घरमा सबैले कमाएर ल्याउने धन एउटै ढुकुटीमा जान्छ र त्यो ढुकुटीको संचालक ती महिला नै हुन्छिन् । श्रीमतिलाई खुशी पार्न श्रीमानहरू लुगाफाटा तथा गरगहना ल्याईदिन्छन् ।
- बसन्त महर्जन
महाभारतमा पञ्चपाण्डव दाजुभाईको एउटै पत्नी द्रौपदीको प्रसंग अघि सारेर ‘बहुपति प्रथा’लाई त्यसैको निरन्तरता भन्नेहरू पनि छन् । त्यो विवाह आकस्मिक थियो र धर्मसंकट टार्न स्वीकार्नु परेको थियो । द्रौपदीको प्रसंगमा बाहेक महाभारतमा बहुपतिको कुरा अन्यत्र भेटिन्न पनि । द्रौपदीसहित पञ्चपाण्डव जीवनको अन्त्यतिर हिमालय क्षेत्रतिर लागेको र तबदेखि हिमाली क्षेत्रमा बहुपति प्रथाको शुरुवात भएको भनी अड्कल पुराण लगाउनु पछाडि भिन्नभिन्नै समाजलाई उनीहरूकै मूल्य मान्यताबाट नभएर आफ्नो समाजको मूल्य मान्यताबाट हेर्ने र व्याख्या गर्ने मनोग्रन्थीबाट पीडित भनी बझ्नुपर्छ । यही ग्रन्थीले बहुपति प्रथालाई हाँसोको विषय बनाईदिंदा सम्बन्धित समाजमा नकारात्मक असर पनि परेको छ ।
वैवाहिक जीवनमा बहुपति प्रथा नेपाल तथा भारतका हिमाली क्षेत्रहरू, तिब्बत तथा पोलिनीसियाका माक्र्यूजन्स तथा मालावारको तोडो समाजमा पनि प्रचलित छ । नमिब बशमैन, बेन्ज्यूलाका यारुरो, एलचाका, लेंगुआ, सिंहली, मुंडा तथा मलाया प्रायद्वीपका प्राचीन कबिलाहरूमा पनि कुनै बेला यो प्रथा प्रचलित थियो । यसअन्तर्गत दुईवटा मान्यता रहेको देखिन्छ– पहिलो, विवाह भएको श्रीमानका भाईहरूलाई पनि पतिकै रुपमा ग्रहण गर्ने र अर्कोे, दाजुभाई भित्र नभई पुरुषहरूको समुह जुन एउटै परिवारका रुपमा बसेका हुन्छन् । यहाँ पहिलो मान्यताका सम्बन्धमा मात्रै चर्चा गरिनेछ ।
प्राचिन ‘लो’ राज्यको राजधानीका रुपमा रहेको लोमन्थाङमा अहिले १८० घरधुरी छ र त्यसमध्ये १० घर बहुपति प्रथाअन्तर्गत चलेको छ । लोमन्थाङ माइत भएकी पेम्बा गुरूङ भन्छिन्– ‘यस्तो चलन पहिला त धेरै थियो तर अहिले हराउँदै जान थालेको छ ।’’ बिहे गरेर उनी लोग्नेको घर छोसेर गाउँ गएकी हुन् । भन्छिन्– ‘‘छोसेरमा ३०–३५ घर होला । त्यहाँ पनि कम हुँदै जान थालेको छ ।’’ छोसेर छरिएर रहेको एउटा ठूलो वस्ती हो । तसर्थ त्यहाँ कति घरधुरी छन् भन्न उनी सममर्थ छिन् । भन्छिन्– ‘‘दाजुभाईहरूको एउटै श्रीमति राख्ने चलन नभएको उपल्लो मुस्ताङमा कुनै पनि गाउँ छैन होला ।’’
यस प्रथाअन्तर्गत जेठो दाजुको जो महिलासँग विवाह हुने हो ती महिला उसका भाईहरूको स्वतः श्रीमती हुने गर्दछ । परिवार संचालन कसरी गर्ने, कुन समय कुन श्रीमानलाई कहाँ पठाउने र घरमा कसलाई राख्ने भन्ने कुराको व्यवस्थापन पनि उही महिला गर्दछिन् । घरमा एउटै मात्र श्रीमान बस्ने गर्दछन् । घरमा सबैले कमाएर ल्याउने धन एउटै ढुकुटीमा जान्छ र त्यो ढुकुटीको संचालक ती महिला नै हुन्छिन् । श्रीमतिलाई खुशी पार्न श्रीमानहरू लुगाफाटा तथा गरगहना ल्याईदिन्छन् । हुम्ला, जुम्ला, डोल्पाजस्ता हिमाली क्षेत्रहरूमा त विशेषतः बहुपति प्रथा भएको समाजमा गरगहना बढी भएकी महिलालाई धेरै श्रीमानहरू र कमाउन सक्नेहरु भनी अनुमान गरिसक्छन् र ती महिलालाई भाग्यमानीका रुपमा लिन्छन् । जसको जति धेरै लोग्ने ऊ उति नै धनी होइन त ? पेम्बा गुरूङ हाँस्दछिन् र भन्छिन्– ‘‘उसको छोराछोरी पनि त धेरै नै हुन्छन् नि होइन ? पढाउन र हुर्काउनमा खर्च भई हाल्छ नि ।’’
कुन सन्तान कसबाट जन्मिएको भनी छुट्याउने काम पनि श्रीमतिकै हो । श्रीमतिले छुट्याईदिएको छोराछोरी श्रीमानले स्वीकार्ने गर्दछन् । ‘सहवास नै भएको छैन, उसले छुट्याई दिएको सन्तानलाई म किन अपनाउँ ?’ भनी अदालतमा मुद्दा उठाएको पनि पाइन्छ । यस्ता घरायसी मुद्दाहरु सकभर गाउँ समाजमा नै मिलाउने प्रयास गरिन्छ । अन्य मुद्दाहरु पनि सकभर गाउँघरबाट बाहिर नजाओस् भनी गाउँघरमा नै मिलाउने गर्नाले जिल्ला अदालतहरुमा यस्ता मुद्दा दर्ता कमै मात्र हुन पुग्छन् । उमेरमा अन्तर हुँदा कान्छो भाई विवाह गर्न नमानेर भाग्ने गरेको पनि पाइन्छ । यसरी भागेर जानेहरू पैतृक सम्पत्तिबाट बेदखल हुन्छन् । कुनै भाइले अर्कै महिलालाई विवाह गरेर ल्यायो भने पहिलो श्रीमतिले चित्त दुखाउँने हुन्छ । सामाजिक मान्यताअनुसार यसरी अर्को विवाह गर्ने भाईलाई पनि पैतृक सम्पत्ति दिनु पर्दैन ।
यी हिमाली क्षेत्रहरूमा खेती योग्य जमीन कम मात्र भएको र छुट्टाछुट्टै विवाह गर्दा अंशवण्डाका कारण जग्गा जमिन टुक्रिन नजाओस् भनेर पनि यस्तो प्रथा चलेको पनि हुनसक्छ । तर समाज व्यवस्थापनमा नयाँ नयाँ मान्यताहरू पनि विकास हुँदै आईरहेको मुस्ताङमा देख्न पाइन्छ । दाजुभाईहरू पहिले नै निर्णय गर्छन– संगै बस्ने कि छुट्टिने ? छुट्टिने हो भने सोही अनुसार अंशवण्डा हुन्छ । जो जो संगै बस्ने हो, बस्छन् । पूरै रुपमा छुट्टिने हो भने पनि छुट्टिन सक्छन् र पहिलो श्रीमति कोसँग बस्ने भन्ने निर्णय पनि हुन्छ । उमेरमा धेरै फरक रहेछ भने उसले पनि अर्कैसँग विवाह गर्छ र अंशवण्डा पनि पाउँछ ।
अन्यत्रजस्तै मुस्ताङमा पनि बहुपति प्रथा घट्दो रुपमा छ । वाह्य समाजसँगको बढ्दो सम्पर्क र बाह्य प्रभावका कारण यस्तो भएको बुझिन्छ । यिनीहरूमध्ये कतिपयले त बहुपति प्रथालाई लुकाउन पनि खोज्छन्, आजभोलि । यस सम्बन्धमा बोल्दैनन् । बोलिहाले पनि ‘अन्त यो होलान्, हाम्रोमा त छैन’ भन्छन् । वाह्य मानिसहरूका अगाडि आफूहरू हाँसोको पात्र नबनुँ भन्ने मनसायले यसरी लुकाएका हुन् । यस प्रथाको आफ्नै मूल्य मान्यताहरू छन् र कतिपय कमजोरी पनि होलान् । राम्रा राम्रा मूल्य मान्यताहरूलाई बुझ्ने र कमजोरीका कुरामाथि छलफल गरी सुधार गर्न नसक्दा सभ्यताका कतिपय कुराहरू लोप भएर जाने गर्दछन् । हिमाली क्षेत्रको बहुपति प्रथा पनि यही चपेटामा परेको हो । बाह्य समाजले पनि आफ्नो बाहेक अरूको मूल्य मान्यतालाई हीन भावले हेर्ने तथा सभ्यताको मापदण्ड आफ्नो समाजलाई ठान्दा अरू समाजमा नकारात्मक असर पर्न जाने हुन्छ ।
लोमन्थाङका किशोरी टासी गुरुङलाई पनि बहुपति प्रथा मन पर्दैन । उनको परिवारमा कसैको पनि त्यस प्रथामा विवाह भएको छैन । उनको पनि योजना छैन । तर आफ्नो समाजमा प्रचलित बहुपति प्रथालाई हाँसोको विषय बनाउनेहरुप्रति लक्षित गर्दै भन्छिन्– ‘‘बाहिरकाहरू जेठी, माहिली, साहिँली, कान्छी भनेर विवाह गर्छन्, र त्यो हामीलाई त्यत्तिकै अचम्मको कुरा हुन्छ । छोराछोरी पाएन भनेपनि अर्को विवाह गर्छन् । तर हाम्रोमा यस्तो चल्दैन, छोराछोरी भएपनि नभएपनि अर्को विवाह गरिँदैन । आ–आफ्नै चलन हो, हाँस्ने नै हो भने हामीलाई पनि तिनीहरुका कुरा देखेर हाँसो उठ्छ ।’’
(नोट: प्रयुक्त तस्वीरहरु लो-मन्थाङकै महिलाहरु भएपनि लेखसँग सम्वन्धित हुनै पर्छ भन्ने छैन)
Bahu patni bhanda ta mahila gharmuli hune bahupati pratha nai raamro.