Friday , April 26 2019
शैलुङ

सैलुङमा घुमघाम

सैलुङको हरियाली र नीलो आकास यत्तिकै राम्रो, त्यसमाथि उत्तरी दिशामा लहरै उभिएका हिमालहरू सगरमाथा, गौरीशंकर, गणेश, अन्नपूर्ण, माछापुच्छे्र सैलुङमा खेल्न आएको अनुभूति दिन्छ

  • बसन्त महजर्न

साना सयवटा डाँडाहरूको समूह एकै ठाउँमा हुनु उल्लेखनीय नहोला तर ती डाँडाहरूको प्राकृतिक सौन्दर्यताले भने यसलाई उल्लेख नगरी नहुने बनाइदिएको छ । प्राकृतिक रूपमा विछट्टै राम्रो, मनमोहक र चित्ताकर्षक यी डाँडाहरूको समूहले एउटै नाम पाएको छ– सैलुङ । सयवटा थुम्काहरू भएकै कारण यसले यो नाम पाएको हो । दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट दक्षिण–पश्चिम र रामेछाप जिल्लाको पश्चिम–उत्तरमा अवस्थित यो सैलुङ एउटा लेक हो र तीन हजार एक सय छयालीस मीटरको उचाइमा रहेको छ ।

पर्यटकलाई ध्यानमा राखेर विकास गरिएको आदिवासी पदमार्ग (इण्डिजिनियस पिपुल्स टै«ल) सैलुङ भएर जान्छ । तामाङ जातिको बाहुल्यता रहेको यो बाहुन, क्षेत्री, नेवार, शेर्पा आदि जातजातिहरूको पनि पुरानो बसोवास क्षेत्र हो । मुख्यतः तामाङ जातिको संस्कार संस्कृति एवं सामाजिक चालचलनको राम्रो अवलोकन तथा अध्ययन गर्न पाउने ठाउँ हो । अन्य जातिय समुदाय पनि कसरी मिलिजुली रहेका छन् भन्ने समाजशास्त्रीय दृष्टिले अध्ययन गर्न लायकको पनि ठाउँ हो । यसै भएर उक्त पदमार्ग भएर हिड्नेहरूका लागि सैलुङ एउटा राम्रो बिसौनी पनि बनेको छ । तर यसलाई पदमार्गको एउटा बिसौनीका रूपमा मात्र लिनु पूरा सैलुङलाई पटक्कै नबुझ्नु हो । यसलाई एउटा छुट्टै गन्तव्यका रूपमा पनि लिन सकिन्छ ।

सैलुङलाई नै गन्तव्य बनाएर फागुनदेखि असोजसम्म पर्यटकहरू आउने गरेको पाइन्छ । अरु बेला यो ठाउँ निकै चिसो र हिउँ जम्ने गर्दछ । काठमाडा, पुरानो बसपार्कबाट यस ठाउँसम्म पुग्न बस लाग्छ । सिन्धुपाल्चोकको मुडे–दोरम्बा हुँदै बनाइएको कच्ची सडकबाट सैलुङ पुगिन्छ । यसरी नै मुडेबाट तीन चार घण्टा लगाएर हिड्न पनि सकिन्छ । यहाँको अग्लो थुम्काबाट राति आकाश छ्याङ्ग खुलेको बेला काठमाडौंको झिलमिली देख्न सकिन्छ भने काठमाडौंकै केहीकेही ठाउँबाट पनि सैलुङको अग्लो थुम्कोलाई देख्न पाइन्छ । यसको अर्थ हो– यो काठमाडौंबाट टाढा छैन ।

सैलुङको हरियाली र नीलो आकास यत्तिकै राम्रो, त्यसमाथि उत्तरी दिशामा लहरै उभिएका हिमालहरू सगरमाथा, गौरीशंकर, गणेश, अन्नपूर्ण, माछापुच्छे्र सैलुङमा खेल्न आएको अनुभूति दिन्छ । यसरी नै दक्षिणमा महाभारतको श्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । शहरी अस्तव्यस्त जीवन र कोलाहलबाट उन्मुक्ति पाउन नेपालमा थुप्रै ठाउँहरू उपयुक्त छन् । यस्तै आनन्दमय ठाउँमध्ये सैलुङ पनि हुनुको प्रमुख आधार यसको प्राकृतिक सौन्दर्य नै हो । मंसिर, पुस र माघ गरी तीन महिना यो क्षेत्र पूरै हिउँले ढाक्ने हुँदा चरिकोट लगायतका ठाउँबाट सेताम्मे देखिन्छ भने सक्नेहरू यसैलाई मौकाको रूपमा लिई घुुम्न आउने गरेका छन् । यस बेला यहाँ विशेष कार्यक्रम नै बनाएर पर्यटनको विकास गर्न नसकिने पनि होइन । यसरी नै यहाँ विभिन्न थरीका लालीगुराँसलगायत वनस्पतिहरू र डाँफेलगायत चराचुरुङ्गीहरू देख्न पाइन्छ ।

सैलुङ एउटा धार्मिक स्थल पनि हो । हिन्दू किम्बदन्तीअनुसार सैलुङका सय वटै थुम्काहरूमा कुनै बेला एक एक जना तपश्वी तपस्या गरेर बसेका थिए । तर कलियुग नजिकिंदै आउँदा तिनीहरू कलियुग नहेर्न भनी आ–आफ्दै थुम्कामा विलिन भएर गएका थिए । सैलुङको दक्षिण ओरालोमा महादेवस्थान रहेको छ । प्रत्येक वर्षको जनै पूर्णिमा र बाला चतुर्दशीका दिन यहाँ ठूलो मेला लाग्दछ । मेला भर्न टाढाटाढाबाट पनि हिन्दू धर्मावलम्बीहरू आइपुग्छन् । तामाङ झाँक्रीहरू पनि आफ्नो ढ्वाङ्ग्रो ठटाएर यहाँ सिद्धि प्राप्त गर्न आउँछन् । यसरी नै तामाङहरू पनि यस मेलामा सहभागी हुन आउने भएका कारण यो मेला के हिन्दू के बौद्ध, दुबै धर्मावलम्बीहरूको साझा स्थल बन्न पुगेको छ । यो क्षेत्र महायानी बौद्धहरुसँग पनि सम्वन्धित रहेको मानिने हुँदा यहाँ बौद्ध वातावरण पनि देख्न पाइन्छ । यस मन्दिर परिसरमा धर्मद्वार पनि रहेको छ, जहाँबाट छिर्न सके धर्म कमाएको र छिर्न नसक्नेले पाप गरेको भनी छुट्याउन पनि केटाकेटी तथा प्रौढहरू कै पनि भीड लाग्ने गर्दछ । सामान्य दिनहरूमा पनि भक्तजन यस मन्दिरमा दर्शनका लागि पुगिरहन्छन् । यसरी नै तामाङ झाँक्रीहरू पनि झाँक्री पहिरनमा समूहसहित ढ्वाङ्ग्रो ठोक्दै यहाँ आएको देख्न पाइन्छ ।

तर सैलुङमा पर्यटकीय पूर्वाधारहरू भने बनिसकेको छैन । वरिपरि गाउँका मान्छेहरूको पायक पर्ने भएका कारण हाल बजारको विकास हुन खोजिरहेको छ । बिजुलीबत्ती छैन । सोही बजारमा पकाउन लगाएर खान सकिन्छ भने अनुरोध गरेर राति बास पाउन पनि सकिन्छ । यसरी नै गाउँमा वासको बन्दोवस्त गरेरै भएपनि रात कटाउनु राम्रो हो किनभने विहानको सूर्योदय यहाँबाट हेर्दा सा¥है राम्रोसँग देखिन्छ । प्राकृतिक, साँस्कृतिक एवं धार्मिक दृष्टिले यो एउटा पर्यटकीय गन्तव्यका रूपमा विकास हुने संभावना रहेको ठाउँ हो र पर्यटकीय पूर्वाधारको अभावमा पनि पर्यटकहरू यहाँ आएको पाइनु सुखद् पक्ष हो ।

About discovery4p

Check Also

लमजुङ्को तातोपानी

तातोपानीमा नुहाइसकेपछि जीउ हलुका हुनेमात्र होइन, भोक पनि लाग्ने हुन्छ । खलखल्ती पसिना निस्कने हुँदा …

नेपालमै छ तिब्बत पनि

पर्यटकीय आकर्षणको केन्द्र रहिआएका नेपालका हिमाली क्षेत्रहरूलाई अझ व्यापक बनाउन तिब्बतको विगतसँग जोड्न सकिन्छ। बसन्त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *