Monday , August 26 2019

बुद्धकालीन ब्राह्मणहरु

बुद्धले आफू पछि कसैलाई पनि धर्माधिकारी घोषणा गरेका थिएनन् र त्यस्तोे व्यवस्था गरेको भए निश्चित रुपमा छानिने भिक्षु महाकाश्यकको पृष्ठभूमि ब्राह्मण नै थियो । त्यसपछिका दिनमा  पनि ब्राह्मण जातिको प्रवेश उल्लेखनीय छ।  

  • बसन्त महर्जन

बौद्ध धर्म दर्शनको सन्दर्भमा ब्राह्मण समुदायको चर्चा प्रायः गैर बौद्ध सन्दर्भमा गरिएको पाइन्छ। गौतम बुद्धद्वारा देसित उपदेशसँग सम्बन्धित सबै विषयवस्तु बौद्ध हुन्। यस हिसावले बुद्ध र ब्राह्मण दुई विपरीतार्थ शब्द नै हुन् कि भन्ने आभास हुन्छ। कतिपय सन्दर्भमा ‘ब्राह्मण हुँ, बौद्ध धर्मदर्शनतिर कसरी लाग्न सक्छु र?’ भन्ने संशय वा प्रश्नले बुद्ध र बौद्धका सन्दर्भमा अतिरन्जित चित्रण हुने गरेको दर्साउँछ। यो साँचो हो, बुद्धको दार्शनिक सिद्धान्त तथा सामाजिक गतिविधिप्रति तत्कालीन ब्राह्मण समाजले तीब्र प्रतिक्रिया दिएको थियो। बुद्धको प्रहार पनि तिनै ब्राह्मण समाजको सोचविचार तथा जीवनदर्शनप्रति नै लक्षित थियो।

सुंग वंशका संस्थापक राजा पुष्यमित्रले कोही बौद्ध भिक्षुको शीर छेदन गरी बुझाउन ल्याउनेलाई इनामबापत निश्चित दिनारको घोषणा गरेबाट पनि यी दुई विचार धाराको सम्बन्धबारे स्पष्ट हुन्छ। तर बुद्धको उपदेश ग्रहण गरेर भिक्षुत्व ग्रहण गर्ने ‘पञ्चभद्र वर्गीय भिक्षु’का रुपमा चिनिएका पाँँच भिक्षुहरु ब्राह्मण समुदायबाटै थिए। बुद्धका अग्रश्रावकद्वय सारिपुत्र र मौद्गल्यायन पनि ब्राह्मण नै थिए। महाकाश्यपलगायत थुप्रै प्रभावशाली भिक्षुहरु पनि ब्राह्मण नै थिए। बुद्धको महापरिनिर्वाणपछि पनि बौद्ध धर्ममा ब्राह्मणहरुको प्रवेश निरन्तर भइ रहेको पाइन्छ र आजपर्यन्त यो जारी छ। बौद्ध धर्मको विकास र विस्तारमा ब्राह्मण वर्गको योगदानलाई मुक्तकंठले प्रशंसा गर्नै पर्दछ। यस सन्दर्भमा बुद्ध र ब्राह्मणको बुझाइमा पुनर्विचार गर्नु आवश्यक छ।

बौद्ध धर्मको श्रावकयानअन्तर्गत थेरवादी परम्पराले मान्दै आएको आधिकारिक ग्रन्थ ‘त्रिपिटक’ मा ब्राह्मणको चर्चा पाइन्छ।  महायानअन्तर्गतका ग्रन्थहरुमा पनि यस्तै गरी ब्राह्मणका सन्दर्भहरु पाइन्छन्। कसलाई ब्राह्मण भन्ने वा नभन्ने प्रश्नको जवाफ पनि पाइन्छन्। ‘धम्मपद’मा त ब्राह्मण वर्ग भनेर छुट्टै अध्याय छ। यसरी नै भिन्नाभिन्नै सूत्रहरुको अध्ययनबाट तत्कालीन ब्राह्मण समाजको सर्वाङ्ग पक्षलाई बुझ्न सकिन्छ। सन्दर्भवस उल्लेख हुने ती वर्णनहरु खोज्नै पर्ने हुन्छ तर आचार्य डा. भिक्षु अमृतानन्द (वि.सं. १९७५–२०४७) बाट यो असाध्य काम भएको छ। ती जम्मै प्रसङ्गलाई एकत्रित गरी आनन्दकुटी विहार गुठीले ‘बुद्धकालीन ब्राह्मण’ भाग १ (वि.सं. २०२८), भाग २ (वि.सं. २०३४) र भाग ३ (वि.सं. २०३४) प्रकाशित गरेको थियो। अन्य शीर्षकमा पनि प्रकाशित ती जम्मै ग्रन्थहरु बजारमा अप्राप्य भएको अवस्थामा सबैलाई समेटेर पाटनस्थित वीर–पूर्ण पुस्तक सङ्ग्रहालयले जम्मा २७ ग्रन्थ समेटेर साढे १३ हजार पृष्ठमा ‘बुद्धकालीन नेपाली विश्वकोश’ प्रकाशन गरेको छ।

‘त्रिपिटक’ ग्रन्थको अध्ययनका लागि मौलिक पाली भाषामा पहुँच नभएका वा अनुवाद नै पढ्न पनि सहज नभएकाहरुलाई यो विश्वकोश राम्रो माध्यम बन्न सक्छ। यसमा बुद्धको सम्पर्कमा पुगेका विभिन्न ६३ जना ब्राह्मणको व्यक्तिगत चरित्र चित्रण गरिएको छ। त्यही चित्रणका क्रममा तत्कालिन ब्राह्मण समाज,  तिनका सोच विचार र जीवन दर्शन मात्रै नभएर बौद्ध धर्मदर्शनकै विशिष्टता उजागर भएको छ। बुद्धका उपदेशहरु यस्तै विभिन्न व्यक्तिसँगको सम्वादमा संग्रहित भएको अवस्था हो।

को हुन् ब्राह्मण?

मगधराजा बिम्बिसारद्वारा दत्तजनाकीर्ण (अपार धनसम्पत्ति दानस्वरु पाएको) एवं चम्पाका स्वामी सोणदण्ड ब्राह्मण दलबलसहित जातीयतासम्बन्धी बुद्धसँग सम्वाद गर्न आउँदा बुद्ध प्रश्न गर्छन्– ‘‘ब्राह्मणहरु कति गुणले युक्त पुरुषलाई ब्राह्मण मान्दछन्?’’

सोणदण्डले पाँच गुणले युक्त भएको पुरुषलाई ब्राह्मण भनिन्छ भनेर जवाफ दिए। ती पाँच गुण निम्न प्रकारका छन् १. जातीयतामा दुबै तर्फबाट शुद्ध, २. अध्यापक (वेदपाठी, मन्त्रधर), ३. अभिरुपी, दर्शनीय, गौर वर्णयुक्त, ४. शीलवान र ५ं पण्डित मेधावी। बुद्धले यी पाँच गुणमा एकलाई छाड्न सकिन्छ? भनेर प्रश्न गर्दा ३ नम्बरमा रहेको अभिरुपी, दर्शनीय, गौर वर्णयुक्त’ लाई छाड्न सकिने जवाफ दिन्छन् किनभने अरु गुणका अगाडि यो ठूलो कुरा होइन। पाँच वटा गुणमा चार गुण बाँकी रह्यो। बुद्धले चारमध्ये पुनः अर्को एउटा पनि गुणलाई छाड्नु परे कसलाई छाड्न सकिन्छ भनेर प्रश्न गरे। सोणदण्डले दुई नम्बरमा रहेको गुण ‘अध्यापक (वेदपाठी, मन्त्रधर)’ छाड्न सकिने बताए। बाँकी रह्यो तीन। तीन गुणमा पनि एउटा छाड्नु परे कसलाई छाड्न सकिन्छ भनेर सोध्दा पहिलो गुण दुबैतर्फबाट शुद्ध जन्मेको गुण छाड्न सकिने बताए। अब बाँकी रह्यो दुई गुण–शीलवान र पण्डित मेधावी। बुद्धले पूर्ववत् प्रश्न गर्दा सोणदण्ड ब्राह्मणले यी दुई गुणलाई छाड्न नसकिने जवाफ दिए। यसको तात्पर्य हो, जन्ममा आधारित जातिवाद, वर्ण, पण्डित्याइँ ठूलो कुरा होइन।

श्रावस्तीस्थित जेतवन विहारमा बुद्ध र एसुकारी नामक एक ब्राह्मण बीच सम्वाद भएको थियो। सम्वाद एक वर्णले अर्को वर्णको कसरी सेवा गर्नु पर्छ भन्ने विषयमा केन्द्रित थियो। बुद्धले यसमा कसले कसको सेवा गर्ने भन्ने विधान बनाउँदा ब्राह्मणलाई अरु वर्णका मानिसले सो अधिकार दिएको वा नदिएको भन्ने प्रश्न हुन्छ। त्यस्तो प्रकारका कुनै पनि अधिकार अन्य वर्णले नदिएको जवाफ पाएपछि बुद्धको प्रतिक्रिया हुन्छ– ‘‘त्यसो भए जस्तो कि– आफ्नो भन्ने केही नभएको, कुनै अन्न सम्पत्ति नभएको दरिद्री मानिसलाई, उसको इच्छाको विरुद्ध हे पुरुष! यो मांसभाग तिम्रो खाना हो, यसको पैसा तिमीले तिर्नुपर्छ भनी (जबर्जस्तीसँग) भाग लगाइ दिन्छ, त्यस्तै ब्राह्मण्हरुले पनि कसैको अनुज्ञा विना नै यी चार प्रकारका स्व–धन प्रज्ञापन गरेको ठहरिन्छ।’’

एक समय गौतम बुद्ध इच्छानंगल नामक ब्राह्मण ग्रामसँगै रहेको वनमा थिए। पौष्करसाति ब्राम्हणले बुद्धका बारेमा सुने र आफ्नो योग्य शिष्य अम्बठ्टलाई भगवान बुद्धकहाँ गई दर्शन गर्न पठाए। तर अम्बट्ठमा आफू ब्राह्मण भएको र शिक्षामा पनि उच्च रहेको भनी अभिमान थियो। यही अभिमानका कारण बुद्धप्रति श्रद्धा राख्नुको बदला बुद्धको नै अपमान हुने व्यवहार गर्न थाले । अपमान गर्ने क्रममा शाक्य जातिलाई चण्ड पनि भन्न पुगे। उनलाई बुद्धले विस्तारै अम्बठ्ट मानवको पुर्खा शाक्यहरुकै दास रहेको कुरा ऐतिहासिक पुष्टि गरिदिए। साथै बुद्धले अन्त्यमा अम्बठ्टमा रहेको जातिवादको भ्रम हटाइदि । यो घटनापछि पौष्करसाति पनि बुद्ध कहाँ गइ शिष्यका तर्फबाट माफी माग्नुसाथै धर्मउपदेश सुनेर बुद्धको उपासकत्व ग्रहण गर्न पुग्छन्।

वाशिष्ठ (पोष्करसातिका शिष्य) र भारद्वाज (तारुक्षका शिष्य) बीच एउटा विवाद हुन्छ– ‘जो मातृकुल–पितृकुलबाट सात पीढिसम्म शुद्ध छ, उही ब्राह्मण’ हो कि ‘जो शीलवान छन् अथवा व्रत नियम पालना गर्दछ उही ब्राह्मण।’ यस प्रश्नलाई लिएर दुबै ब्राह्मण बुद्धकहाँ पुग्छन्। बुद्धले ती दुई ब्राह्मणका प्रश्नको जवाफमा निम्न उपदेश दिन्छन्– जीव जन्तुमा जातिभेद स्पष्ट देखिन्छ तर तिनीहरु तल्लो र मल्लो जातिका कुरा गर्दैनन्। तर, त्यस प्रकारको जातिभेद मनुष्यमा पाइँदैन।’’

श्रावस्तीमा हवन गरिरहेका अग्निक भारद्वाज ब्राह्मण भिक्षाटन आएका गौतम बुद्धप्रति लक्षित गर्दै चिच्याउँदै भन्छन्, ‘त्यही रोक वृषल, रोक।’ र बुद्ध उनीसँग प्रश्न गर्छन्– ‘ब्राम्हण, तिमीलाई थाहा छ, वृषल (नीच) बनाउने के ले रहेछ भन्ने कुरा?’ यसै सन्दर्भमा बुद्ध उपदेश दिन्छन्– ‘ब्राह्मणी आमाको कोखबाट जन्मेकै कारणले म कसैलाई ब्राम्हण मान्दिन। ऊ त भोगवादी ब्राह्मण सदृश्य व्यवहार गर्ने हो। परिग्रह हो। म त अपरिग्रह एवं अयाचकलाई नै ब्राह्मण मान्छु।’’

कोसल जनपदको सुन्दरिक नदी किनारमा विहार गरिरहेका बखत सुन्दरिक भारद्वाज नामका ब्राह्मण आएर बुद्धको जातिबारे सोध्छन् र बुद्धले आफू कुनै पनि जातको नभएको जवाफ दिन्छन्। बुद्ध भन्छन्–‘जातको बारेमा नसोध्नु, आचरणका बारेमा सोध्नू। काठबाट आगो निस्कन्छन्। यसरी नै नीच कुलमा जन्मे पनि मुनि धृतिमान् उत्तम र लज्जायुक्त कामबाट टाढा बस्ने हुन्छन्।’

कसलाई ब्राह्मण भन्ने वा कसलाई नभन्ने, ब्राह्मणको गुण के के हुनु पर्छ आदिबारे उपदेश संग्रहित धम्मपदको एउटा गाथा प्रसिद्ध छ,–
न जटाहि न गोत्तेहि न जच्चा होति ब्राह्मणो
याम्हि सच्चञ्च धम्मो च सो सुची सो च ब्राह्मणो (धम्मपद ३९३)
अनु : जटाधारी हुँदैमा, गोत्र पाउँदैमा, जाति मात्रले पनि ब्राह्मण हुँदैनन। जोसँग सत्य र धर्म हुन्छ उही पवित्र हो। ब्राह्मण हो।

प्रतिभावान ब्राह्मणहरु  
तत्कालीन ब्राह्मण समाज एउटा व्यवस्थित र नीतिनिर्देशनबाट निर्दिष्ट भएपनि विविधताले युक्त भएको देखिन्छ। कोही जडतामा जकडिएका रहेछन् भने कोही ज्ञान पिपासु। सारिपुत्र र मौद्गल्यायन दुई ज्ञानपिपासु ब्राह्मण थिए र एउटै गुरुकुलमा बसेर अध्ययन गरिरहेको भएपनि यी दुई ब्राह्मणबीच एउटा समझदारी बनेको थियो, जसले जहाँबाट ज्ञान प्राप्त गरेको भएपनि आपसमा बाँड्ने। एक समय बाटोमा गइरहेका बेला एक भिक्षुबाट बुद्धका बारेमा थाहा पाए र ‘यस जगतमा जति पनि धर्म छन्, हेतुका कारण उत्पन्न भएका हुन् र त्यो हेतुका बारेमा बुद्धले भनेका छन्, यी धर्महरुको निरोध पनि हुन्छन् र महाश्रवण (बुद्ध)ले यसको निरोधका बारेमा पनि बताएका छन्’ भनेर थाहा पाए। बुद्धका बारेमा यति जान्नु नै उनीहरुलाई काफी थियो र दुबै मित्र बुद्धको समक्ष पुगी भिक्षुत्व ग्रहण गरी चाँडै अग्रश्रावकको पद लिए।

बुद्ध सबैलाई समान व्यवहार गर्दथे। उनका लागि जाति, वर्ण, गोत्र सबै अर्थहीन थियो। बुद्धको यही विशेषता तत्कालीन ब्राह्मण समाजलाई अपाच्य भएको थियो। निकै आलोचित पनि भए। तर बुद्धलाई यस कुराको पर्वाह थिएन तर यसै सन्दर्भमा ब्राह्मणसँग हुने छलफल वा सम्वादपछि ब्राह्मणहरु रुपान्तरित हुन्थे। रुपान्तरणको यो प्रक्रियामा रोचक र उल्लेखनीय कुरा हो– बुद्ध वा बौद्ध भिक्षुहरुसँगको संक्षिप्त वार्तालापबाटै ब्राह्मणहरुले धर्मबोधि गरिसक्ने । तुलनात्मक रुपमा छोटोछोटो उपदेशबाटै ब्राह्मणहरुले धर्मबोध गर्ने गरेको दृष्टान्तले के बुझाउँछ भने ब्राह्मणहरु अनेक शास्त्र र विद्याको अध्ययन र वादविवादबाट निखारिने हुनाले बुद्धका उपदेशलाई पनि चाँडै बुझ्ने क्षमता राख्दा रहेछन्। साथै, ज्ञानका पिपासु ब्राह्मणहरु बुद्ध समक्ष तत्कालै उपासकत्व वा प्रवज्याको याचना गरिहाल्ने गरेको पनि पाइन्छ।

बुद्धप्रति विद्वेष भाव राख्ने ब्राह्मण पनि उत्तिकै थिए। बुद्ध र बौद्ध भिक्षु–भिक्षुणी तथा उपासक–उपासिकाप्रति अपमान गर्ने तथा असहज बातावरण सिर्जना गर्नेहरु पनि थिए। बुद्ध पुग्ने गाउँमा खाने पानीको समस्या होस भनेर खोलानालामा फोहर पार्ने तथा इनार पुर्ने अभियान नै थाल्नेहरु पनि थिए। बुद्धप्रतिको यो द्वेषभावमा सहमत हुन नसक्ने पनि ब्राह्मण नै हुन्थे। कोशल देशका राजा प्रसेनजित्ले आफ्ना पुरोहितहरु चङ्की ब्राह्मणलाई ओपसाद गाउँ, पौष्करसाती ब्राह्मणलाई उक्कट्ठा नगरको शुभगवन, तोदेय्य ब्राह्मणलाई तुदु गाउँ, लोहिच्च ब्राह्मणलाई सालवति गाउँ दिएजस्तै जानुस्सोणि ब्राह्मणलाई कुनै भूसम्पत्ति प्रदान गरिएको थिएन।

आचार्य डा. भिक्षु अमृतानन्दको अनुमानअनुसार जानुस्सोणि ब्राह्मण स्वयं अस्सी करोड धनसम्पत्तिका मालिक भएका कारण त्यस्तो भएको हुनुपर्छ। वैभवपूर्ण जीवन बिताइरहेका यी लगायत अन्य ब्राह्मण पनि बुद्धको शरणमा आएको पाइन्छ। कतिपय ब्राह्मण आफूले कमाएको यश र प्रतिष्ठाका कारण बुद्धको अभिवादन गर्दा अरुले के भन्ला भन्ने संकोच मान्थे तर मनमा अत्यन्तै श्रद्धा राख्थे र यो कुरा बुद्धसँग व्यक्त गर्थे पनि।

आफ्नो सम्पूर्ण पृष्ठभूमिलाई परित्याग गरी बुद्ध, धर्म र संघमा समर्पित हुने ब्राह्मणहरुले गर्दा पनि यो धर्म बुद्धकै बेलामा दिन दुई गुना र रात चार गुनाका दरले चारैतिर फैलन पुगेको मान्दा अतिशयोक्ती नहोला। बुद्धको महापरिनिर्वाण अन्तिम संस्कारका लागि भिक्षु संघ महाकाश्यम महास्थविरलाई पर्खेर बसेको थियो। भिक्षु संघमा उनी निर्णायक अवस्थामा थिए। र, उनैको नेतृत्वमा प्रथम बौद्ध संगायन सम्पन्न भएको थियो।
बुद्धले आफूपछि कसैलाई पनि धर्माधिकारी घोषणा गरेका थिएनन् र त्यस्तोे व्यवस्था गरेको भए निश्चित रुपमा छानिने भिक्षु महाकाश्यकको पृष्ठभूमि ब्राह्मण नै थियो। त्यसपछिका दिनहरुमा पनि ब्राह्मण जातिको प्रवेश उल्लेखनीय छ। 

प्रेरणा के लिने?

समयले धेरै कोल्टे फेर्दा अहिले अनर्थ हुन पुगेको छ। बौद्ध धर्मदर्शन र ब्राह्मणबीच अहिले एक प्रकारको दूरी पाइन्छ र संशयको दृष्टिले हेरिनुको खास कारण भारतमा बौद्ध धर्मविरुद्ध व्राह्मण वर्गको भूमिका हुनु हो। मुसलमानी आक्रमणका कारण भारतमा बौद्ध धर्म विलय भएको भन्ने स्थापित मान्यता पर्याप्त छैन किनभने उक्त घटनाभन्दा सयौं वर्ष अघिदेखि नै बौद्धधर्म विरुद्ध ब्राह्मण वर्गको अभियान यसका दृष्टान्त हुन्। तर, ईख र द्वेष भाव राख्नु बौद्ध आचरण विपरित हुने भएका कारण इतिहासका ती पन्नाहरुले वर्तमानमा कुनै सरोकार राख्दैन। बौद्ध इतिहासमा ब्राह्मण वर्गको योगदान भुल्न मिल्दैन र ज्ञानको सागरमा सबैको पहुँच हुनुपर्छ जसले सबै लिङ्ग, जाति, वर्ण, भाषाभाषी तथा भूगोलको कुनै पनि कुनामा रहेको प्राणीले धर्मबोध गर्न सकून्।

‘बुद्धकालीन ब्राह्मण’ ग्रन्थमा समेटिएका ६३ ब्राह्मणको चरित्रबाट लिने प्रेरणा यही हो। ग्रन्थको तीन वटै भागमा नसमेटिएका तर प्रतिष्ठित भिक्षुका रुपमा चिनिएका पञ्चभद्रवर्गीय, सारिपुत्र, मौद्गल्यायन, महाकश्यपलगायतका थुप्रै प्रतिष्ठित भिक्षुहरुबाट लिने प्रेरणा त छँदैछ।

साभारः नागरिक दैनिक

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

दरवार आफै चेलिबेटी बेचबिखनमा

कुनै अर्को राज्यमा आफ्नो राज्यका चेलिबेटीहरुलाई उपहारका रुपमा पठाइने कुरा त अन्यत्र मुलुकहरुमा पनि पाइन्छ …

माटो र छालाको पनि पैसा !

एक ताका कौडी, चक्कू, सिप्पी आदिलाई मुद्राको रुपमा पनि प्रयोग गरिन्थ्यो भन्ने मुद्राको प्रारंभिक इतिहास …

Leave a Reply

Your email address will not be published. Required fields are marked *