यक्ष सार्की भन्छन् ‘उनीहरूले बल्लतल्ल केही क्षतिपूर्ती लिएर गए ।

भरियाहरूमा एकता छैन

नेपालमा पर्यटक भरियाहरूको संख्या ५० हजारभन्दा बढी नै भएको अध्ययनबाट थाहा हुन्छ । एक महिनाको ट्रेकिङमा प्रतिपर्यटक ६ जना भरियाहरू लानु पर्ने हुन्छ । भरियाहरू ट्रेकिङमै बढी प्रयोग हुन्छन् । यदि पर्यटक आफैँले भरिया ल्याउनु पर्थ्यो भने उसको ट्रेकिङ ज्यादै नै महँगो हुन्थ्यो । यहाँ भरियाहरू सस्तोमा उपलब्ध हुन्छन् । भरियाको लागि भनेर पर्यटकहरूसँग जति पैसा लिइन्छ त्यो सबै भरियाहरूलाई दिइँदैन । यसको एउटा कारण भरियाहरूबीच हने अस्वस्थ प्रतिस्पर्धा हो । कहिलेकाहीँ त दिनको डेढसयसम्म ज्याला पाए भने पनि भरियाहरू भारी बोक्न तयार भैहाल्छन् । बाँकी पैसा ट्रेकिङ व्यवसायी र दलालहरूको खल्तीमा पुग्छ ।

आफ्नै साथीलाई बीच बाटोबाट अन्यायपूर्वक फर्काउँदा अरु भरिया चुइँक्क बोल्दैनन् । थप ज्याला पाइने प्रलोभनमा उनीहरू आफ्नै सहकर्मीले बोकेको सामान थप्न राजी भैहाल्छन् । ढिलोचाँडो सबैको पालो आउँछ तर चेत्दैनन् । बरु अलि माथि पुगेपछि उनीहरू ज्यालाको बार्गेनिङ गर्न थाल्छन् । भनेजति नदिएमा फर्किन्छु भनेर घुर्क्याउन थाल्छन् । एकजना सरदार भन्छन्, “कसले, कसलाई, कहाँ घुर्क्याउने ठाउँ र पालो हुन्छ । भरियाहरू आफ्नो ठाउँमा मात्तिन्छन्, हामी आफ्नो ठाउँमा कज्याउँछौँ ।”

रोल्वालिङ, मकालु, कञ्चनजंघा, रसुवा र लाङटाङका स्थानीय भरियाहरू आफ्नो क्षेत्रमा भारी बोक्ने काम आफूहरूले मात्रै गर्न पाउनुपर्ने दाबी गर्छन् । बाहिरबाट जाने भरियाहरूलाई भड्काउने, तर्साउने र उनीहरूले बोकेर त्यहाँ पुर्‍याएको सामान आफूहरू बोक्न प्रयास गर्छन् । यो प्रवृत्तिले भरियाहरू स्वयंलाई नोक्सान पुर्‍याएको छ । र पर्यटनसम्बद्ध मजदुरहरूलाई सङ्गठित गरेर नेपाल ट्रेकिङ, ट्राभल, र्‍याफिटङ मजदुर युनियनले मजदुर हकहितका पक्षमा आवाजहरू उठाएको छ । तर खास सफलता हात लागेको छैन् । मजदुरहरूको न आवाज एकत्रित छ न सशक्त । उनीहरूले आफ्ना २५ बुँदे मागहरूलाई सूत्रबद्ध गरेर आवाज उठाउन थालेको १० वर्षभन्दा बढी भैसक्यो । समग्रमा मजदुरहरूबीच दह्रो एकताको खाँचो छ ।

होटेलमा प्रवेश निषेध

कम ज्यालामा भारी बोक्न बाध्य भरियाहरू पर्यटक झैं सुकिला-मुकिला हुँदैनन् । महँगो खाना खाने ल्याकत पनि हुँदैन । त्यसैले हुनुपर्छ, ट्रेकिङ रुटका चिटिक्कका होटेलहरूमा भरियालाई प्रवेश निषेध हुन्छ । होटेलवालाहरू भरियासँग निम्नस्तरको व्यवहार गर्छन् । सगरमाथा क्षेत्रका होटेलहरूमा त गाइडहरूले पनि बास पाउँदैनन् । सानातिना होटलहरूमा भात खान्छन् र ओढारमा गएर सुत्छन् । कतिपय भरियाहरू चामल, पिठो र तरकारी बोकेर हिँड्ने गर्छन् आफैँ पकाएर खान ।

होटेलवालाहरूबाट भरियाहरू पीडित भएको बढी नै गुनासो आएपछि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी त्यसको जाँचबुझ गर्न एकदिन आफैँ नाम्चे बजारको एउटा होटेलमा पुगेर बास बसे । होटलमा पर्यटकहरू आएपछि उनलाई निकालियो । पछि ती अधिकारीले भरियाहरू पीडित भएकोमा ‘उचित व्यवस्था गर्न‘ मन्त्रालयमा सुझाव पठाएको भए पनि होटेलहरू हुन् वा होटल व्यवसायी, भरियाहरूले भारी बोकेनन् भने व्यवसायमा कत्तिको असर पर्ला भनेर उनीहरूले सोचेकै छैनन् ।

अन्नपूर्ण र लाङटाङ क्षेत्रमा भरियाहरूको लागि बस्ने खाने व्यवस्था छुट्टै छ । खुम्बुमा पनि ३५ जनासम्म भरियाहरू सुत्न मिल्ने गरी ‘पोर्टर हाउस‘ बनाइएको छ, नेपाल हिमालयन गाइड एशोसिएशनको अगुवाइमा । सोलुकै खुम्जुङमा पनि ५० जनासम्म भरिया अट्ने ‘पोर्टर हाउस‘ बनाइएको छ, जहाँ भरियाहरू निःशुल्क बस्न पाउँछन् । सबै पर्वतीय आधार क्षेत्रहरूमा ‘पोर्टर हाउस‘ को आवश्यकता महसुस गरिएको छ ।

भरियाहरूको माग

जीवन बिमा गराइनुपर्ने मागमा भरियाहरूको आवाज बढी केन्द्रित छ । मजदुर युनियनले समुद्र सतहबाट १७ हजार फिटसम्ममा मृत्यु भएमा दुई लाख र सो भन्दा माथि मृत्यु भएमा ३ लाखको बिमा व्यवस्था हुनुपछ भनेको छ । उनीहरूले अन्नपूर्ण क्षेत्रमा तीन सय ५० रुपिया दैनिक ज्याला कायम हुनुपर्ने माग राखेका छन् । औषधी खर्चको व्यवस्था हुनुपर्ने, उचाइमा आकस्मिक दूर्घटना भयो भने विदेशीलाई जस्तै भरियालाई पनि हेलिकप्टरको व्यवस्था हुनु पर्ने जस्ता मागहरू भरियाहरूले राखेका छन् । यी मागहरूमा बेला बेलामा हडतालहरू हुने गरेका छन् । हडताल साम्य पार्न प्रतिवेदनहरू बनाइएका छैनन् र मागको रूपमा मन्त्रालयमा पेश पनि भएका छन् । काम भने केही भएको छैन ।

अव्यवहारिक कानून

नेपालमा ट्राभल र ट्रेकिङ क्षेत्रमा २१ वर्षेखि सरकारी नियमावली यही छ । मजदुरहरूलाई कम ज्याला दिइएको र शोषण गरिएको चर्चा जति नै भए पनि यसमा कानूनतः कोही दोषी छैनन् । ट्राभल र ट्रेकिङ एजेन्सी नियमावली २०३७ मा पहाडी क्षेत्रमा भरियालाई न्यूनतम दैनिक ज्याला २१ रुपियाँ र भरियाको नाइकेलाई ३० रुपियाँ दिनुपर्ने उल्लेख छ । पारिश्रमिकको सवालमा कानून अत्यन्तै पुरानो भएको टिप्पणी भइरहेको बेला सरकारले हालै पर्यटन नियमावली २०५९ जारी गरेको छ, जसमा भरियाको लागि ३७ सय फिटसम्म्ाको उचाइमा दुई सय र त्योभन्दा माथि दुई सय ५० न्यूनतम दैनिक ज्याला तोकिएको छ । तर भरियाहरू यसबाट पनि त्यत्ति सन्तुष्ट छैनन् । उनीहरूलाई कानूनमा तोकिए अनुसारको ज्याला दिइँदैन, मोलमोलाइमा चल्न बाध्य पारिन्छ ।

२०३७ को नियमावलीमा भरियाको जीवन बिमाको पनि व्यवस्था छ । नियमावलीमा कुनै कारणवश बिमा हुन नसकेको भरियाको मृत्यु भएमा २५ हजार क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ भने भरियाको नाइकेको मृत्यु भएमा एक लाख क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ। उक्त रकम मृतकको नजिकको नातेदारलाई दिलाइदिने कर्तव्य सम्बन्धित ट्रेकिङ एजेन्सीको हो । बिरामी भएमा उपचार गर्ने कर्तव्य पनि ट्रेकिङ एजेन्सीकै हो।

नियमावलीमा हिमाली क्षेत्रमा पर्यटकको भारी बोकेर हिँड्ने भरियालाई कमसेकम एकजोर हिउँमा लगाउने जुत्ता, एउटा जाकेटवा उनीको ओड्ने कपडा र एकजोर पञ्जा उपलब्ध गराउनु पर्ने उल्लेख छ । त्यस्तै पहाडी क्षेत्रमा हिँड्दा एकजोर कपडाको जुत्ता रओड्ने रग उपलब्ध गराउनु पर्ने उल्लेख छ । तर भरियाहरूले नियमावलीमा उल्लेख भए अनुसारको कपडा लगाउन पाएका छैनन् । कतिपय भरियाहरूलाई यस्तो कानून छ भन्ने पनि थाहा छैन । थाहा पाएकाहरू पनि यसलाई आफ्नो अधिकारको रूपमा बुझदैनन् । दुई तिन वर्ष पर्यटक भरिया भई हाल गाइड गरिरहेका नेपाल हिमालयन गाइड एशोसिएशनका अध्यक्ष लाक्पादोर्जी शेर्पा नियमावलीलाई ‘कागजको खोस्टो‘ मात्र ठान्छन् ।

समस्या लुकाउने मानसिकता

ट्रेकिङका लागि हिँड्दा पर्यटक र भरियाबीच हमेसा एउटा दूरी कायम हुन्छ । निश्चित विश्रामस्थलमा पर्यटक पुग्नुभन्दा पहिल्यै भरिया पुगिसकेको हुनुपर्छ । अर्को यात्रा शुरु गर्दा भरिया अगाडि नै हिँडिसक्छ । भरियाहरूलाई ज्याला निर्धारण गर्दा वा उनीहरूप्रति दूर्ब्यवहार हुँदा पर्यटकहरूसँगै हुँदैनन् । नेपाललाई बुझन भनेर आउने पर्यटकहरू यहाँको जनजीवन, हिमाल, हावापानी, ऐतिहासिक सम्पदाहरूबाट आनन्दित त हुन्छन् तर उनीहरू आफ्नै भारी बोक्ने भरियाहरूको दुःख भने बुझन पाउँदैनन् । इन्टरनेशनल पोर्टर प्रोटेक्सन ग्रुपका नेपाल च्याप्टर प्रतिनिधि प्रकाश अधिकारी भन्छन्-भरियाहरूको दुःख पर्यटकसम्म पुग्नु हुँदैन । “नेपालको पर्यटन उद्मोग यस्तै छ, डाँवाडोल छ, झन् नकारात्मक प्रचार भयो भने त बित्याँस परिहाल्छ नि । बरु भरियाहरूको दुःखलाई न्यूनीकरण गदैँ लानुपर्छ,” उनको मत छ । मजदुरहरूको हित चिताउन खोलिएका संस्थाहरूले बुझ्नु पर्ने हो, भरियाहरूको दुःख घटाउन केही काम नगर्ने अनि यसको प्रचार हुनुहुँदैन पनि भन्ने मानसिकताले भरियाहरूको अधिकार मजबुत हुन सक्दैन

About discovery4p

Check Also

बुद्घबारे अपव्याख्या

आफ्नो स्वार्थपूर्ति र व्यावसायिक प्रयोजनमा गौतम बुद्घको नाम जथाभावी प्रयोग गर्ने प्रवृत्तिा चिन्ताको विषय बनेको …

लुम्बिनीमा बोटिङ, बाँदरको हातमा नरिवल

लुम्बिनी विकास कोषले विहार क्षेत्रस्थित नहरलाई हालै प्रयोगमा ल्याएको छ । नहरमा हुइँकिएर दौडने डुंगा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *