Friday , July 19 2019

जगदीशपुर तालमा बुद्घ मूर्ति

जैविक विविधतायुक्त जगदीशपुर तालको बीचमा बुद्धको मूर्ति स्थाना गर्ने तयारी भइरहँदा पर्यावरणको पाटोलाई बेवास्ता गर्न मिल्दैन

  • बसन्त महर्जन

कपिलवस्तुस्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल जैविक विविधता र चराका कारण महत्वपूर्ण मानिन्छ । यो तालको बीचमा गौतम बुद्धको मूर्ति स्थापना गर्ने तयारी भइरहँदा यसबारे स्थानीयवासीमा मतभेद देखिएको छ । एक पक्षले बुद्धको मूर्ति राखिंदा तालको आकर्षण थपिने, पर्यटकको आगमन बढ्ने र आर्थिक उपार्जन हुने बताएका छन् भने अर्को पक्षले यसबाट तालमा चराहरूको आगमनमा प्रतिकूल असर पर्ने धारणा राखेका छन् ।

१५७ हेक्टरमा फैलिएको यो कृत्रिम तालमा जाडो छल्न हिउँदो याममा साइबेरिया (रूस), चीन, मंगोलिया, तुर्किस्तान, किर्गिस्तानलगायतबाट चरा आउँछन् । सन् २००३ मा विश्व सिमसारमा सूचीकृत जगदीशपुर तालमा ९० रैथाने प्रजातिसहित १६८ प्रजातिका चरा पाइने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले जनाएको छ । एक–दुई घन्टामै ४० भन्दा बढी प्रकारका चरा देख्न पाइने भएकाले यो ठाउँ चरा अवलोकनकर्ताका लागि आकर्षण बनेको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० ले पर्यटकीय आकर्षण थप्न र आर्थिक उपार्जन गर्न २२ असोजबाट तालमा संयुक्त रूपमा डुंगा सञ्चालन गरेका छन् । डुंगामा सयर गर्दै चराको अवलोकन गर्न पाउँदा पर्यटकहरू रमाएकाले यसबाट उत्साहित हुँदै अब तालको बीचमा बुद्धको मूर्ति राख्ने सोच बनाइएको छ । डुंगा चलाएका कारण यस वर्ष चराको आगमन घटेको भन्दै संरक्षणकर्मीहरूले बुद्ध मूर्तिले थप असर पार्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

तालको बीचमा बुद्धको मूर्ति राखिनु हुन्छ या हुँदैन भन्ने विवादलाई एकछिन थाती राखेर यहाँ र अन्यत्र पनि जथाभावी बुद्ध मूर्ति राखिनु हुन्छ कि हुँदैन भन्ने विषयमा छलफल गरिनु आवश्यक छ । बौद्ध समुदायले बुद्ध मूर्तिको निर्माण तथा स्थापना गर्नुको तात्विक अर्थ श्रद्धा व्यक्त गर्न तथा मूर्तिमा प्रयुक्त मुद्राबाट बौद्ध दर्शनको स्मरण गर्न हो । बौद्ध वातावरणको सिर्जना गर्न पनि बुद्धको प्रतिमा राख्ने गरिन्छ । तर, बुद्धको मूर्तिलाई सज्जाको वस्तु बनाउने तथा पर्यटकलाई आकर्षित गरी अर्थोपार्जन गर्ने सोच बौद्ध भावनाअनकूल छैन ।

लुम्बिनी तथा कपिलवस्तुका कतिपय ठाउँमा बुद्ध मूर्तिको स्थापना गर्ने तर बौद्ध भावनाअनुकूल व्यवहार नगर्ने प्रवृत्ति पनि देखिएको छ । कुनै भावना विना बुद्धको मूर्ति स्थापना गर्ने र पछि कुनै बहानामा अन्य मूर्तिसरह हटाउन खोज्दा नकारात्मक सन्देश प्रवाह गर्ने कुरा हेक्का राख्नुपर्छ । रूपन्देहीको सिद्धार्थनगरमा केही वर्षअघि राखिएको बुद्धको मूर्ति केही समयअघि त्यहाँबाट हटाउने प्रयास हुँदा बौद्ध जनसमुदायले चित्त दुखाएको प्रसंग यहाँ स्मरणीय छ ।

तालको बीचमा बुद्धको मूर्ति राख्न जगदीशपुर ताल व्यवस्थापन बहुसरोकार मञ्चले तालको मध्यभागमा ७० फिट अग्लो माटोको गोलाकार ढिस्को बनाइसकेको छ । त्यसलाई चारैतिरबाट १५ फिट ढलान गरिएको छ । तालको विकासका लागि चालु आर्थिक वर्षमा प्रदेश–५ सरकारले रु.२ करोड र संघीय सरकारले रु.१५ लाख विनियोजन गरेको छ । उक्त रकमबाट ताल आसपास भवन, जैविक विविधता पार्क र टावर निर्माण गर्ने योजना छ ।

जगदीशपुर तालको बीचमा बुद्धको मूर्ति राखेपछि चराहरुको वासस्थानमा नकारात्मक असर पर्ने संरक्षणविद्हरुको भनाइमा सम्वेदनशील हुनैपर्छ । उक्त भनाइलाई आत्मसात् गर्दै बुद्ध मूर्ति राख्ने जिद्दी छाड्नु बुद्धिमानी कदम हो । तालमा बुद्धको मूर्ति राख्नै पर्ने भए संरक्षणविद्हरुसँग छलफल गरेर वातावरणलाई असर नपु¥याउने उपाय अवलम्बन गरिनु पर्दछ । किनभने बौद्ध धर्मदर्शनले पनि दिगो पर्यायवरणमा जोड दिएको छ । बौद्ध वातावरण भन्नु पनि विशुद्ध प्राकृतिक हो । प्राकृतिक चक्र बिथोल्ने गरी तालको बिचमा बुद्धको मूर्ति राख्ने जोड दिइनु बुद्ध र बौद्ध धर्मदर्शनप्रति सम्बेदनशील नहुनु हो ।

मूर्ति राख्दा पनि मुचलिन्द नागले बुद्धको सेवा गरिरहेको दृष्य अंकित मूर्ति राख्दा अर्थपूर्ण हुन्छ । भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेको केही दिनपछि ध्यानमग्न रहेकै बेला ठूलो पानी पर्दा तलाउमा रहेको मुचलिन्द नागले बुद्धको सेवा गरेको वर्णन बौद्ध साहित्यमा पाइन्छ । यो क्षणलाई चित्र तथा मूर्तिकलामो आकर्षक रुपमा प्रस्तुत गरिन्छ । त्यही कुरालाई जगदीशपुर तालमा उपलब्ध गरिदिने हो भने लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र पर्यटकलाई त्यहाँसम्म तान्न सकिन्छ । लुम्बिनी आउनेहरुलाई कपिलवस्तुका बौद्ध स्थलहरूले तान्न नसकिरहेको अवस्थामा जगदीशपुर तालको आकर्षण सहायक हुनसक्छ ।

(साभारः हिमाल । १५२१ पुस २०७५)

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

लुम्बिनीमा बोटिङ, बाँदरको हातमा नरिवल

लुम्बिनी विकास कोषले विहार क्षेत्रस्थित नहरलाई हालै प्रयोगमा ल्याएको छ । नहरमा हुइँकिएर दौडने डुंगा …

गणेश हिमालको ठट्यौलो यती

गोठालाहरूले बिहानै त्यो ठूलो ढुंगामा बसेर आगो बाले । सधैंजस्तो घाम डुब्ने बेला यती आएर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *