Monday , August 26 2019

सुनकेशरा रानी – कथाको ऐतिहासिकता

रानी सुनकेशरालाई दरवार तिर ल्याउँदै गर्दा बाटोमा नै उनले हठात् आत्महत्या गरिन् । रानीले किन आत्महत्या गरिन् ? भन्ने प्रश्न महत्वपूर्ण छ

– बसन्त महर्जन

कर्णाली भेगका, विशेष गरी जुम्लेलीहरू, जो पुरानो कुराको जानकारी राख्दछन् र कुरा गर्दा सुनकेशरा रानीको कथा हाल्छन् । ‘उहिले उहिलेको’ भन्दै हाल्ने उक्त कथा सुन्दा लोककथा जस्तै लाग्दछ, प्रेम र वियोगको यो कथा सुन्दा, सुनाउने ब्यक्तिपिच्छे अलिअलि फरक पर्ने गरेको पाइन्छ । तर यो लोककथा वा कल्पनामा डुबुल्की लगाएर बनाएको भने हुँदै होइन । यसका पात्रहरू ऐतिहासिक नै हुन् अनि कथा भनिएको उक्त विवरण वास्तविक घटना नै हुन् । जुम्ला राज्यको राजदरवार र सामन्तसँग सम्बन्धित भएका कारण यसलाई इतिहासको एउटा अध्याय नै पनि भन्न सकिन्छ ।

इस्वीको एघारौं शदीमा स्थापना भई चौधौं शताब्दीतिर विघटन भएको विशाल खश साम्राज्य पछि कल्यालराजवंशअन्तर्गत जुम्ला अलग्गै राज्यको रुपमा स्थापना भयो । बाइसी राज्यहरुमा जुम्ला तृलनात्मक रुपमा अलि शक्तिशाली राज्यकै रुपमा थियो पनि । बलिराजबाट सुरुभएको यस राजवंशका आठौं राजा विक्रम शाहीकी रानी हुन्, सुनकेशरा । उनी निकै सुन्दरी थिइन् । रुप लावण्यले भरिपूर्ण थिइन् । राजकाजमा उनीबाट के कस्तो सहयोग प्राप्त हुन्थ्यो त्यो कुरा नखुले पनि राजा उनको रुप सौन्दर्यमा लठ्ठ परेका थिए । राजा जहाँ गए पनि रानीलाई साथमा लान्थे ।
रानी सुनकेशराको रुपयौवनबाट एक अर्का पुरुष पनि मोहित थिए । ती पुरुष थिए, झम्पन । ती अरु कोही नभएर जुम्ला राज्यअन्तर्गतकै एक सामन्त थिए । रानीलाई राजाको हातबाट छुटाएर आफ्नो कसरी बनाउने भन्ने बारेमा उनी सँधै ध्यावन्ना गरिरहन्थे ।

एक पल्ट रानीलाई साथमा लिई राजा शिकार खेल्न उत्तरतिर लागे । जहाँ मुकाम बनाइएको थियो त्यहाँ रानीलाई सुरक्षा सैनिकहरूबाट सुरक्षित पारी राजा सहयोगीहरूका साथ शिकार खेल्न गए । राजा अलि टाढा नै पुगेको मौका पारी धौल्यात्रीका सामन्त झम्पनले एक्कासी मुकाममाथि आक्रमण गरे । रानीको सुरक्षार्थ खटिएका सैनिकहरूले सकेनन् र परास्त भए । रानी सुकेशरालाई लिएर झम्पन गए ।

सामन्त झम्पनलाई यहाँ खल चरित्रको रुपमा प्रस्तुत गरेको पाइन्छ । तर पछिल्ला घटनाहरूलाई ध्यान दिंदा यिनलाई खल चरित्र भनिहाल्नु उचित हुन्न कि जस्तो पनि देखिन्छ । जे होस, साँझ राजा मुकाममा फर्कंदा बदलिएको स्थिति राजाका लागि बज्रपात जस्तै भयो । आफ्नी प्रियसी रानीलाई झम्पनको हातबाट छुटाउन र झम्पनविरुद्ध कारवाही चलाउन राजाले सैनिक आभियान चलाए । तर अभियान खाली हात फर्कनु प¥यो । त्यहीं बसेर अर्को सैनिक अभियान चलाउन गा¥हो हुने भएका कारण राजा राजधानी फर्के र पूरा तयारीका साथ विद्रोही सामन्तविरुद्ध पुनः सैनिक अभियान चलाए र असफल । छिनासिमबाट धौल्यात्रीसम्मका बाटो पाँच छ दिनको हो । पटक पटकको अभियानमा पनि सफल हुन सकेनन् । यसले गर्दा उनी निकै वेचैन पनि भए । यस अभियानमा अरु सबै सामन्तहरू राजाको पक्षमा थिएनन् पनि । कोही सामन्त असहयोगी बने भने कोही उल्टो झम्पनकै पक्षमा उभिए । आफ्नो पक्षमा केही सामन्तहरू थिए नै । आफ्नो पक्षीय सामन्तहरूमा रासकोटको साइमल शाही पनि हुन । कथाको रुपमा सुनाउनेहरूले साइमल शाहीलाई एक स्वतन्त्र राज्यको राजाको रुपमा रहेको देखाउँछन् तर उनी स्वतन्त्र शासक नभएर एक सामन्त नै थिए । प्राप्त अभिलेखमा दुई बीच समान हैसियत देखिंदैन । भनिन्छ, साइमल शाही राजा विक्रम शाहीको मावली खलक थिए ।

झम्पनविरुद्धको अभियानमा यिनै मामा साइमल शाही साथ दिन तयार भए । साइमलले आफ्नो सरदार रणजित रानाको नेतृत्वमा झम्पनविरुद्ध कारवाही गर्न पठाए । यस बेला झम्पनविरुद्ध घमासान युद्ध भयो र झम्पनको हार भयो । झम्पनले त्यहाँ आत्मसमर्पण गरेका त थिए तर दण्ड सजाँय स्वरुप उनको हत्या नै गरिदिए । यस प्रकार सुनकेशरालाई झम्पनको हातबाट खोसी राजा विक्रम शाहीको दरवारतिर ल्याउने काम भयो ।

विवरणअनुसार रानी सुनकेशरालाई दरवार तिर ल्याउँदै गर्दा बाटोमा नै उनले हठात् आत्महत्या गरिन् । रानीले किन आत्महत्या गरिन् ? भन्ने प्रश्न महत्वपूर्ण छ ।

परपुरुषबाट बिटुलिएका कारण यसरी आत्महत्या गरेकी हुन् भन्ने सामान्य र सोझो जवाफ पनि पाइने गरेको छ । यसको अर्को पाटो हो, सुनकेशरासँग झम्पनको पुरानो सम्बन्ध थियो । दुबै एक अर्कालाई मन पराउने प्रेमी प्रेमिका थिए । तर यसै बीच राजा विक्रम शाहीको आँखा प¥यो र झम्पनले केहीगर्न सकेनन् । दुई जोडीको विछोड भयो । आफ्नो प्रियतम्सँग छुट्टिनु पर्दाको पीडा बोकेर झम्पन राजाविरुद्ध तानाबाना बुन्दै शक्ति संचय गरिरहेका थिए । यसै क्रममा मौका पारी आक्रमण गरी रानीलाई राजाको जीवनबाट उठाएर ल्याउन सकेका हुन् । बिटुलिएको भनी आत्महत्या गरेको प्रसंग तर्कसंगत छैन । बिटुलिएकै कारणले आत्महत्या नै गर्नु थियो भने त्यो भन्दा अघि नै भइसक्थ्यो । प्रेमीले अपहरण गरेर लगेपछि हाइसन्चोसँग बसिसकेको तर फेरि फर्केर राजाकै दरवारमा जानु पर्दा हिनताबोध तथा अनिच्छुकता हुनु स्वाभाविक हो । यसरी नै आफ्नो प्रेमीको हत्या भइसकेपछि कुनकेशरामा नैराश्यता आउनु पनि स्वाभाविक नै मान्नु पर्दछ ।

अब प्रश्न आउँछ, यो घटना कहिले भएको ? विक्रम शाहीले विसं. १६५९ दखि १६८८ सम्म राज्य गरेको पाइन्छ । यस अवधिका तीन वटा अभिलेख पाइएका छन् । विसं. १६७७ मा रास्कोटका सामन्त शाइमल शाहीलाई औलमान्म र शिखरमान्म बकस थामिदिएका थिए । झम्पनविरुद्धको कारवाहीमा आफूलाई सहयोग गरेवापत खुशी भएर सामन्तलाई भूमिदान गरेर अनुग्रह गरेको र सुनकेशराको कुरा यही बेला भएको हो कि भन्ने जस्तो पनि बुझिन्छ तर त्यस्तौ हुने छाँटकाट पनि देखिन्न किनभने, झम्पनको हत्या भएपनि रानीको आत्महत्याका कारण राजालाई हात लाग्यो शून्य नै भएको थियो र खुशी हुने कुरा नै भएन । भूमिदानको यो अभिलेख र राज्यपरित्याग बीच एघार वर्षको फरक पर्दछ जब कि रानीको आत्महत्यापछि राजा अझ विरक्त भएर राजकाजतिर त्यत्ति ध्यान नै दिन सकेका थिएनन् ।

राजा विक्रम शाही राज्य छाडेर जगन्नाथको यात्रा गर्न हिडेको विवरण पनि पाइन्छ । यस यात्राका लागि हिड्दा उनी गोरखा बाटो भएर गएका थिए । साथमा राजकुमार बहादुर शाही पनि थिए । गोरखाका राजा रामशाह र यिनी बीच मित्रता थियो । राजकुमारलाई साथमा नलग्न र गद्दीको जिम्मा दिएर जुम्लामा नै राख्न राजा रामशाहले नै सुझाएका थिए । गद्दी खाली राखेर राजा अन्यत्र जाँदा कोही दुष्ट मन्त्रीबाट घात हुनसक्ने भनी यसरी सुझाएका थिए । यसपछि राजा तीर्थयात्रामा हिंडे र राजकुमार आफ्नै राजधानी फर्के ।

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

पालुंगो साग विश्वलाई नेपालको उपहार

शुक्रसागर श्रेष्ठ अंग्रेजीको ‘इन्भेसन’ र ‘डिस्कभरी’ दुवै शब्दको अर्थ नेपालीमा ‘आविष्कार’ ले बोकेको छ । आविष्कार …

दरवार आफै चेलिबेटी बेचबिखनमा

कुनै अर्को राज्यमा आफ्नो राज्यका चेलिबेटीहरुलाई उपहारका रुपमा पठाइने कुरा त अन्यत्र मुलुकहरुमा पनि पाइन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *