Friday , April 26 2019

लुम्बिनीमा प्रवेश शुल्क

श्रद्घा र भत्ति चढाउन आउनेसँग शुल्क उठाउनु असुहाउँदो कुरा त हो नै, बौद्घ भावना विपरीतकै कार्य हो।

– बसन्त महर्जन
प्रायः धार्मिक स्थलमा प्रवेश शुल्क लगाइँदैन । पशुपतिनाथ, चाँगुनारायण, बौद्ध, स्वयम्भू आदि विश्व सम्पदा स्थलमा मात्रै नभई देशभरका अन्य साना–ठूला धार्मिक स्थलहरूमा निर्वाध रूपमा प्रवेश दिइन्छ । तर, गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भने गएको १ भदौबाट प्रवेश शुल्क उठाउन थालिएको छ । प्र्रवेश शुल्कले के अर्थ राख्छ र यसबाट कस्तो असर पार्छ भन्नेमा लुम्बिनी विकास कोष अनभिज्ञ छ वा नियतवश नै उक्त निर्णय गरेको हो, चासोको विषय बनेको छ ।
धार्मिक स्थल सञ्चालन गर्न सामान्यतया प्रवेश शुल्कलाई आर्थिक स्रोत बनाइँदैन । दाताले राखेको गुठी जग्गाको आयस्ता तथा भक्तजनले चढाएको दान–दक्षिणाबाट व्यवस्था गरिन्छ । सरकारले पनि बजेट छुट्याएर संरक्षण प्रदान गरेको हुन्छ । धार्मिक क्षेत्रमै रहेका कतिपय संग्रहालय वा अन्य स्थलमा भने अवस्था हेरी प्रवेश शुल्कको व्यवस्था गरिएको हुनसक्छ । नाफा कमाउने उद्देश्यले निजी लगानी गरी सञ्चालित स्थलमा बाहेक अन्यत्र विशेष परिस्थितिमा मात्र सहयोगको नाममा शुल्क लगाइएको हुन्छ ।

लुम्बिनीको धार्मिक क्षेत्रमा प्रवेश शुल्क उठाउने सोच आजको होइन । प्रवेश शुल्क उठाउने र आम्दानी बढाउने कुरामा यसअघि धेरै पटक छलफल भइसकेका छन् । प्रवेश शुल्क जबर्जस्ती लगाए लुम्बिनी विकास कोष परिसरमा आत्मदाह गर्ने भनी भिक्षु सुदर्शन महास्थविरले उद्घोष गरेपछि कोष पछाडि हटेको थियो । यी भिक्षु दिवंगत भएको केही वर्षपछि नै २०६५ सालमा कोषले पुनः सोही निर्णय गर्‍यो । त्यस विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले प्रवेश शुल्क नउठाउनू भन्ने आदेश जारी गर्‍यो । यसमा अटेरी गरी कोषले विदेशी नागरिकसँग भने शुल्क उठाउन थाल्यो ।

१ भदौबाट भने भिक्षु–भिक्षुणी तथा रूपन्देही, कपिलवस्तु र नवलपरासीका बासिन्दा बाहेकका सर्वसाधारणसँग रु.२० र विद्यार्थीसँग रु.१० उठाउन थालेको छ । यस्तै, दृश्य छायांकन तथा फोटोग्राफीका लागि अतिरिक्त शुल्क तिर्नुपर्छ । जबकि अवलोकनकर्ताले खिच्ने फोटो÷भिडियोबाट विना लगानी लुम्बिनीको प्रचारप्रसार हुँदै आएको छ ।

लुम्बिनीका लागि सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्छ । उक्त बजेट नेपाली जनताबाट उठाइएको करबाट बनेको तथ्यलाई भुल्नुहुँदैन । लुम्बिनी पुग्ने नेपालीहरू स्वयं करदाता हुन् । प्रवेश शुल्क संकलन बौद्ध भावना अनुरूपको कार्य होइन । बरु बौद्ध दर्शनमा दान गर्नाले पुण्य कमाइन्छ भन्ने मान्यता छ । सर्वसाधारणबाट धेरथोर दान प्राप्त गरेर पुण्य कार्यमा एकमुष्ट दान गर्ने भिक्षु–भिक्षुणीहरू पनि हुन्छन् । दान गर्नमै सन्तुष्टि मान्ने सर्वसाधारणदेखि धनीमानी नेपाली धेरै छन् । तर, उनीहरूलाई लुम्बिनी विकास कोषले आश्वस्त पार्न सकेको पाइँदैन । प्रवेश शुल्क बापत उठाइने रु.२० खास ठूलो रकम होइन । तर, श्रद्धा–भक्ति प्रकट गर्न धार्मिक स्थलमा आउनेसँग शुल्क उठाउनु असुहाउँदो कुरा हो । यस्तै, बौद्ध स्थल कस्तो हुन्छ भनेर हेर्न आउने गैरबौद्धहरू त धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरण हुन् । उनीहरूसँग शुल्क असुल्नु धार्मिक सद्भाव विरोधी कदम नै हो ।

बुद्धले आफ्नो अन्तिम समयमा भिक्षु आनन्दसँग जन्मस्थल (लुम्बिनी), बुद्धत्व लाभस्थल (बोधगया), प्रथम धर्मचक्र प्रवर्तनस्थल (सारनाथ) र महापरिनिर्वाणस्थल (कुशीनगर) संवेजनीय स्थल भएको र यी ठाउँहरूमा गएर धर्म लाभ गर्न सकिने बताएका थिए । तर, यही कुरालाई लुम्बिनीका प्रवद्र्धकहरू बौद्ध भावना विपरीत बढाइँचढाइ गरेर लुम्बिनीको भ्रमण गरेमा धर्म लाभ हुने प्रचार गर्छन् । तर, यी चार स्थलमा बौद्धहरूको आगमन समान नभएकाले लुम्बिनी बारे प्रवद्र्धक र विश्वभरका बौद्धहरूको बुझइमा अन्तर रहेको छ । यसैले लुम्बिनीमा बौद्ध तथा अन्यको आगमन बढाउनु छ भने प्रचारप्रसार गर्नुका साथै बौद्ध वातावरण कायम गर्नुपर्छ । प्रवेश शुल्क लगाउने जस्ता कार्यले पर्यटकलाई विकर्षित मात्रै गर्छ ।

बुद्ध जन्मस्थल आफ्नो भूमिमा पर्नु नेपालको गौरवको विषय मात्र नभई विश्वसामु नेपाल चिनाउने माध्यम पनि भएको छ । यस दृष्टिले लुम्बिनीमाथि नेपालले गर्ने लगानीभन्दा कैयौं गुणा लाभ अन्यत्रबाट भइरहेको छ । लुम्बिनीको प्रवद्र्धनमा बौद्धहरूका साथै सम्पूर्ण नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान गरिरहनु सराहनीय कुरा हो । तर, प्रवेश शुल्क लगायत कोषले बेलाबेला गर्ने अविवेकी निर्णयहरूले सबै प्रयासलाई व्यर्थ पारिदिन सक्छ ।

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

लुम्बिनीमा बोटिङ, बाँदरको हातमा नरिवल

लुम्बिनी विकास कोषले विहार क्षेत्रस्थित नहरलाई हालै प्रयोगमा ल्याएको छ । नहरमा हुइँकिएर दौडने डुंगा …

गणेश हिमालको ठट्यौलो यती

गोठालाहरूले बिहानै त्यो ठूलो ढुंगामा बसेर आगो बाले । सधैंजस्तो घाम डुब्ने बेला यती आएर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *