Tuesday , November 12 2019

ससुरालीमा ज्वाइँ : कुन समुदायमा के भूमिका ?

समुदाय हेरेर ज्वाइँको स्थान फरक फरक हुन्छ, जसलाई सामाजिक विविधता भनेर चिनाउन पनि सकिन्छ । यी विविधतामा पनि रोचकता हुनु नेपाली समाजको विशेषता पनि हो

  • बसन्त महर्जन

हिन्दू धर्ममा भगवान विष्णुलाई जुन स्थान प्राप्त छ त्यही स्थान नेपाली हिन्दू समाजमा आफ्नो ज्वाइँलाई पनि दिइएको हुन्छ, । ज्वाइँलाई ‘ज्वाइँनारायण’ बाट सम्बोधन गरी उसलाई ससुराले ढोग्नेसम्म पनि गरिन्छ । कुनै घरको छोराले विवाहपछि ससुरालीमा विष्णुलाई जस्तै सम्मान पाएपछि त्यसैबाट थाहा हुन्छ, ससुरालीमा ज्वाइँको स्थान कस्तो हुन्छ । तर त्यही समाजका छिमेकी जातीय समुदायहरूमा भने यस्तो स्थान पाइन्न । ज्वाइँलाई मानसम्मान त गरिन्छ तर ब्राम्हण क्षेत्री घरमा जस्तो ‘ज्वाइँ नारायण’को स्थान हुन्न । समुदाय हेरेर ज्वाइँको स्थान फरक फरक हुन्छ, जसलाई सामाजिक विविधता भनेर चिनाउन पनि सकिन्छ । यी विविधतामा पनि रोचकता हुनु नेपाली समाजको विशेषता पनि हो ।

काठमाडौं उपत्यकामा बाक्लो उपस्थिति भई नेपालका अन्य क्षेत्रहरूमा पनि फैलिएको नेवार समुदायको आफ्नै विशिष्ट पहिचान रहेको छ । रीतिरिवाज तथा कला र संस्कृतिको छुट्टै पहिचान बनाएको नेवार समुदाय धार्मिक रुपमा हिन्दू र बौद्धका रुपमा मात्रै विभक्त छैन, धेरै जसोमा हिन्दू र बौद्ध दुवैको मिश्रण पनि पाइन्छ । बौद्ध होउन् वा हिन्दू, यिनको समुदायमा अन्य धार्मिक प्रवृत्तिभन्दा बेग्लै मूल्यमान्यताहरू पनि रहेको हुन्छ जसलाई जातीय विशिष्टताको रुपमा लिन सकिन्छ । हिन्दू वा बौद्ध जुनसुकै भएपनि यस समुदायमा ससुरालीमा ज्वाइँको सम्मानजनक स्थान नै रहेको पाइन्छ । हिन्दू संस्कारबाट प्रभावित घर छ भने ब्राम्हण–क्षेत्रीको घरमा जस्तै ‘ज्वाइँ नारायण’ को स्थान दिने प्रयत्न पनि गरिन्छ । तर त्यसो भनेर ज्वाइँलाई ढोग्ने नै सम्मको काम भने प्रायः गरिन्न । ज्वाइँलाई सम्मानपूर्वक सम्बोधनमा प्रयोग गर्ने शब्द ‘भाजु’ हो, जुन शब्द सम्मानार्थ अन्य विशिष्टहरुलाई प्रयुक्त हुन्छ । औपचारिक रुपमा सम्मान व्यक्त गर्न नामको अगाडि ‘श्रीमान’ शब्द जस्तै । तर नेवार ससुरालीमा ज्वाइँको निर्दिष्ट कर्तव्यहरू रहेको हुन्छ । थुप्रे समुदायहरुको संयुक्त नाम नेवार भएका हुँदा नेवारहरुबीचमा पनि विविधता रहेको पाइन्छ ।

नेवार समुदायमा ससुरालीमा हुने महत्वपूर्ण कामको जिम्मा धेरैजसो ज्वाईलाई हुन्छ । ससुराली खेतमा रोपाइँको खेत खन्न जानु पर्ने जिम्मेवारी पनि हुन्छ । खेत खन्न जाने मात्रै होइन, अन्य खेतालाहरूलाई सुपारी र अन्य खानेकुरा पनि लिएर जानु पर्दछ । खेतमा काम गर्न नसक्ने ज्वाइँ परेछ भने पनि सुपारी मात्रै भएपनि लिएर जाने र खेतालाहरूलाई खुवाई खुसी पार्नु पर्ने जिम्मेवारी ज्वाइँमाथि हुन्छ । यसरी नै भोजभतेर वा पूजा तथा घरायसी काममा ज्वाइँसँग सरसल्लाह माग्ने मात्रै नभएर त्यस काममा निश्चित कामको जिम्मा नै पनि दिइने हुन्छ । ससुरालीमा सासु ससुराको मृत्यु हुँदा शब बोक्ने जिम्मेवारी कसैकसैमा सर्वप्रथमतः ज्वाइँमाथि नै हुन्छ । ज्वाइँ असमर्थ भएमा वा नपुग भएको अवस्थामा अन्यले सो काम काम गर्दछन् ।

ममाचेली फुफू चेली बीच विवाह परम्परा भएको जातीय समुदायमा भने ज्वाईँको स्थान साधारण देखिन्छ । नेपालमा यस्तो विवाह परम्परा खास गरेर मगर, गुरुङ, थकाली, तामाङमा प्रचलित रहेको छ । ज्वाईँका लागि भनेर खासै अलग्ग स्थान पाइन्न । यी समुदायहरूमा जो ज्वाईँ हुने हो वास्तवमा भान्जा नै हुन् । मामाघरमा भान्जालाई पहिलैदेखि जुन स्थान थियो ज्वाईँलाई प्रायशः त्यही स्थान हुने गर्द्रछ । नाताले ज्वाइँ हुन पुगेपनि उसलाई भान्जा भनेरै सम्बोधन गरिन्छ । तर भान्जाबाबु जब ज्वाइँमा परिवर्तन हुन्छ, उसको उत्तरदायित्व भने थपिन पुग्छ ।

भान्जा र ज्वाइँ एकै व्यक्ति होस् वा नहोस् थकाली समुदायमा भने ज्वाइँले ससुरालीमा जिम्मेवारी निभाउनु पर्ने सम्पूर्ण सामाजिक मान्यता तदारुकताका साथ सम्पन्न गरियोस् भन्ने हुन्छ । मर्दापर्दा, काजक्रिया तथा चोख्याउँदा पुरोहितको सहायक भई ती कामहरू ज्वाइँले नै गर्नु पर्दछ । यसरी नै विवाह तथा अन्य उत्सवमा आमन्त्रण गर्ने, भेलागर्ने कामहरूको संयोजन पनि ज्वाइँले नै गर्नु पर्दछ । तर यसो भनेर ससुरालीमा ज्वाइँलाई काममा मात्रै लगाउने भने होइन, यो त घरको सदस्य भएपछि निर्वाह गर्नु पर्ने पारिवारिक दायित्व मात्रै हो, मान भनेर मान सम्मान पनि उत्तिकै प्राप्त हुन्छ ।

आजभोलि मगरहरूमा पूजाआजाका लागि ब्राम्हण राख्ने चलन आएको छ तर यसअघि त्यो काम ज्वाइँबाटै सम्पन्न हुन्थ्यो । आफ्नो परम्परा आफैले थाम्ने जागरणसँग अहिले विभिन्न जातीय संघसंस्थाहरूले सो काम ज्वाइँलाई नै दिनु पर्ने सन्देश दिन थालेको पाइन्छ । मगर ज्वाइँहरु ससुराली भान्जाको हैसियत माया मात्रै पाउँदैनन्, ज्वाइँको नाताले परिवारकै सदस्यका रुपमा विभिन्न सामाजिक रीतिरिवाज पनि पूरा गर्नु पर्दछ ।

जिरेल समाजमा विवाहपछि ज्वाइँलाई अनिवार्य रुपमा घरज्वाइँ बस्नु पर्ने प्रचलन हाल हराउँदै जान थालेको छ । पुरानो परम्परा कायमै रहेको घरमा ज्वाइँले केही वर्ष ससुरालीमा बसेर आइपर्ने हरेक काम गरी सबैलाई खुशी पारिसकेपछि मात्रै आफ्नो घरमा फर्कन वा स्वतन्त्र रुपमा घर बसाल्न पाउँछ । घरज्वाइँको भूमिका निर्वाह गर्ने समय सकाएर आफ्नै काममा लाग्दा पनि उ स्वतन्त्र नै हुन्न, ससुरालीमा समयसमयमा आइपर्ने समस्यासँग जुध्ने, काम गरेर सघाउने जिम्मेवारी त रहन्छ नै ।

परम्परागत शेर्पा समाजमा ज्वाइँ हुन सजिलो छैन । विवाह हुन्ुअघि नै ज्वाइँ बन्ने केटो केटीको घरमा बस्न जानु पर्दछ । हुनेवाला ज्वाइँले काम गर्न र छोरी पाल्न सक्छ कि सक्दैन हेर्नका लागि यसरी विवाहअघि नै ससुरालीमा काम गराएर हेर्ने बताइन्छ । ससुरालीमा यसरी काम गर्न बस्ने क्रममा केटीसँग सँगै बस्न दिइन्छ र उनीहरुको सम्बन्ध लोग्नेस्वास्नीकै हुन्छ तर त्यसलाई विवाह भइसकेको मानिन्न बरु छोराछोरी भइसकेपछि विधिपूर्वक विवाहको रीति पु¥याउने गरिन्छ । शेर्पा समाजमा पनि ससुरालीमा ज्वाइँको स्थान ‘ज्वाइँ नारायण‘को हुन्न बरु घरायसी काममा हात बढाउने र परिवारको सदस्य सरह हुन्छ ।
(एउटै समुदायमा पनि ठाउँ र समय हेरी रीतिरिवाज केही वा धेरै फरक पर्न सक्ने कुरा हेक्का राख्नु पर्ने हुन्छ)

About Basanta Maharjan

Basanta Maharjan, author and researcher, has expertised in Nepalese history, culture, archaeology and Buddhist study. Seven of books and number of articles on Buddhist Study have been authorised by him. He has mastered in Buddhist study and is a gold medalist from Tribhuvan University. As well as, he has mastered in Nepalese history, culture and archaeology also from same university. Currently he has been involved in research work and lectures on own subject. mail : maharjan_basanta@yahoo.com

Check Also

जति धेरै श्रीमान उति नै शक्तिवान : हिमाली क्षेत्रमा बहुपति प्रथा

घरमा सबैले कमाएर ल्याउने धन एउटै ढुकुटीमा जान्छ र त्यो ढुकुटीको संचालक ती महिला नै …

नेवार महिला कहिल्यै विधवा हुन्नन्

नेवार समाजमा दाम्पत्य जीवनको लागि गरिने विवाहको आफ्नै महत्व हुँदाहुँदै पनि पारपाचुकेको सजिलो बाटो पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *