Friday , April 26 2019

बाैद्ध दर्शनमा शाकाहार र मांशाहारकाे भ्रम

बौद्ध मान्यतामा मांशाहारी भोजन नगर्नु नै त भनिएको छैन तर कुनै पनि भोजनमा आशक्त नहुनलाई भने अवश्यै पनि जोड दिइएको पाइन्छ । मासु खानुपरे ‘त्रिकोटी परिशुद्ध’ मांशको अवधारणा छ । आदिट्ठ (आफ्नो लागि भनी प्राणी मारेको, नदेखेको), असुत (आफ्नै निमित्त भनी मारेको, मारिएको खबर आफूले नसुनेको) र असंकित (आफ्नै निमित्त मारेको हो भन्ने शंका नउठेको) तीन थरी मासु ‘त्रिकोटी परिशुद्ध’ मानिन्छ ।

बसन्त महर्जन

बिना भोजन कुनै प्राणी बाँच्दैनन् । मोटामोटी रुपमा भोजनलाई शाकाहारी र मांसाहारी गरी दुई वर्गमा विभाजन गरिएको पाइन्छ । मान्छेले शाकाहारी भोजन गर्नुपर्छ, यसबाट फाइदा हुन्छ भन्ने मात्र नभएर मान्छेको शारीरिक संरचना मांसाहारी भोजन उपयुक्त छैन भन्ने आग्रह वा अभियान आफ्नै ठाउँमा छ । तर, आफ्नो अभियानलाई बल पु-याउन यसलाई धर्मसँग जोड्नु बेग्लै कुरा हो । काठमाडौंमा केही शाकाहारी अभियन्ताहरु विशेष गरी बुद्ध र बौद्ध धर्मको नाम लिएर स्वयं बौद्धहरुमाथि लान्छना लगाउने वा अन्यलाई प्रभावमा पार्ने गरेको पाइन्छ । तर, उनीहरुका बुझाइ हेर्दा बुद्धका केही नैतिक उपदेशलाई आफ्नै अनुकुल बुझेको र त्यसलाई तोडमतोड गरी प्रस्तुत गरेको स्पष्ट हुन्छ । बुद्धको उपदेशसँग खासै तादात्म्य नराख्ने त्यो बुझाइले एकातर्फ बौद्ध धर्मदर्शनको अपव्याख्या गरिरहेको छ भने अर्कोतर्फ शाकाहारी अभियानलाई जबर्जस्ती बौद्धधर्मसँग जोड्न ल्याइरहेको पाइन्छ । यसबारे स्पष्ट हुनु जरुरी छ ।

फोटो पत्रकार केभिन कार्टरले सुडानको भुखमरीमा खिचेको गिद्ध र बालिकाको फोटो (सन् १९९४ को पुलित्जर पुरस्कार प्राप्त) हृदयविदारक छ । अरु पंक्षीले भए ती बालिकामाथि आक्रमण गरिसक्थ्यो तर गिद्ध पर्खेर बसेको थियो । यही फोटोसँगसम्बन्धित एउटा स्केच सामाजिक संजालमा भेटियो जसमा गिद्धले ती वालिकालाई खानेकुरा कतैबाट ल्याइदिएको दृष्य देखाएको छ । गिद्ध आफैले सिकार गर्दैन तर सिनो खान्छ । यही भएर बौद्ध समाजले गिद्धलाई शुद्ध पंक्षीको रुपमा लिन्छ । स्केच जुनसकै प्रयोजनका लागि तयार पारिएको भएपनि बौद्ध धर्मको शिक्षाका लागि अत्यन्तै उपयोगी देखियो । मांसाहारी वा शाकाहारी भोजनको बहसमा बौद्ध धर्मलाई अनावश्यक रुपमा जोड्न ल्याएको सन्दर्भमा अज्ञात कलाकारको त्यो स्केच जतिको उपयुक्त र जबर्जस्त माध्यम अरु देखिनँ तसर्थ यो लेखसँग उक्त स्केच साभार गरिएको छ ।

