Monday , August 26 2019

सराङकोटमा सूर्योदय

कोही बोलिरहेका छैनन, निकै शान्त थियो । बोल्नुको अर्थ असभ्य र असामाजिक हुनु हो त्यहाँ, त्यति बेला । त्यहाँ केही बोल्नुको आवश्यकता पनि थिएन किनभने सबै सूर्योदयकै प्रतीक्षामा थिए । मानौं, अलि हल्ला भयो भने सूर्य उदाउँदैन वा ढिलो गरी उदाउँदो हो ।

बसन्त महर्जन

विहान चार बज्नुअघि नै निद्रा खुलेको के थियो, बडो उत्साह र उल्लासकासाथ ओछ्यान छाडें । अरु बेला निदाउने प्रयास गथें र कोल्टे फेर्थें होला । तर यति बेला आफ्नै कोठामा थिइनँ, घरभन्दा २ सय किलाे मिटर पर पोखराको कुनै एउटा होटेलमा थिएँ अर्थात् यात्रामा ।

सराङकोटमा पुग्ने र सुर्योदय हेर्ने कुरा अघिल्लो राति नै तय भएको थियो । पोखरा पुग्ने पर्यटकका लागि सूर्योदयको दृष्यावलोक पनि एउटा आकर्षण हो र यसका लागि उपयुक्त थलो सराङकोट हुने गरेको छ । हत्तरपत्तर अर्को कोठामा रहेका सहयात्रीहरुलाई उठाउन जान्छु त, उनीहरु पनि उस्तै गरी उत्साहका साथ तयार भइरहेका थिए । पाँच बजे सडकमा निस्यौं र सराङकोट पु¥याइदिने ट्याक्सीको खोजीमा लाग्यौं । दुई तर्फी बाटोका लागि महेन्द्रपुलबाट १५ सय माग्यो । यो निकै महंगो दर हो । एक तर्फी मात्र भन्दा १ हजार भन्यो तर ८ सयमा कुरा मिलाएर त्यतातिर हुइँकियौं ।

ट्याक्सीले पोखरा बजार छाडेर सराङकोटको बाटो के लियो, उकालो सुरु भइहाल्यो । अलि परसम्म जाँदा त चकमन्न रातमा हामी मात्रै जस्तो लाग्थ्यो तर जसै अगाडि बढ्दै गयौं, अरु गाडीहरु देखियो । म अलि आँतिएर झ्याल बाहिर नियालिरहेको थिएँ । बाहिर उज्यालिन थालिसकेको थियो । जति जति समय बित्दै गइरहेको थियो, त्यति नै म आँत्तिन थालेकाे थिएँ । पहिला पनि बाटोमा ढिला भएको थियो र सूर्योदय हेर्न पाएको थिएन । अब पनि त्यस्तै होला भनेर चिन्तित थिएँ । जहाँ चिन्ता, त्यहीँ तन्ता । बाटोमा गाडीहरु रोकेर सवार यात्रुहरु नियाल्ने समूहको निगरानीमा प¥यौं । भित्र विदेशी यात्रु रहेछ भने तिनीहरुबाट पैसा उठाउने स्थानिय समूह रहेछन् । हामी तिनै जना स्वदेशी । तिनीहरुबाट पार पाएर अलि अगाडि के बढेका थियौं, एउटा ठुलो गाडी बिग्रेको भनेर रोकिनु प¥यो । बल्लबल्ल पास भएर अगाडि के बढेका थियौं, ट्राफिक जाम हुन थाल्यो । कोही त गाडीबाट झरेर हिड्न पनि थाले । हिडेर गयौं भने कति टाढा पर्छ भनेर सोध्छु, अलि जानु पर्छ भन्ने जवाफले हिड्न नि दिएन । एकछिनपछि बाटो खुल्यो र गाडी अगाडि बढ्यो ।

‘‘यहीँसम्म हो, अब यताबाट माथि लाग्नुस्’’– ड्राइभर ।

तिर्नुपर्ने पैसा तिरेर हामी निस्क्यौं । बाटो छेवैमा एउटा प्रवेशद्वारा देख्छौं र त्यसमा लेखिएको थियो– ‘सराङकोट भ्यू प्वाइन्ट तपाईहरुको हार्दिक स्वागत गर्दछ १’ प्रवेशद्वारदेखि नै खुडकिलाहरुले हामीलाई पर्खिरहेको थियो । छिटोछिटो उक्लियौं । जब माथि पुग्यौं त्यहाँ स्वदेशीसँग पनि पैसा उठाइरहेका रहेछन् । यहाँबाट फेवाताल र त्यसमाथिको विश्वशान्ति स्तूप पनि देखिन्छ । चिसो हावा चलिरहेको थियो । उज्यालो हुन थाल्दा पनि सूर्योदय भइसकेको भने थिएन । सन्तोष मान्ने कुरा यही भयो । सबै सूर्योदयकै प्रतीक्षामा थिए ।

उत्तरतिर बस्ने ठाउँ रहेछ । यहाँ बसेर सूर्योदयको दृष्यपान गर्न अलि बेग्लै मज्जा आउँदो होला, र त भीड लागेको । हामी पनि त्यतै लाग्यौं । कोही बोलिरहेका छैनन, निकै शान्त थियो । बोल्नुको अर्थ असभ्य र असामाजिक हुनु हो त्यहाँ, त्यति बेला । त्यहाँ केही बोल्नुको आवश्यकता पनि थिएन किनभने सबै सूर्योदयकै प्रतीक्षामा थिए । मानौं, अलि हल्ला भयो भने सूर्य उदाउँदैन वा ढिलो गरी उदाउँदो हो ।

दक्षिणी अन्नपूर्ण (७,२१९ मि), धौलागिरि (८,१६७ मि.) र माछापुच्छ्रे्र (६,९९७ मि.) का हिमालहरु आँखै अगाडि भनेजस्तो लहरै उभिएको । अघिसम्म सेताम्मे हिमालका चुचुरोहरुमा अचानक रातो देखियो, भालेको सिउरो जस्तो । विस्तारै पूरै हिमालमा हलुका लालिमा चढ्यो । पूर्वी छेउतिरको हिमालमाथि बादलले रिकापीजस्तो आकार लिएर मन्दराइरहेको थियो र सूर्यको लालीले त्यसमा राम्रैसँग प्रभाव छाड्यो । नयनाभिराम भयो । त्यहाँ केही आवाज छ भने आफ्नो साथीसँग गरेको खासखुस । खासखुस पनि अरु होइन, देखिएको दृष्यलाई छोटो वाक्य वा शब्दमा अनुभूति व्यक्त गरेको मात्रै । बेजोडको अनुभूति जब हुन्छ, व्यक्त गर्न नपाउँदाको अनुभूति मलाई राम्रैसँग छ । पाल्पा तानसेन माथिको डाँडामा गएर सूर्योदय हेर्दा मान्छेको नाममा म एक्लो थिएँ । त्यति बेलाको त्यो अनुभूति सुनाउने कोही थिएन, थिए त केबल आफ्नै दुई कान मात्र । सराङकोटमा आफ्नो अनुभूति व्यक्त गर्न परिचित हुनैपर्छ भन्ने जरुरत थिएन । मानौं, त्यहाँ पुगेका सबै एउटै परिवार हो अनि हितैषी पनि । त्यसमा आफ्नी प्रियतमा साथमा हुँदो हो त कुरा बेग्लै । साँच्चै, त्यहाँ जोडाजोडीहरु मनग्ये थिए ।

पश्चिम छेउमा सूर्यको रातो तेज जसै चम्कियो, करीब सबैले विस्तारै स्वास ताने र ढिलो गरी छाडे । स्वास तानेको आवाज राम्रैसँग सुनियो । विस्तारै सूर्यको सानो टुक्रा देखियो । विस्तारै उक्लियो । लामो र ब्यग्र प्रतीक्षापछि बल्ल आफ्नो प्रियतमा झुल्किएजस्तो सूर्य झुल्किन आइपुगेको थियो र सबैको अनुहारमा खुसीको लहर लहरियो । सूर्योदय र त्यसमा आफूलार्ई समेटेर तस्वीर उतार्नेहरुको विन्दासी पना बेग्लै विषय हो ।

(पहिलाे पल्ट नागरिक परिवार मा प्रकाशित)

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

बन्दिपुर यात्रा

बन्दीपुरको विशेषता यसरी रहेकैले त काठमाडौं उपत्यकाबाट मात्र नभएर यस सुन्दर चिटिक्क परेको बस्ती हेर्न …

साँखुुको बज्रयोगिनी र मणिचूड दहमा एक दिन

अघि उकालो चढ्ने बेला तीन घण्टा लागेको बाटो अब डेढ घण्टामै तल बज्रयोगिनी मन्दिरमा आईपुग्यौं …

Leave a Reply

Your email address will not be published. Required fields are marked *