Monday , May 20 2019

शिवलिङ्ग होइन अशोक स्तम्भ

प्राज्ञिक अनुसन्धान, छलफल र प्रकाशनहरू जनमानससम्म नपुगेको एउटा ज्वलन्त उदाहरण हो– मौर्य सम्राट अशोकले क्रकुच्छन्द बुद्धको जन्मस्थलमा ठड्याएको पाषाण स्तम्भलाई आज स्थानीय जनताले शिवलिङ्गको रूपमा पुज्नु।

  • बसन्त महर्जन

कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा बजारबाट चार किलोमिटर दक्षिणमा पर्ने गोटिहवा गाउँको अशोक स्तम्भलाई स्थानीयवासीले शिवलिङ्ग ठानेर पुजिरहेका छन्।

इसापूर्व तेस्रो शताब्दीमा बुद्धस्थलहरूको भ्रमणमा निस्केका मौर्य सम्राट अशोकले राख्न लगाएका पाषाण स्तम्भहरूमध्येकै एउटा हो, गोटिहवाको अशोक स्तम्भ। सन् १८९५ मा कपिलवस्तुकै निग्लिहवा गाउँमा ढलेको अवस्थामा अभिलेखसहितको अर्को अशोक स्तम्भ भेटिएपछि प्राचीन कपिलवस्तु र गौतम बुद्धसँग सम्बन्धित लुम्बिनीलगायतका स्थलहरूको खोजी गर्न सजिलो भएको थियो। त्यही क्रममा गोटिहवाको अशोक स्तम्भ पनि भेटिएको हो।

गौतम बुद्धभन्दा अघिका बुद्धमध्ये कनकमुनि निग्लिहवामा र क्रकुच्छन्द गोटिहवामा जन्मिएका थिए। गोटिहवाको अशोक स्तम्भमा लुम्बिनी र निग्लिहवाको जस्तो कुनै अभिलेख भेटिएको छैन। सम्राट अशोक इ.पू. २४९ मा गोटिहवा पुगेर अन्य बौद्ध स्थलहरूमा झैं पाषण स्तम्भ खडा गराएका थिए। इसाको चौथो शताब्दीमा आएका चिनियाँ यात्री फाहियान र सातौं शताब्दीमा आएका ह्वेनसाङले गोटिहवाको भ्रमण गरेर लेखेको वर्णनमा यो ठाउँलाई क्रकुच्छन्द बुद्धको जन्मस्थल भनिएको छ।

बौद्ध ग्रन्थहरूमा क्रकुच्छन्द बुद्धको जन्मस्थललाई क्षमावतीनगर भनिएको पाइन्छ। गोटिहवा स्तम्भ छेवैमा एउटा स्तूपको भग्नावशेष पनि पाइएको छ। फाहियानको वर्णनमा क्रकुच्छन्द बुद्धको निर्वाणस्थललाई इङ्गित गरिएको स्तूप संभवतः यही हुनुपर्छ। यस वरिपरि भेटिएका अन्य पुरातात्विक अवशेषहरू पनि महत्वपूर्ण छन्, तर यहाँ अभिलेखयुक्त कुनै सामग्री नपाइनु चाहिं उदेककै विषय भएको छ। लुम्बिनी र निग्लिहवाको स्तम्भको जुन उँचाइमा अशोकको अभिलेख छ, गोटिहवाको स्तम्भको पनि उही उँचाइमा अभिलेख कुँदिएको अड्कल गर्न सकिन्छ, तर जमीनभन्दा माथिको पूरै भाग भाँचिएर लुप्त अवस्थामा रहेको हुँदा यसै भन्न सकिन्न।

प्राज्ञिक अनुसन्धान, छलफल र प्रकाशनहरू जनमानससम्म नपुगेको एउटा ज्वलन्त उदाहरण हो– मौर्य सम्राट अशोकले क्रकुच्छन्द बुद्धको जन्मस्थलमा ठड्याएको पाषाण स्तम्भलाई आज स्थानीय जनताले शिवलिङ्गको रूपमा पुज्नु। जबकि, यो स्तम्भलाई उत्खनन् गरेर बाहिर निकालेको सय वर्ष पनि भएको छैन। २०५३ सालको वैशाख पूर्णिमामा यो पंक्तिकार गोटिहवा पुग्दा स्थानीय जनताले अशोक स्तम्भलाई ‘फुटेश्वर महादेव’ भनेर चिनाएका थिए। यो नाम चल्तीमा नरहे पनि स्थानीयले शिवलिङ्ग भनेर पुज्दै आएका छन्। यो आलेख सँगैको तस्वीर २०६१ सालको शिवरात्रिमा शिवलिङ्गकै रूपमा पूजा गर्दै गरेको अवस्थाको हो।

लुम्बिनी क्षेत्रका बौद्ध स्थलहरूको एकीकृत विकासका लागि स्थापित लुम्बिनी विकास कोषको प्राथमिकता गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाहेक अन्यत्र नपुगेको भन्ने आरोप वा गुनासो गोटिहवाको सन्दर्भमा पनि सही छ। गोटिहवाका स्थानीयलाई सही जानकारी दिनु र उनीहरूलाई स्तम्भ संरक्षणमा सहभागी गराउनु कोषको दायित्व हो। यस पुरातात्विक स्थलमा तारबार त लगाइएको छ, तर त्यसले गाईवस्तुलाई समेत छेक्न सकेको छैन। स्तम्भ हेरचाहका लागि एक जनाको दरबन्दी रहेको बुझियो, तर उनी को हुन् र के गरिरहेका छन्, देखिएन।

लामै परम्परा भइसकेकोले हुनसक्छ, शिवलिङ्गको पूजा गर्न पाउनुपर्ने मनसाय स्थानीय जनतामा रहेको बुझियो, तर यो शिवलिङ्ग नभई अशोक स्तम्भ भएको वास्तविकता बुझाउन नसक्नु लुम्बिनी विकास कोषको कमजोरी हो।

नेपालभित्रका बौद्धस्थलहरूलाई समाहित गरी ‘बुद्ध परिपथ’ बनाएर पर्यटन उद्योगको विकास गर्ने सोच सरकारले राखेकै छ। संसारभरका बौद्धहरू जुनसुकै सम्प्रदायका भए पनि लुम्बिनीमा जन्मेका गौतम बुद्धभन्दा अघि पनि बुद्धहरू थिए र भविष्यमा पनि हुन्छन् भन्ने विश्वास गर्छन्। यस हिसाबले कनकमुनि र क्रकुच्छन्द जस्ता अतीत बुद्ध (गौतम बुद्धभन्दा अघि बुद्धत्व प्राप्त गरेका) हरू पनि लुम्बिनीकै छेउछाउमा हुनु नेपालको पर्यटन उद्योगका लागि सोह्रमा सत्र हो। ती स्थलहरूको संरक्षण तथा विकासमा उपेक्षित हुनु र बौद्ध वातावरण कायम गर्नमा उदासीन देखाइरहनुले सरकारले के बुझेर ‘बुद्ध परिपथ’ को सोच बनाएको भन्ने प्रश्न पनि निरन्तर उठिरहेकै छ।

About discovery4p

Check Also

बुद्घबारे अपव्याख्या

आफ्नो स्वार्थपूर्ति र व्यावसायिक प्रयोजनमा गौतम बुद्घको नाम जथाभावी प्रयोग गर्ने प्रवृत्तिा चिन्ताको विषय बनेको …

लुम्बिनीमा बोटिङ, बाँदरको हातमा नरिवल

लुम्बिनी विकास कोषले विहार क्षेत्रस्थित नहरलाई हालै प्रयोगमा ल्याएको छ । नहरमा हुइँकिएर दौडने डुंगा …

One comment

  1. dharmadhammananda

    kanakmuni kakuchxanda Buddhaka kathaharu punarjanma ka hindu upanisad ka jhutha kura haru lai satya dekhauna Buddhako nam ma jodiyeka hunu parxa.Asok kalin kapilbastu ka khamba haruma pachxi tripitak ma 40% gabhiyeko samaya sangai paxi matrai khambama koriyeko huna sakxa,tyasaile Buddhako nam ma hami kasaile anubhab garna nasakiyeko jhutha punarjanmaka katha harule garda yehi janmamai hami pani Buddha bhayera nibbana gati ma pugna bata hamilai almalayera rakhiyeko xa….bhawatu sabba mangalam.

Leave a Reply

Your email address will not be published. Required fields are marked *