सर्वसाधारण बौद्धले पनि दैनिक जीवनमा अनिवार्य रुपमा पालना गर्नु पर्ने पाँच वटा नियम सामान्यतः ‘पञ्चशील’का रुपमा जानिन्छ र यसमा पहिलो शील प्राणी हिंसा नगर्नु रहेको छ । हो, कुनै पनि प्राणीको हिंसा गर्नु हुँदैन । हिंसा शरीर, वचन र मन (काय, वाक र चित्त) बाट हुनसक्छ तर कुनै पनि प्रकारले कसैको पनि हिंसा गर्न नहुने बौद्ध नैतिकता बुद्धद्वारा निर्दिष्ट गरिएको छ । जसले प्राणी हत्या गर्छ, कानूनतः ऊ अपराधी हुन्छ र दण्डको सजाँयभागी हुन्छ । कानूनले निश्चित प्राणीको हत्यामा मात्रै दण्ड दिन्छ भने बौद्धसन्दर्भमा कुनै पनि प्राणीको हिंसा गर्नु अकर्म हो र यसलाई पापको रुपमा लिइएको हुन्छ । बौद्ध मान्यताअनुसार पाप कर्मको फल भोग्नै पर्दछ । भौतिकवादीहरु अर्को लोक वा पुनर्जन्ममा विश्वास गर्दैनन् तर बौद्धहरु त्यस्तो खालको अकर्मको नतिजा मनोवैज्ञानिक रुपमा यही जन्ममा र कर्मसिद्धान्तअनुसार अर्को जन्ममा भएपनि भोग्नु पर्ने हुन्छ ।

कुनै कुनै धर्म सम्प्रदायमा अमूक भगवान वा ईश्वरीय शक्तिको आराधनाबाट पापमुक्त हुनसक्छ भन्ने विश्वास गरिन्छ तर बौद्ध धर्मका सन्दर्भमा यो कर्मसिद्धान्तअनुसार हुन्छ र जसले पाप गर्छ उसले त्यसको नतिजा अनिवार्य रुपमा जस्तोसुकै अवस्थामा पनि भोग्नैपर्छ । गौतम बुद्धका अग्रशिष्यमा एक मौद्गल्यायन नामका एक भिक्षु पनि थिए । श्रावकयानअनुसार ‘श्रावकबुद्ध’को दर्जा पाइसकेका यिनले पूर्वजन्ममा आमाको हत्या गरेका रहेछन् र पञ्चपापअन्तर्गतको त्यो कर्मको फल भोगिसकेको थिएन । यस जन्ममा केही हत्याराहरुबाट आफूमाथि पटकपटक आक्रमणको प्रयास भइरहनुको कारण बुझ्दा आफ्नो कर्मको भोग भनेर थाहा पाएछन् र भोग्नु नै प¥यो । बौद्ध धर्मअनुसार अर्हत्व प्राप्त व्यक्ति ‘श्रावकबुद्ध’ हुन् र यिनीहरुबाट कर्मसंस्कारको सिर्जना त हुँदैन तर पूर्वकर्महरुको भोग त गर्नैपर्छ । पापकर्महरुले प्राणीलाई धर्मबाट विमुख पार्ने हुन्छ । यही भएर प्राणी हिंसा गर्दैनगर्नु बरु कुनै पनि प्राणीलाई केही दिन वा क्षण नै भएपनि मृत्यु हुनबाट बचाएर पुण्य कमाउन बौद्ध धर्मदर्शनले जोड दिएको हुन्छ ।

मांसाहारी नभएर शाकाहारी भोजन नै गर्नु भन्ने कुनै शील वा नियम बौद्ध धर्ममा निर्दिष्ट गरिएको पाइँदैन । यही भएर बौद्धहरु मांसाहारी भोजन गर्नुमा आपत्ती मान्दैनन् । तर प्राणीको हत्या बिना कसरी मासु प्राप्त हुन्छ र ? प्राणी हिंसा नगर्नु भनेकै शाकाहारी हुनु भनेको हो भन्ने तर्क गर्दै शाकाहारी भोजनका अभियन्ताहरु बौद्ध समाजको टिप्पणी गर्छन् र पतीत भएको ठान्छन् । यसबीच यी शाकाहारी अभियन्ताहरु बुद्ध र बौद्ध धर्मका उपदेशहरु आफूले अनुशरण गरेको पनि भन्छन् । तर यसबाट प्रसष्ट मात्रामा भ्रम सिर्जना गर्नुका साथै कतिपयलाई विचलित पनि पार्दछन् । बौद्ध धर्मदर्शनको आधारभूत मान्यता कोही मान्छे शाकाहारी हुनु वा नहुनुमा निहित छैन । शाकाहारी र मांसाहारी भोजनले कोही बौद्ध हुन् वा होइनन् भन्ने कुराको निर्धारण पनि गर्दैन ।

कोही बौद्ध शाकाहारी हुनचाहन्छ भने हुनसक्छन् । यो उनको आफ्नो व्यक्तिगत कुरा हो तर बौद्ध धर्मले शाकाहारी हुनैपर्छ भन्ने आग्रह रहेको पाइँदैन

बुद्धद्वारा निर्दिष्ट जीवनदर्शनमा अष्टांगीक मार्गको ‘सम्येक आजीविका’को प्रावधान यहाँ आकृष्ट गर्न सकिन्छ । सम्येक आजीविकाअनुसार एक बौद्धले कस्तो काम गर्ने वा नगर्ने भन्ने सवालमा अनेक प्रावधानमा पशुपंक्षीको विक्रीवितरण नगर्ने, विक्रीवितरणका लागि लालनपालन पनि नगर्ने, मांशजन्य पदार्थको व्यापार व्यवसाय पनि नगर्ने रहेको छ । यसरी नै प्राणीको मरण हुने विषजन्य पदार्थको पनि कारोवार नगर्ने कुरा स्पष्ट रुपमा उल्लेख छ । पञ्चशीलको पहिलो ‘प्राणीको मारकाट नगर्नू’ र अष्टांगमार्गको सम्येक आजीविकाको ‘प्राणीको व्यापार व्यवसाय पनि नगर्नु’ भन्नुको तात्पर्य एउटै हो ।

बौद्ध मान्यतामा मांशाहारी भोजन नगर्नु नै त भनिएको छैन तर कुनै पनि भोजनमा आशक्त नहुनलाई भने अवश्यै पनि जोड दिइएको पाइन्छ । मासु खानुपरे ‘त्रिकोटी परिशुद्ध’ मांशको अवधारणा छ । आदिट्ठ (आफ्नो लागि भनी प्राणी मारेको, नदेखेको), असुत (आफ्नै निमित्त भनी मारेको, मारिएको खबर आफूले नसुनेको) र असंकित (आफ्नै निमित्त मारेको हो भन्ने शंका नउठेको) तीन थरी मासु ‘त्रिकोटी परिशुद्ध’ मानिन्छ । कोही बौद्ध शाकाहारी हुनचाहन्छ भने हुनसक्छन् । यो उनको आफ्नो व्यक्तिगत कुरा हो तर बौद्ध धर्मले शाकाहारी हुनैपर्छ भन्ने आग्रह रहेको पाइँदैन भन्ने कुरा यसबाट प्रष्ट हुनआउँछ । यो नियम बौद्ध भिक्षु तथा भिक्षुणीहरुमा मात्रै नभएर सर्वसाधारणमा पनि लागू हुन्छ । यही भएर कोही भिक्षुभिक्षुणी वा उपासक उपासिका मांशाहारी हुन्छन् त कोही हुँदैनन् ।

बौद्ध धर्ममा मांशभोजनमा प्रतिबन्ध लगाइएको छैन भन्ने कुरालाई कोही कोही महायानी बौद्ध धर्मको ‘लंकावतारसूत्र’ लाई अगाडि राखी प्रतिवाद गर्दछन् । यसअनुसार मासु खानु हिंसा हो । तर पाली ग्रन्थ आमगन्धसूत्रअनुसार मासु खानु हिंसा होइन । हिंसा कसलाई भन्ने प्रश्नको जवाफ एउटै छैन । जसरी अन्यत्र हिंसाको जवाफ एउटै पाइँदैन त्यस्तै जैन र बौद्ध बीच हिंसा र अहिंसाको परिभाषा नै फरक छ । जैनहरु आफूबाट कोही प्राणीको मृत्यु हुनुलाई नै पनि हिंसा मान्छन् भने बौद्धहरु नियतवश प्राण नलिएको अवस्थामा त्यसलाई हिंसा मान्दैन र त्यसबाट पाप लाग्ने कुरामा पनि सहमती राख्दैनन् । मासु भन्ने कुरा सजीव प्राणीबाट मात्रै प्राप्त हुन्छ तसर्थ यो हिंसाबाट मात्रै प्राप्त हुन्छ भन्नु एक खालको अतिवाद हो । पशु मारेर मात्रै मासु प्राप्त हुँदैन, कालगति वा दुर्घटनाबाट पनि मर्छ । अन्यले मारिसकेको अवस्थामा प्राप्त मासुमा हिंसाभाव हुँदैन । यसलाई यसरी पनि बुझ्न सकिन्छ, बौद्धहरु आफैले प्राणीको वध गर्दैनन् तर प्राप्त मासु पकाएर खान्छन् । कुनै पनि भोज्य पदार्थले सँधै र सबैको हित नै गर्छ भन्ने छैन । भोजनमा मासु कतिपयका लागि हितकारी हुँदैन वा बढी पोषिलो हुनाका कारण स्वास्थ्यका दृष्टिले पूर्णतः त्याज्य नै हुन्छन् र चिकित्सकले अल्पआहारका सुझाव दिएको हुन्छ । बौद्ध धर्ममा आएपछि प्राणी हिंसामा विरक्त हुनसक्न एक प्रकारको आदर्श हो भने धर्म अभ्यासका क्रममा कतिपय कुराहरु त्याग्दै जाने क्रममा भोजनमा मासुजन्य पदार्थहरुलाई कम गर्दै अन्ततः शाकाहारी नै पनि हुने गरेको पनि पाइन्छ । यस्तै कुनै कारण, रुची वा अवस्थाविशेषले मासु खानु हुँदैन भनेको कुरालाई नै परम्पराका रुपमा बुझ्नु समग्रमा बौद्ध धर्मलाई पटक्कै नबुझ्नु र कतिपय सन्दर्भमा बौद्ध समाजभित्र यो परम्पराकै रुपमा विकास भएको पनि पाइन्छ । स्वयं गौतम बुद्धले विभिन्न प्रसङ्गमा मांशाहारी भोजन गरेका वृत्तान्तहरुबाट अझ स्पष्ट हुन्छ ।

साभारः नागरिक दैनिक

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

जति धेरै श्रीमान उति नै शक्तिवान : हिमाली क्षेत्रमा बहुपति प्रथा

घरमा सबैले कमाएर ल्याउने धन एउटै ढुकुटीमा जान्छ र त्यो ढुकुटीको संचालक ती महिला नै …

नेवार महिला कहिल्यै विधवा हुन्नन्

नेवार समाजमा दाम्पत्य जीवनको लागि गरिने विवाहको आफ्नै महत्व हुँदाहुँदै पनि पारपाचुकेको सजिलो बाटो पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *