Sunday , September 22 2019

छोएर पनि देख्न नपाएको समुद्र

समुद्र पुगियो भनेर ड्राइभरले गाडि रोकेपछि म हुत्तिदै गएँ, पसल छेउको सानो पर्खाल नाघेर । म संगसंगै अरु साथी पनि थिए । यसो हेरें, सेतो सेतो छाल बाहेक केही देखिंन्न ।

  • अमिका राजथला

अरेवियन सिले छोएको शहर, कराँची । पाकिस्तान भ्रमण भन्ने वित्तिकै मनमा लागेको थियो, समुद्रि क्षेत्रमा त जान पाइएला कि, समुद्रलाई छुन पाइएला कि ।

पाकिस्तान भ्रमणको पहिलो दिन नै कराँची शहर पुग्यौं तर जिन्हा एयरपोर्ट र एयरपोर्टको ट्रान्जिटसम्म मात्रै । यो ट्रान्जिटलाई प्रयोग गर्दै इस्लामावाद, अबोटावाद, रावलपिण्डी, लाहोर र फेरि इस्लामावाद हुँदै भ्रमणको अन्तिम तथा दशौं दिन फेरि कराँची पुग्यौं ।

कराँची पुग्ने वित्तिकै पाकिस्तान पहिला पनि पुगिसकेका तथा हाम्रो समूहसँगै गएका साथी भोला भट्टराईलाई सोधेको थिएँ– हामी समुन्द्रमा त जान्छौं नि ? उनले भनेका थिए– कराँची एयरपोर्टबाट ५।१० मिनेटको बाटो हो जाऔला नि, के छ र ।

म ढुक्क भएको थिएँ, मनमनै रमाएको थिएँ, यो पटक चाहिं समुद्र देखिने भयो भनेर । यसभन्दा अघि सन् २००० मा ढाका जाने अवसर जुरेको थियो । हाम्रो बसाई थियो, साभारमा, समुद्र देख्नको लागि घण्टौंको यात्रा गर्नुपर्ने अवस्था थियो । हामीसँग त्यतिबेला जाने समय पनि नभएको कारणले त्यति बेलाकै समुद्रलाई प्रत्यक्ष देख्ने, छुने चाहना दविएरै रहेको थियो । एक हप्ताको वंगलादेश भ्रमणमा समुन्द्र देख्ने अवसर नजुरेपछि म निकै निराश भएको थिएँ ।

पाकिस्तान भ्रमणको नवौं दिन राति एयरपोर्टबाट निस्केर पिआइएको होटलमा पुग्दा रातको करीव १० बजेको थियो । त्यहाँ पुग्ने वित्तिकै कोठामा सामान पु-याउन आउने कर्मचारीलाई सोधें– यहाँबाट समुद्र पुग्न कति समय लाग्छ ? कति खर्च लाग्छ ? उनले भने– आधा घण्टा । १५ डलर ।

ओहो मेरो वर्षौको चाहना रहेको ठाउँ पुग्न हामी बसेको ठाउँबाट अब आधा घण्टा मात्र बाँकी । मेरो खुशीको ठेकाना रहेन । संगै कोठामा बसेका कुन्दा दिदीले पनि राति नै भए पनि जाऔं भन्ने प्रस्ताव राख्नुभयो । समुद्री सतहमा त मेला जस्तै हुन्छ, रमाइलो हुन्छ  भन्नु भयो । १०ः३० तिर राति डिनरको लागि डाइनिङ हल जाँदा सबै नेपाली टीमसँग भेट भयो । बेलुकी नै जाने कि त भन्ने सल्लाह भयो । तर मैले नै राति नजाने विचार व्यक्त गरें । कारण थियो, म निलो समुद्री पानीमा छालसँग खेल्दै फोटो खिच्न चाहन्थें । मेरो इच्छा र विचार अनुसार नै भोलिपल्ट विहानै उठेर जाने निर्णय भयो । भोलिपल्ट कराँचिबाट काठमाडौंका लागि फ्लाइट १० बजे विहान भएको कारण हामीलाई ८ बजे नै एयरपोर्ट पुग्न भनिएको थियो । त्यसैले हामीले सकेसम्म चाँडो गएर, समुद्र हेरेर फर्कनुपर्ने वाध्यता थियो । यही कारण हामी छिटो उठेर जाने र छिटै फर्कने निर्णय भयो । सोही अनुसार हामीले ४ बजे उठेर आफ्नो तयारी गर्ने र ५ बजे समुद्र हेर्न निस्कने निर्णय ग-यौं ।

विहान मैले मोबाइलमा अलार्म लगाएको कारण समयमैं उठें । होटेलका कर्मचारीले पनि चार बजे उठाउँछु भनेर गएको थियो । ऊ आएर ढोकामा ढक्ढकायो पनि । ढोका उसले ढक्ढकाएपछि मात्र कुन्दा दी र अन्जु उठिन् । हामी पाकिस्तान गएदेखि छुट्टाछ्ट्टै खाट तथा कोठा गर्दै सुतेका थियौं, तर त्यो दिन अन्तिम दिन हामी संगै एउटै खाटमा सुतेका थियौं । एउटैमा प-यौं ।

हामी निस्कँदा सबै साथीहरू गाडीमा बसिसकेका थिए । हामी करीव करीब निर्धारित समयमैं हामी समुद्र हेर्नका लागि गुड्यौं । फराकिलो अनि सुनसान सडकमा एक तमासले गुडिरहेको गाडिमा हामी छ जनामध्ये तीन जना भने समुद्र पुगिसकेका रहेछन् । त्यसैले करीव करीब नजिक पुगेपछि एक किसिमको गन्ध आएपछि यही हो समुद्रको गन्ध भनेर साथीहरूले भन्न थाले । अचम्म मानेको थिएँ, समुद्रको पनि गन्ध हुन्छ भन्दा । समुद्री किनारको बजारमैं रहेछ, विभिन्न देशका राजदूतावासहरू । ड्राइभरले विभिन्न देशका राजदूतावासहरूलाई अँध्यारो मै भए पनि हामीलाई चिनाउन थाल्यो । हामी पनि चिनिहाले झैं गरी ए, ए भन्दै गयौं । करीव ५ः४५ तिर हामी समुद्र पुग्यौं । समुद्र पुगियो भनेर ड्राइभरले गाडि रोकेपछि म हुत्तिदै गएँ, पसल छेउको सानो पर्खाल नाघेर । म संगसंगै अरु साथी पनि थिए । यसो हेरें, सेतो सेतो छाल बाहेक केही देखिंन्न । धत्तेरीका, समुद्रको निलो पानी हेर्ने कत्रो रहर थियो । पानी नीलो देख्न नपाए पनि छालको पानीमा खेल्ने रहर लाग्यो । केही अगाडि बढें । सानोतिनो छाल थियो, रमाइलै भयो । अझै अगाडि बढें, ठूलै छाल आयो, पछाडि फर्केर भागें । यसरी भाग्ने क्रममा बिर्ख पनि थियो । भागिसकेपछि उसले समुद्रको छाल आउँदा भाग्न नहुने कुरा सम्झायो । र फेरि अगाडि बढ्यौं । समुद्रको छालसँग खेल्न अञ्जु पनि आएकी थिइन् । केही फोटो खिचियो तर फोटोमा समुद्रको नामोनिसान थिएन । कालरात्रीमा खिचिएको फोटो बराबर थियो, त्यो ।

समुद्री छालको गडगडाहट, झण्डै उडाउला कि जस्तो हावामा खेल्न निकै रमाइलो आइरहेको थियो, अरु समुद्रमा आएर पनि पानीमा टेक्न र छुन नचाहने साथीहरूले बोलाउन थाले– यसरी खेल्न थाल्ने हो भने त आज काठमाडौं गइन्न है ।

साथीहरूले बोलाई रहे पनि नसुनेझैं गरी केही बेर बसें, खेलें– कहिं कतैबाट उज्यालो आइहाल्छ कि, उज्यालोमा निलो समुद्र हेर्न पाइएला कि भन्ने झिनो आशा थियो । तर करीव ७ बजे मात्र झिसमिसे उज्यालो हुने पाकिस्तानमा छ बजे नै मैले उज्यालोमा समुद्र देख्न चाहनु भनेको मेरो दिवास्वप्न मात्र थियो । यद्यपि निलो समुद्रसँग फोटो खिच्न नपाए पनि, देख्न नपाए पनि खेल्दाको रमाइलो अनुभव, छालको पानीले छोएर धकेल्दै अन्तै लग्न खोजेको, बगाउन खोजेका अनुभूति त आफैंसँग छ । आफैंलाई मन मनै सम्झाएँ– अब त समुद्र हेर्न नपाए पनि जानै प-यो । समयले साथ दिएछ भने, भविष्यमा हेरौंला । करीव ६ः३० बजे हामी समुद्री किनारबाट हिंड्दा पनि समुद्र नेदखिएपछि मनमा थकथकी भने लागेकै थियो ।

About Amika Rajthala

Check Also

लुम्बिनीमा वैशाख पूर्णिमा

मायादेवीले सिद्धार्थलाई जन्म दिनु अघि नुहाउनु भएको पोखरीका रुपमा चिनिने यस पोखरी वरिपरि दियो बाल्दा …

बन्दिपुर यात्रा

बन्दीपुरको विशेषता यसरी रहेकैले त काठमाडौं उपत्यकाबाट मात्र नभएर यस सुन्दर चिटिक्क परेको बस्ती हेर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *