Tuesday , October 15 2019

नागा बाबाको दर्शन

नांगा बाबाहरु निर्वस्त्र हुन्छन्, नानाभातीका अचम्म लाग्दा शब्दहरु बोलेर अनेक उजंग गरेर हिँड्छन। यिनका यी प्रत्येक क्रियाकलापको गूढ रहस्य हुन्छन्। यिनीहरु निर्वस्त्र हुनुको अर्थ यौनिकतासँग जोड्नु ठूलो भूल हो।

  • बसन्त महर्जन

शिवरात्री पर्वको सन्दर्भमा नागा बाबाहरुलाई लिएर नकारात्मक टिप्पणी हुन्छन्। नागा बाबाहरु काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा विशेषतः भारतबाट आउँछन् र नाङ्गै बस्ने वा सहर बजारमा हिँड्डुल पनि गरिदिनाले यिनीहरुप्रति समाज अलि नकारात्मक भएको पाइन्छ। भाङ धतुरो सेवनले त्यो नकारात्मक सोचाइलाई थप बल दिन्छ। यस अवस्थामा यिनलाई किन मान सम्मान दिनु परेको वा प्रतिबन्ध नै लगाइदिनु पर्छ भन्ने मन्तव्य प्रकट हुन थालेको बुझिन्छ। 

समग्रमा हिन्दू धर्म भनिए पनि यो अनेकौं सम्प्रदाय र उपसम्पदायहरुको समुच्च नाम हो। यसमा एउटा शैवधर्म पनि हो। मूलतः शैवधर्मसँग सम्बन्धित शिवरात्री पर्व आजभोलि शैवका अतिरिक्त वैष्णवलगायत अन्य हिन्दू सम्प्रदायले पनि आत्मसात गरिसकेको अवस्था छ। शैवधर्मका अनेकौं उपसम्प्रदायमा पाशुपत, शैव, कापालिक, कालामुख, लिंगायतन आदि हुन् र यिनीहरु आ–आफ्नै ढंगले शिवको आराधना गर्दछन्। यिनै आराधना वा उपासनाका विधिमा नाङ्गै हिँड्नु पनि एउटा हो।

शैवधर्मका सम्प्रदायहरु छुट्टाछुट्टै मूल्य र मान्यताअनुसार अस्तित्वमा छन्। छोराछोरी दुबैको उपनयन संस्कारपछि यज्ञोपवीत (जनै) को बदलामा ‘शिबलिंग’ धारण गर्ने लिंगायतन हुन वा खप्परमा भोजन गर्ने कालामुख, नशा सेवन गर्ने तथा श्मशानमा विचरण गर्ने कापालिक, सबैका आआफ्नै विशेषता छन्। आफ्नै मूल्य, मान्यता, विश्वास र दर्शनअनुसार साधनामा लागेका सम्प्रदायमा पाशुपत सम्प्रदाय अन्यभन्दा अलि फरक छ। शारीरिक रुपमा निर्वस्त्र हुनु, शरीरमा खरानी लेपन गर्नु र खरानीमै सुत्नु, ओठ र घाँटीको मद्दतले हा हा गरी कराउनु, जिब्रोको सहायताले साँढेको जस्तो आवाज निकाल्नु, लर्खराउँदै हिँड्नु, अज्ञानीजस्तो घृणित व्यवहार गर्नु, निरर्थक कुरा पनि गर्नु, कुनै सुन्दरी युवतीलाई देखेर श्रृङ्गारिक हावभावमा आफूलाई प्रेमासक्त देखाउनु आदि अन्य समाजका लागि अराजक र अपाच्य प्रवृत्ति हो भने यही कुरालाई यो सम्प्रदायको मुख्य पहिचान वा साधनाको रुपमा लिन सकिन्छ। 

यिनीहरुमाथि नियन्त्रण गर्नु पर्ने धारणा विगतमा यदाकदा मात्रै सुनिए पनि अचेल पत्रपत्रिका तथा सामाजिक छलफलको विषय बन्न पुगेको छ। यसो हुँदाहुँदै पनि नांगा बाबाहरुमाथि नियन्त्रण नभएर पशुपति विकास कोषबाट संरक्षण र सहयोग भइरहेको छ। उपहार दिने परम्परा निर्वाह हुँदै आइरहको छ। यो सम्प्रदायमाथि अतीतमा पनि यस्तै नकारात्मक धारणा राख्नेहरु नभएका होइनन् तर पनि सम्मान प्रकट गर्दै आइरहेको अन्तरवस्तुलाई नबुझी हठात् कुनै निर्णय लिनु अनेक दृष्टिले घातक सिद्ध हुनसक्छ। 

नांगा बाबाहरु सर्वसाधारण वा सामाजिक जीवन व्यतित गरिरहेका छैनन। असामाजिक हुन्। घरबार सबै छाडेर एउटा निश्चित मूल्य, मान्यता र दर्शनअनुसार साधनाको पथमा हिडेका हुन्। विचार र दर्शनको  भिन्नतासँगै साधना पद्दति पनि भिन्नै हुनु स्वाभाविक कुरा हो। आ–आफ्नो पद्दति नै सही र अन्य पद्दति गलत रहेको दृष्टिकोण प्रायःमा पाइन्छ। यसलो मनोमालिन्य र द्वन्द्वको वातावरण सिर्जना गरिदिन्छ। सकिन्छ भने आफ्नो साधना पद्दतिको उपादेयता सिद्ध गरी अरुलाई आकर्षित गर्ने हो, अरुको साधनापद्दति माथि नकारात्मक टिप्पणी गर्दै र धावा बोल्दै हिँड्नु हुन्न। निषेधको बाटो अवलम्बन गर्नु वा त्यस्तो सोच राख्नाले चिन्तन मनन तथा स्वतन्त्र अभ्यासमा बाधा पर्दछ।  

नांगा बाबाहरु निर्वस्त्र हुन्छन्, नानाभातीका अचम्म लाग्दा शब्दहरु बोलेर अनेक उजंग गरेर हिँड्छन। यिनका यी प्रत्येक क्रियाकलापको गूढ रहस्य हुन्छन्। यिनीहरु निर्वस्त्र हुनुको अर्थ यौनिकतासँग जोड्नु ठूलो भूल हो। यिनीहरुको आदर्श त ब्रम्हचर्य हो। बेलाबेलामा जुन रुपमा बर्बराउने हो, त्यसमा पनि जीवन दर्शनका कुराहरु सांकेतिक रुपमा निहित रहेका हुन्छन्। एक प्रकारले यिनीहरु बाह्य जगतका लागि तमासे हुन्छन् तर वास्तवमा यसलाई लोकाचार वा सामाजिक व्यवस्थबाट टाढिंदै जाने प्रकृयाका रुपमा बुझ्न सकिन्छ। 

निर्वस्त्र हुने, निर्वस्त्र भई घुमफिर गर्ने र समाजबाट टाढिने यो चलन कुनै नौलो भने होइन। यस्ता दृष्टान्तहरु बौद्ध तथा जैन साहित्यमा पनि थुप्रै पाइन्छन्। बुद्धत्व प्राप्तीका लागि अनेक साधना गर्ने बेलामा श्रमण गौतम (गौतम बुद्ध, इ.पू. ५६३–४८३) पनि त्यस्तै गरी हिँडेका थिए। तपश्याका अतिरिक्त गौतम बुद्ध अचेलक, अघोरी आदि मार्गबाट पनि आफ्नो साधनाको दूरी तय गरे। तर यी चर्या वा साधनाबाट अपेक्षित लाभ नभएपछि ध्यान साधना अपनाएका थिए र बुद्धत्व प्राप्त गरी गौतम बुद्धका नाममा प्रख्यात बने। उनीभन्दा निकै आगाडिदेखि नै प्रचलनमा रहेको यो पद्दतिको विकल्पमा बुद्धले ध्यान साधनाको कुरा गरे, ध्यान साधनाको विधि सिकाए। जीवन दर्शनका अन्य कुरा गरे। बुद्धत्व प्राप्तीपछि पनि बुद्धको थुप्रै निर्वस्त्रधारीसँग भेट र शास्त्रार्थ हुन्थ्यो। अन्य  पन्थका साधुसन्यासीलाई आफूतर्फ आकर्षित गरेर भिक्षु पनि बनाए। तर सबैलाई आफ्नो बाटोमा ल्याउन भने सकेनन्। यसरी निर्वस्त्र हुने सबैलाई शैव सम्प्रदायको पाशुपत नै भनेर बुझ्न पनि हुन्न। कैवल्य प्राप्तीका लागि साधनारत रहँदा जैन धर्मका महावीर वर्धमानको वस्त्र हावापानीले मक्किएर खसेको थियो र त्यस उप्रान्त उनी निर्वस्त्र नै भई हिँडेका थिए। वस्त्रको आवश्यकता नै भएन। यसलाई दिगंवर भनिन्छ। यसको सिको उनका शिष्यहरुले पनि गर्न थाले। उनीभन्दा निकैपछि मात्रै अर्को श्वेताम्वर सम्प्रदायको उदय भएको थियो। निर्वस्त्र हुने जैन मुनिहरुको सम्प्रदाय दिगंगर र लुगा लगाउने जैन मुनिहरुको सम्प्रदाय श्वेताम्वर भयो। 

बुद्ध मध्यम मार्गमा जोड दिन्थे। तर बौद्ध दर्शनको विकास क्रममा तन्त्रमन्त्रले ठाउँ पाउन थाल्यो। र, तन्त्रयान र मन्त्रयान सम्प्रदायको विकास भयो। यस सन्दर्भमा सहजपाद नामको एक सिद्धको नाम यहाँ स्मरण हुन्छ। चौरासी सिद्धहरुमा यिनी एक हुन्। बौद्ध विहारमा भिक्षुका रुपमा जीवन व्यतीत गरिरहेका सहजपादलाई लाग्यो, यसरी हुँदैन, बेग्लै बाटो अपनाउनु पर्छ। उनी विहारबाट निस्के र तत्कालिन समाजमा तल्लो दर्जामा राखिएको, अछूत भनिने एक विधवा आइमाइसँग घरजम गरे। अघिसम्म सम्मानित जीवन विताइरहेका सहजपाद अब घृणाको पात्र बने। उनको चर्तिकलालाई समाजले पचाउन सकेन तर यो उनको एउटा साधना थियो। र, यही साधनाबाट उनी सिद्ध भए। अन्य धर्म सम्प्दायको प्रसंग संक्षिप्त रुपमा उठाउनुको तात्पर्य निर्वस्त्र हुने साधुसन्तहरु शैवबाहेक अन्य सम्प्रदायमा पनि छन् भन्नु हो।  

दर्शनशास्त्रका विद्यार्थीका लागि यी नागा बाबाहरु पनि राम्रो श्रोत व्यक्ति हुनसक्छन्।  केही नांगा बाबासँग यस लेखकले पटक पटक साक्षात्कार गरेको छ। शिवरात्रीका बेला पशुपतिनाथ मन्दिर परिसरमा तमाशा र हाँसोको पात्र हुने यिनीहरु अत्यन्तै सहज, सौम्य र गम्भीर रुपमा प्रकट भएर गम्भीर जीवनदर्शनको गहन पक्षमा छलफल गर्ने गरेको पाइयो। दर्शनको गहनतालाई सहज रुपमा सरल ढंगले यसरी पनि व्यक्त गर्न सक्दा रहेछन् जुन शास्त्रीय ग्रन्थबाट प्रायः मुस्किल नै हुने गर्दछ।  

यस सम्प्रदायप्रति नकारात्मक धारणा राख्नेहरु यिनमा निर्वस्त्र देह, यौनाङ्गको प्रदर्शन, जगत हँसाइको चर्तिकला मात्रै देख्छन्। र, सभ्य समाजमा यिनीहरुमाथि नियन्त्रण वा निषेध गर्नु पर्ने विचार व्यक्त गर्दछ। नांगा बाबाहरु माथि नियन्त्रण वा निषेध गर्नुको तात्पर्य एक सम्प्रदाय अर्को सम्प्रदायप्रति असहिष्णु हुनु हो र आफूलाई केन्द्रमा राखेर अरुलाई हेर्नु हो। आफूलाई आफैंले सर्र्वोच्चमा राखेर अन्यलाई दमन गर्ने मानसिकताको विकास गर्नु हो। हिन्दू नै भएर पनि अर्को हिन्दू सम्प्रदायबारे गलत धारणा राख्ने, असहिष्णु हुने र निषेध गर्नेबाट गैर हिन्दूले के नै पो आशा गर्न सकिन्छ र ? बरु यसै सन्दर्भमा दार्शनिक स्तरमा वृहत्त छलफल तथा खण्डनमण्डन गरेर आफ्नो  दृष्टिकोणलाई सिद्ध गरी आफूतिर आकर्षित गर्नु पर्दछ जुन पूर्वीय धर्मदर्शनको दार्शनिक परम्परा हो। 

निर्वस्त्र वा यौनाङ्गसँग यौनिकताको सम्बन्ध हुनै पर्छ भन्ने अनिवार्य छैन। एउटी पोर्नस्टार महिलाले वक्षस्थल प्रदर्शन गर्नु र आमाले शिशुलाई दूध चुसाउन खोल्नुमा फरक हुन्छ। तर हेर्नेले जुन दृष्टिकोणबाट हेरिदिन्छ, सबै कुरा त्यसैमा अन्तरनिहित हुन पुग्छ। हिमाली भेकको केही समाजमा बहुपतिप्रथा छ। अन्य समाजको आँखाले हेर्दा त्यो नराम्रो हो तर त्यसलाई त्यही समाजको आँखाले हेर्दा मात्र वास्तविकता बुझ्न सकिन्छ। उक्त समाजको एक अविवाहित युवतीले यस लेखकलाई दिएको जवाफ बडो सटिक छ। उनले दिएको त्यही जवाफलाई नांगाबाबाहरुसँग पनि जोडेर निचोड निकाल्न सकिन्छ। उनले दिएको जवाफ हो– ‘‘तपाईहरुले एकभन्दा बढी श्रीमति राख्ने गरेको सुन्दा हामीलाई पनि कस्तोकस्तो अप्ठ्यारो लाग्छ।’’ 

शिवरात्री पर्वका अवसरमा काठमाडौंको पशुपति वा वरिपरि देखिने नांगा बाबाहरुको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ।

साभारः नागरिक दैनिक

About discovery4p

Check Also

जति धेरै श्रीमान उति नै शक्तिवान : हिमाली क्षेत्रमा बहुपति प्रथा

घरमा सबैले कमाएर ल्याउने धन एउटै ढुकुटीमा जान्छ र त्यो ढुकुटीको संचालक ती महिला नै …

नेवार महिला कहिल्यै विधवा हुन्नन्

नेवार समाजमा दाम्पत्य जीवनको लागि गरिने विवाहको आफ्नै महत्व हुँदाहुँदै पनि पारपाचुकेको सजिलो बाटो पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *